coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्याटेलाइट टेलिकमको बजार हिस्सा १ प्रतिशत

काठमाडौं – वैदेशिक लगानीका रूपमा ल्याएको रकम नरोक्न सर्वोच्चको आदेशपछि चर्चामा आएको नेपाल स्याटेलाइट टेलिकम प्रालिको बजार हिस्सा एक प्रतिशत रहेको छ । यस टेलिकममा व्यवसायी अजयराज सुमार्गीको १५ प्रतिशत शेयर रहेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मुलुकमा सञ्चालनमा रहेका ६ दूरसञ्चार सेवा प्रदायकमध्ये स्याटेलाइटको अवस्था तल्लो स्तरमा छ ।  

विदेशबाट ल्याएको लगानी प्रयोग गर्न नपाउँदा कम्पनी धराशयी हुनसक्ने भन्दै खातामा रहेको रकम सञ्चालनका स्याटेलाइट प्रालिका तर्फबाट अन्तरिम आदेश दिन रिट दायर भएपछि सर्वोच्चले मंगलबार उक्त कम्पनीको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्राधिकरणको वार्षिक प्रतिवेदन २०७२÷७३ को तथ्यांक अनुसार २०६२ जेठ १७ गते स्थापना भएको स्याटेलाइट टेलिकमका ग्राहक संख्या ३ लाख ७१ हजार ६ सय ६८ छन् । यस टेलिकमका फिक्स लाइनका ग्राहक २ हजार ९ सय ८४ छन् ।उक्त कम्पनीमा सुमार्गीको मुक्ती श्री टेलिकम प्रालिको लगानी १५ प्रतिशत रहेको छ । यस कम्पनीको मुख्य लगानीकर्ताको रूपमा साइप्रसमा रहेको एयरबेल सर्भिसेस हो, जसको सेयर ७५ प्रतिशत रहेको छ । त्यसैगरी, सम्झना अर्यालको ५ प्रतिशत, सेवा टेलिकम (ओरास्कम) बंगलादेशको २ प्रतिशत र पाकिस्तान मोबाइल कम्युनिकेसनको ३ प्रतिशत शेयर रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

कम्पनीले आर्थिक वर्ष २०७२-७३ मा १३ करोड रूपैयाँ आम्दानी गरेको छ । प्राधिकरणका अनुसार कम्पनीले नेटवर्क विस्तार र सवलीकरणका लागि १ अर्ब ८५ करोड लगानी गरेको छ भने नेटवर्क सञ्चालनका लागि ११ करोड लगानी गरेको छ ।कम्पनीले २०४ वटा बिटिएस टावर राखी सेवा सञ्चालन गरेको छ । यस कम्पनीले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा मोबाइल, आधारभूत दूरसञ्चार सेवा र इन्टरनेट सेवा सञ्चालनको अनुमतिपत्र लिएर सेवा सञ्चालन गरिरहेको प्राधिकरणले तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांक अनुसार कम्पनीले नेपाल सरकारलाई उक्त आर्थिक वर्षमा ३३ करोड ५९ लाख ९० हजार रूपैयाँ राजस्व बुझाएको छ । यसले अग्रिम करकट्टी, भन्सार शुल्क, रोयल्टी, फ्रिक्वेन्सी शुल्क, टिडिएस र सम्पत्ति तथा सवारी साधन करबापत २२ करोड ८० लाख ५० हजार र मूल्य अभिवृद्धि कर, दूरसञ्चार सेवा शुल्क, स्वामित्व शुल्क गरी १० करोड ७९ लाख ४० हजार राजस्व तिरेको छ । कम्पनीले दूरसञ्चार विकास कोषबापत २४ लाख ७० हजार रूपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
यस कम्पनीले स्याटेलाइट व्यान्डविथ ५.७१ अपलिंक र ५.७१ डाउनलिंक व्यान्डविथ प्रयोग गरी सेवा सञ्चालन गरिरहेको छ ।

राष्ट्र बैंकले व्यवसायी सुमार्गीले स्याटेलाइटका नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । सर्वोच्चको मंगलबारको अन्तरिम आदेशपछि उनले उक्त रकम निकाल्न पाउनेछन् ।  उद्योग विभागले सुमार्गीले विदेशबाट ल्याएको रकमको स्रोत नखुलेकोे भन्दै २०६९ चैत २८ मा रोक्का गर्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो । सोही पत्रअनुसार राष्ट्र बैंकले रकम रोकेको थियो ।

 

प्रकाशित: २६ माघ २०७४ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App