coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया पुगिन किम जोंग उनकी बहिनी

उत्तर कोरियाली नेता किम जोंग उनकी बहिनी किम यो जोंग र सभामुख किम यङ–नामलाई इन्चोन विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : एजेन्सी

सोल – उत्तर कोरियाली नेता किम जोंग उनकी बहिनी दक्षिण कोरिया आइपुगेकी छन्। आजबाट सुरु हुने शीतकालीन ओलम्पिकको उदघाटन समारोहमा सहभागी हुन उत्तर कोरियाली नेताकी बहिनी किम यो जोंग दक्षिण कोरिया आइपुगेकी हुन्। 

उनको साथमा उत्तर कोरियाको संसदका प्रमुख किम यङ–नामसहित उच्चस्तरीय टोली शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

किम यङ–नाम लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन्। साथै उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि पहिलोपटक दक्षिण पुगेकी हुन्।

उत्तर कोरियाली प्रतिनिधीमण्डल सवार विमान अवतरण हुँदा विमानस्थलमा सुरक्षा व्यवस्था अघिल्लो समयको भन्दा कडा बनाइएको थियो। ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए। 

उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ। 

उक्त प्रतिनिधिमण्डल आइतबारसम्म यहाँ रहने छ। उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिक रुपमा सार्वजनिक गरेको थियो। 

राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत 

उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेका छन्। दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुगेका थिए।

मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि स्वागतका लागि उक्त विमानस्थलमा पुगेको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ। उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ। 

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ।

प्रकाशित: २६ माघ २०७४ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App