८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार गठनको गृहकार्य सुरु

सुर्खेत- संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ। माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए। ‘सरकार गठनका लागि गृहकार्य सुरु गरेका छौं’ ६ नम्वर प्रदेश इन्चार्ज एवम पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘सत्ता साझेदार नेकपा एमालेसँग सहकार्य गरेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउँछौं।’

उनले केन्द्रमा भएको सहमति अनुसार ६ नम्वर प्रदेशमा सरकार गठनका लागि पहल थालिएको बताए। ‘वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको मूख्यमन्त्री हामीले पाएका छौं’ बस्नेतले भने, ‘सोही अनुसार प्रक्रिया सुरु गरेका हौं।” उनले २९ गते सभामुख चयन लगत्तै सरकार गठन हुने बताए।

एमालेसँग बसेर मन्त्रालयको टुङ्गो लगाएर फागुन ३ गतेभित्रै सरकार गठन गर्ने उनको भनाई थियो। सात मन्त्रालय रहने ६ नम्वर प्रदेशमा मूख्यमन्त्रीसहित माओवादीले तीन र एमालेले चार मन्त्रालय पाउने मोटामोटी सहमति दुई दलबीच भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर पूर्व गृहमन्त्रीसमेत रहेका बस्नेतले दुई दलबीचको सहमतिमै मन्त्रालयको भागबण्डा हुने बताए।

भावी मुख्यमन्त्रीका रुपमा हेरिएका महेन्द्रबहादुर शाहीले प्रदेशको आमूल परिवर्तनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । ‘शून्यबाट प्रदेश निर्माणको अभियान सुरु गर्नुपर्ने चुनौति छ’ उनले भने, ‘ति चुनौति सामना गर्नका लागि सहकार्य, सहमति र एकताको खाँचो छ ।’ उनले प्रदेशमा तत्कालका लागि समस्या देखिए पनि संभावना पनि उत्तिकै रहेको बताए । उनले पाँच वर्षभित्र प्रदेशलाई समृद्धिको मार्गमा ढोर्‍याउने र १० वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउने योजनासहित आफू प्रदेशको नेतृत्व गर्न लागेको बताए।

 

प्रकाशित: २६ माघ २०७४ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App