७ वैशाख २०८१ शुक्रबार
खेल

बुढासुब्बा गोल्डकप : थ्री स्टारलाई बदला लिने मौका

प्रि म्याच कन्फ्रेन्समा पुलिसका मेनेजर, कप्तान(बाँया) र थ्री स्टारका कप्तान, मुख्य प्रशिक्षक(दाया) बुढासुब्बाको ट्रफीका साथमा । तस्बिर : नागरिक

धरान – एक साताअघि (माघ २० गते) पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा नेपाली फुटवलका महारथी दुई क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार भिडेका थिए। त्यसबेला पुलिसले १–० ले थ्री स्टारलाई हराउंदै आहा राराको उपाधि उचाल्यो।

धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पनि पुलिस र थ्री स्टार क्लब नै पुगेपछि प्रतियोगितामा रोचकता थपिएको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार दुवै क्लब आमनेसामने हुँदैछन्। थ्री स्टार पोखराको हारको बदला लिने योजना बुन्दै गर्दा पुलिस भने बुढासुब्बामा उपाधिको दोहोरो ह्याट्रिक गर्ने दाउमा छ। पुलिसका युवा खेलाडीहरुको प्रदर्शन दिनप्रतिदिन लय समातिरहदा थ्री स्टारलाई भने चोटग्रस्त खेलाडीहरुको चिन्ता छ। स्ट्राइकर विमल घर्तीमगरको अभाव पनि थ्री स्टारलाई खट्किएको छ। 

बुढासुब्बामा पुलिस सर्वाधिक सफल टिम हो। यसअघि नवौं पटक फाइनल खेलिसकेको पुलिसले पाँच पटक उपाधि जितिसकेको छ भने चार पटक उपविजेता भएको थियो। पुलिसले यसअघि दोस्रो, चौथो, पाँचौं, दशौं र १९ औं सँस्करणमा उपाधि जितिसकेको छ। अब शनिबार पनि विजेता बन्दै पुलिस उपाधिमा दोहोरो ह्याट्रिक गर्न चाहन्छ भने सिजनको तेस्रो उपाधि उचाल्ने लालसा छ। पुलिसले जारी सिजनमा दाङमा राखेप च्याम्पियनसिपअन्तर्गत फुटबल र पोखरामा आहा रारा गोल्डकप जितिसकेको छ। आहा रारामा थ्री स्टारलाई हराएकोले पनि पुलिस उच्च आत्मबल बोकेर पुलिस मैदानमा उत्रनेछ। ‘थ्री स्टारसँग पहिला पनि खेलेर जितिसकेका छौं, त्यसैले यहाँ खेल्न सहज छ। खेलाडीहरु सबै युवा छन्, र लयमा खेलिरहेका छन्,’ पुलिसका म्यानेजर ज्योतिकमल गुरुङले भने, ‘खेलाडी कोही घाइते छैन, टिमसेट मिलेको छ, हामी उपाधि जित्छौं।’

पुलिसको फरवर्डमा रेजिन सुब्बा, सुमन लामा र रवि पासवान रहनेछन् भने मिडमा हेम तामाङ, तेज तामाङ र युवराज राई हुनेछन्। रक्षापंक्तिमा दिनेश राजवंशी, सन्तोष हेमरुन, बुद्ध लामा र अजित भण्डारीले सम्हाल्दा गोलकिपर सत्रुघन राजवंशी हुनेछन्। ‘खेल हो भन्न सकिन्न, कहिले कहि राम्रो खेल्दाखेल्दै पनि स्कोर हुँदैन। गेम टफ, ५०÷५० हुन्छ,’ पुलिसका कप्तान हेम तामाङले भने। साविक विजेतासमेत रहेको पुलिसले क्वार्टरफाइनलमा काकडभिटा ट्रेनिङ सेन्टर झापा र सेमीफाइनलमा गत बर्षको उपविजेता संकटा क्लबलाई हराउदै फाइनल यात्रा तय गरेको थियो। 

पुलिससँग बदला लिने दाउमा रहेको थ्री स्टारसँग हतियारको रुपमा अनुभवी तथा राष्ट्रिय खेलाडीहरु छन्। यो सिजनमा इटहरीमा मदन भण्डारी गोल्डकप जितेको थ्री स्टार पोखरामा भएको गल्ती नदोहोर्याउने रणनीतिमा छ। यद्यपी, फिनिसिङमा भएको कमजोरी थ्री स्टारको लागि टाउको दुखाई बनेको छ। बिहीबार सेमीफाइनलमा कमजोर मानिएको दुर्गापुर स्टिल कलकत्तासँगको खेलमा दुई दर्जन गोल गर्ने अवसर थ्री स्टारले खेर फालेको थियो। ‘हामीसँग अनुभवी खेलाडीहरु छ, तर फिनिसिङ लाइन कमजोर देखिएको छ। फाइनलमो त्यो गल्ती हुँदैन,’ मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले भने, ‘खप्तड गोल्डकपमा भएको गल्ती इटहरीमा सुधार्यौं, पोखरामा फाइनलमा भएको गल्तीलाई पनि यहाँ सुधाछौं र बदला लिइछाड्छौं।’

प्रशिक्षक सिलाकारले भनेजस्तो सहज भने थ्री स्टारलाई छैन। प्रतियोगितामा निरन्तरको सहभागिता र खेलले गर्दा अधिकांश खेलाडीहरु घाइते छन्। बुढासुब्बामा सेमीफाइनल पछि पुलिसले फाइनल खेल्न २ दिन रेष्ट पायो भने थ्री स्टारले एक दिन मात्र त्यो मौका पायो। खेलाडीलाई आराम पनि आवश्यक भएकोले रणनीति अनुसार पुर्णअभ्यास गर्न थ्री स्टारले पाएको छैन। ‘हामीले एक दिन मात्र रेष्ट पायौं, पुलिसले २ दिन पायो। हाम्रो खेलाडी घाइते पनि छन्,’ कप्तान बिक्रम लामाले भने, ‘तरपनि हामी निराश छैनौं। फुटबलमा स्कोर चाहिन्छ, फाइनलमा स्कोर गर्ने गरि स्ट्राइकरलाई मैदानमा उर्ताछौं।’ थ्री स्टारबाट राष्ट्रिय टिमका खेलाडी गोलकिपर एलेन न्यौपाने, बिक्रम लामा, रेजिन धिमाल, अनन्त तामाङ र सुनिल वलको प्रेरणा छ भने पुर्वराष्ट्रिय खेलाडी विजय धिमालको पनि साथ छ। 

थ्री स्टारले बुढासुब्बा गोल्डकपमा चार पटकको उपाधि जितिसकेको छ। शनिबार फाइनलमा जित हासिल गरे सर्वाधिक उपाधि विजेता पुलिससँग थ्री स्टारको उपाधि बराबरी हुनेछ। यसअघि थ्री स्टारले सातौं, नवौं, ११ औं र १४ औं सँस्करणमा उपाधि जितेको थियो। जारी सँस्करणमा थ्री स्टारले क्वार्टरफाइनलमा सिजि सुदूरपश्चिम ११ र सेमीफाइनलमा पिएसआर दुर्गापुर स्टिललाई हराउंदै फाइनल पुगेको थियो। उपाधि विजेता टोलीले उपाधि ट्रफीसँगै नगद ६ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाखमा चित्त बुझाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरुले जनही नगद २५ हजार पुरस्कार पाउनेछ। 

प्रकाशित: २६ माघ २०७४ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App