८ वैशाख २०८१ शनिबार
राजनीति

हारको जिम्मा सभापतिले लिनुपर्छ: सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको तेस्रो स्मृति दिवसको अवसरमा शुक्रबार नेपाल विद्यार्थी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले देउवाकै कारण पार्टी हारेको आरोप लगाएका हुन्।

‘पार्टी सभापति, संसदीय दलको नेता देखि उम्मेदवार छनोट उहाँकै तजविजि अनुसार हुने तर, रिजल्ट नराम्रो आएपछि चाहि सबैले जिम्मेवारीलिनु पर्छ भन्न मिल्दैन,’ सिंहले भने, ‘यसको सबै जिम्मेवारी शेरबहादुरजी (शेरबहादुर देउवा)ले लिनुपर्छ । लिडर त उहाँ हो नी ।’

आर्थिक संबृद्धिसहितका मुलुकका सामु आउने चुनौति सामनाका लागि कांग्रेसमा सुधार जरुरी रहेको सिंहले बताए । जनतालाई राजनीतिक स्थायीत्व, आर्थिक विकाससहितको संबृद्धि खोजी रहेको बताउँदै सिंहले कम्युनिष्टहरुबाट मुलुकको विकास र संबृद्धि सम्भव नरहेको तर्क गरे। ‘ढिलो चाँडो मात्र कुरा हो मुलुकको नेतृत्व कांग्रेसले नै गर्नेछ । हामी नै मुलुकलाई संबृद्ध बनाउने छौ  त्यसको नेतृत्व पनि कांग्रेसले गर्ने छ,’ सिंहले भने, ‘त्यसका लागि पार्टीमा सुधार जरुरी छ। अहिलेकै अवस्थामा आर्थिक संबृद्धि र आगामी चुनौतिका सामना गर्न सिंकदैन।’

विधि र विधान अनुसार अघिबढे मात्र पनि धेरै समस्या समधान हुने दाबी गर्दै उनले भने, ‘पार्टीलाई विधिसंवतरुपमा अघि बढाउनु अहिलेको पहिलो आवश्यकता हो ।’

कार्यक्रममा आधा दर्जन केन्द्रीय सदस्यहरुले पार्टी विधि, विधान अनुसार चल्न नसकेको भन्दै सुधार आफैबाट थाल्नु पर्ने धारणा राखेका थिए।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको सादगी जीवन र राजनीतिक निष्ठा मुलुकको राजनीति र पार्टीभित्र पनि कमजोर बन्दै गएको सदस्यहरुले औल्याए । कोइरालाले एमाले र माओवादीसहितका दलहरुलाई समेटर अघि बढेकै कारण संविधानसभाबाट नयाँ संविधान जारी गर्न सफल भएको स्मरण गरेका थिए ।

प्रकाशित: २६ माघ २०७४ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App