coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नेपालका सहर अस्तव्यस्त भए’

दमन रुपाखेती, हाँस्यकलाकार 
तपाईंलाई मनपर्ने सहर कुन हो ?

मलाई मनपर्ने सहर काठमाडौं हो । काठमाडौं देशकै सुविधासम्पन्न सहर हो । यहाँ सबैथोक छ। मर्दापर्दा पनि यहाँ सजिलो छ । आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ । सुविधायुक्त विद्यालय, अस्पताल, सरकारीसेवा लगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ । अर्कोतिर काठमाडौं जति सुविधायुक्त छ, त्यति नै धराशयी पनि बन्दै गएको छ। सहरी इलाका पूरै अव्यवस्थित छ । मापदण्डविपरीतका भवन, खाल्डाखुल्डी सडक, मानिसको चाप, बिजुलीका पोल, अत्यधिक सवारी–साधन लगायत पक्षले काठमाडौंलाई धराशयी बनाएको छ । यहाँ अझै पनि बाहिरबाट बसाइँ सरेर आउने क्रम रोकिएको छैन । सहरमा जति पनि उर्वर भूमि थियो, त्यो सबै भवन निर्माणले ओगट्न थालेको छ । 

काठमाडौं बाहिरका सहर कत्तिको व्यवस्थित लाग्छन् ?
काठमाडौं बाहिरका सहर पनि अस्तव्यस्त भएका छन् । जहाँ–जहाँ सहर छ, त्यहाँ अव्यवस्थित देखिन्छ । अलिकति ग्रामीण क्षेत्र सुरु भएपछि राम्रा ठाउँ आउँछन्, तर सहरी इलाका अस्तव्यस्त लाग्छन् । धुलो र प्रदूषण नभएका सहरै छैनन् । 

पोखरा कस्तो लाग्छ ?
काठमाडौंपछि मलाई मनपर्ने सहर पोखरा हो । यहाँ घुम्ने र आनन्द लिने प्रशस्त ठाउँ छन् । यो ठाउँ पनि काठमाडौंजस्तै अस्तव्यस्त हुने क्रममा छ । पर्यटकीय सम्भावनालाई ख्याल गरेर बस्ती बसाल्ने र भवन निर्माण गर्ने हो भने पोखराको अस्तित्व रहन्छ, नत्र काठमाडौंजस्तै हुन्छ । 

विदेशका कुन–कुन सहर घुम्नुभएको छ ? 
मैले १३ भन्दा धेरै देशका सहर घुमेको छु । जापान, युके, मलेसिया, कतार, थाइल्यान्डको बैंककलगायत धेरै देशका सहर घुमेको छु । विदेशका सहर मलाई ज्यादै सुन्दर लाग्यो ।

यी सहर किन मनपर्‍यो ? 
विदेशका सहरमा नीति–नियम र कानुन कडा पारिएको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन । सहरी इलाकामा हरेक सुविधा हुन्छन् । स्वच्छ हावा पाइन्छ । सडक पनि चिल्ला र सफा हुन्छन् । त्यहाँ फोहोर फाल्नेलाई तुरुन्तै समाइन्छ । विदेशका सहर शान्त छन् । सहरमा बस्नेलाई कुनै पनि समस्या छैन । 

हाम्रा सहर पनि त्यस्तै बन्न सक्दैनन् ?
बन्न त सक्छन्, तर हामीलाई सयौँ वर्ष लाग्छ । मुख्य कुरा हाम्रोमा नीति–नियम बलियो छैन । कानुन छ, तर त्यसको पालना हुँदैन । सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन्, नेपालका सहर । तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन । सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरको विकासमा ध्यान दिँदैनन् । जो पनि भ्रष्टाचारै गर्न खोज्छ । भ्रष्टाचारविनाको राजनीति र सरकारी जागिर के काम भनेजस्तै गर्छन्, यहाँका नेता र कर्मचारी । 

सहरलाई व्यवस्थित बनाउन सरकारले कसरी काम गर्नुपर्ला ?
मुख्य कुरो त सहरमा जथाभावी फोहोर फाल्नुहुन्न भन्ने नागरिकमा चेतना आउनुपर्छ । सरसफाइ, बाटोघाटो, पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायत विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ । यी कुरालाई ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ । नीति–नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो । अहिले जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले काठमाडौंलाई कुरूप बनाएको छ । 

काठमाडौं उपत्यकामा हुनैपर्ने तर नभएका काम के होलान् ?
यस्ता काम यहाँ धेरै छन् । सहर हुनकै लागि आवश्यक काम भएका छैनन् । सहर बन्न हरियाली, खानेपानी, फराकिला सडक चाहिन्छ । सहज र समान सेवा–सुविधा हुनुपर्छ । सहरका हरेक चोक सुरक्षित र सफा हुनुपर्छ । नीति–नियम पनि कडा हुनुपर्छ । हरेक नागरिक आफ्नो अधिकारका लागि भौँतारिने अवस्था आउनुहुन्न । हाम्रा सहरमा त यी सबै कुरा नपुग छन् ।

सहरवासीको बानी कस्तो लाग्छ ?
हामी साह्रै अल्छी छौँ । सहर बिग्रनुको मुख्य कारण अल्छी सहरवासी पनि हुन् । आफ्नो घरको फोहोर सटरबाहिरको सडकमा नफाल्ने, कहीँ जाँदा निस्केको फोहोर सम्बन्धित ठाउँमा मात्रै फाल्ने गरेको भए सहर यति फोहोर र गन्हाउने हुने थिएन । हामी आफैँले गर्न सक्ने सानो काममा पनि सरकारलाई नै गाली गर्छौं, तर आफ्नो दायित्व ख्याल राख्दैनौँ । अर्को कुरा, सहरवासी पैसामुखी भए । कसैले सामाजिक र मानवीय भावना दर्शाउँदैन । म आफू भने बिहान छिटै उठेर फोहोर सम्बन्धित ठाउँमा फाल्ने र वरिपरि कुचो लगाउँछु । सबैले यस्तै गरेको भए सहर फोहोर हुने थिएन । 
यहाँका सरकारी कर्मचारीमा पनि नैतिकता छैन । मन्त्रालयका भित्ताभरि पानपराग खाएर थुकेका हुन्छन् । माथिल्लो तहमा बस्नेले काम गरेन भने सहर बन्ला भनेर सोच्न सकिन्न । काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ।

विदेशका सहर र हाम्रा देशका सहरबीच भिन्नता के देख्नुभयो ? 
धेरै भिन्नता छ । प्रकृतिले दिएको कुरामा हामी धेरै अगाडि छौँ । जे कुरा हामीले निर्माण गरेका छौँ, त्यसमा धेरै पछि छौँ । हाम्रा सहरको तुलनामा विदेशका सहर व्यवस्थित छन् । पूर्वाधार निर्माणले विदेशका सहर झकिझकाउ छन् । त्यहाँ हरेक ठाउँमा नीति–नियम पालना गरिएका हुन्छन् । नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन् । कसैले सहरको फोहोर देखिसहन्न । हाम्रोमा नागरिक नै सहरप्रति जागरुक र संवेदनशील छैनन् । भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिले पनि काम गरेका छैनन् । 

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहरमा यातायात सहज होस् । सबैतिर क्रेन कुदोस् । यहाँका मुख्यमुख्य सहर छोटो समयमै घुम्न सकियोस् । सहरमा हरियाली होस् । सबैखाले सुविधा सहजै पाउन सकियोस् । स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधायुक्त होऊन् । यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ । 

काठमाडौं उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मनपर्ने पक्ष मौसम र पुराना मठ–मन्दिर हुन् । उपत्यका पाइने यी कुरा विश्वमा अन्त पाइँदैन । यो हाम्रो गुण हो, तर चिन्न सकेनौँ। 

मननपर्ने पक्ष ?
ट्राफिक जाम र धुलोधुवाँ सबैभन्दा मननपर्ने पक्ष हो । ढल, बिजुलीका तार पनि अव्यवस्थित छन् । अग्ला भवनले पनि उपत्यका नराम्रो भएको छ। 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ । सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ । सहरमा बस्ने अधिकांश मानिस यहाँको भद्रगोल र झन्झटदेखि हैरान छन् । धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ। 

उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
समय मिल्यो भने नगरकोट, धुलिखेल, शिवपुरी, चित्लाङ लगायत ठाउँमा जाने गरेको छु। 

पछिल्लो समय घुमेको सहर कुन हो ?
हङकङ गएको थिएँ । जहाँ दुईपटक पुगेँ । अहिले हङकङ धेरै राम्रो छ। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई सबैको सपनाको देश युएस जाने मन छ । हेरौँ समयले साथ दियो भने यहाँ पनि पुग्छु।

काठमाडौंको मीठो लाग्ने खानेकुरा के हो ?
सबैखाले खानेकुरा मीठो लाग्छ ।
 प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २६ माघ २०७४ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App