भक्तपुर जगातीस्थित पूर्वसभासद् लीला न्याइच्वाईको घरसँगै जोडिएको छ, जाकिबञ्जार थर भएका एक परिवारको घर । जाकिबञ्जारको घरसँगै जोडिएको छ, बाला थर भएका परिवारको घर, अनि बालाको सँगै जोडिएको छ, खाइतू थरका परिवारको घर।
खाइतूको सँगै मधिकर्मी परिवारको घर जोडिएको छ, मधिकर्मीको सँगै साखकर्मीको र साखकर्मीको घरसँगै जोडिएको छ, जोशी थर भएको परिवारको घर।
जगाती त उदाहरण मात्र हो, भक्तपुरमा यस्ता धेरै टोल छन्, जहाँ हरेक घरमा फरक–फरक थरका परिवार बसोबास गर्छन् । वेशभूषा, संस्कृति र परम्परा समेत समान देखिने भक्तपुरवासीको थर भने घरैपिच्चे फरक–फरक हुने गरेको हो । थर फरक भए पनि धेरैको धर्म समेत मिल्छ । उनीहरूको परिकार र पोसाक मात्र हेर्ने हो भने त को कुन थरको छुट्ट्याउन समस्या पर्छ।
भक्तपुरमा यस्ता धेरै टोल छन्, जहाँ हरेक घरमा फरक–फरक थरका परिवार बसोबास गर्छन् । वेशभूषा, संस्कृति र परम्परा समेत समान देखिने भक्तपुरवासीको थर भने घरैपिच्चे फरक–फरक हुने गरेको हो।
संस्कृतिविद् ओम धौभडेलले गरेको एक अध्ययनअनुसार भक्तपुर नगरपालिका क्षेत्रभित्र मात्रै सात सय ५० भन्दा बढी थरका मानिसको बसोबास छ । भक्तपुरका अन्य क्षेत्रको समेत अध्ययन गर्ने हो भने एक हजारभन्दा बढी थरका परिवारको बसोबास हुन सक्ने धौभडेलको अनुमान छ।
जानकारका अनुसार भक्तपुरका केही थर पेसाका आधारमा बनेका छन् भने कतिपय थर अन्य कारण पनि बनेका छन्। भक्तपुरमा माटाका भाँडा बनाउने प्रजापति, सिकर्मी काम गर्ने शिल्पकार, डकर्मी काम गर्ने अवाल, दही बनाउने धौभडेल, दही बेच्ने धौबञ्जार लगायत थर पेसाका आधारमा बनेका हुन्।
कतिपयको पेसा खेती–किसानी भए पनि थर भने फरक छ । सुवाल, दुवाल, खाइतू, खाइजू, त्वायना, त्यात, त्वानाबासूलगायत थर भएकाको मुख्य पेसा खेती नै हो तर उनीहरूको थर भने भिन्न छ । यसले पेसाका आधारमा मात्र थर बनेका छन् भन्ने नदेखाउने अनुसन्धानकर्ता बताउँछन्।
भक्तपुरका नेवार समुदायमा थापा श्रेष्ठ थर समेत छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष रमेशको थर नै थापा श्रेष्ठ हो । उनी मध्यपुर थिमी नगरवासी हुन्।
धौभडेलका अनुसार थापा श्रेष्ठ लेख्नेको सुरुको रूप था श्रेष्ठ हो । बिस्तारै थाको साटो थापा लेखिन थालिएको हो । उनका अनुसार पहिले हरेक नेवार समुदायका थरपछि श्रेष्ठ झुन्ड्याउने चलन थियो । अचेल भने केहीले अरु सबै थरलाई हटाएर श्रेष्ठ मात्र लेख्न थालेका छन् । कतिपयले भने श्रेष्ठ लेख्न छाडेका छन्।
भक्तपुरवासीका कतिपय थर भने व्यक्तिलाई होच्याउने किसिमले राखिएको जस्तो देखिन्छ । नेवार भाषामा थरको अर्थ खोज्ने हो भने कतिपयलाई अवहेलना गरेको जस्तो लाग्छ । नेवार भाषामा जुँगा नभएको भन्ने अर्थ दिने शब्द ग्वायमरु थरका परिवारको बसोबास पनि भक्तपुरमा रहेको छ।
यसैगरी, नितम्ब ठूलो भएको बुझाउने पेन्टगो र सिँगाने भन्ने अर्थ दिने न्हिसुतुजस्ता थर पनि यहाँ प्रचलनमा छन् । आफ्नो सम्प्रदायलाई होच्याएर बनाइएका थर हुनेहरूले अचेल त्यसलाई हटाएर श्रेष्ठ मात्र लेख्न समेत थालेका छन् । धेरै र नबुझिने थर भएकाले कतिपयका सरकारी कागजात समेत बिग्रने गरेका छन् । सरकारी कागजमै समस्या आउन थालेपछि आफ्नो थर परिवर्तन गर्ने युवाहरू पनि धेरै छन्।
कतिपयको थर भने जनावर, पशुपक्षी, फलफूल, अन्न, बसोबासका आधारमा समेत बनेका छन् । नेवारीमा काग बुझाउने शब्द कोजू थरका परिवार भक्तपुरमा भेटिन्छन् । यसैगरी खर्बुजा बुझाउने खर्बुजा, आधा गहुँ बुझाउने छुस्याबाग र बसोबास बुझाउने बिजुक्छें थर यहाँ प्रचलनमा छन्।
भक्तपुरका कतिपय थर शारीरिक बनावट बुझाउने समेत छन् । मोटो बुझाउने कुटुब र दुब्लो बुझाउने गाइसी थर त्यसका उदाहरण हुन्।
भक्तपुरमा प्रजापति, सुवाल, दुवाल, बासुकला, शिल्पकार, अवाललगायत थर भएकाको बसोबास भने धेरै छ। भक्तपुरमा घरैपिच्छे फरक थर हुने भएकैले कतिपयले अलि नसुनेको थर भन्नेबित्तिकै भक्तपुरवासी हुन सक्ने अनुमान समेत लगाउने गर्छन् । देशमै सबैभन्दा सानो जिल्ला भए पनि भक्तपुरमा सबैभन्दा धेरै थर छन्।
प्रकाशित: २६ माघ २०७४ ०४:४२ शुक्रबार