coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

 केही वर्ष अघिसम्म महाशिवरात्रिका बेला पशुपति क्षेत्र आउने विदेशीमा भारतीय नागरिक मात्र हुने गर्थे । अचेल भने महाशिवरात्रिमा भारतीय मात्र होइन, अन्य मुलुकबाट समेत दर्शनार्थी आउन थालेका छन् ।

हिन्दू धर्मावलम्बीको पर्व शिवरात्रिमा केही वर्षदेखि युरोप र अमेरिकाका गैरहिन्दू समेत पशुपति आउन थालेका हुन् । भारतबाहेक अमेरिका, बेलायत, थाइल्याल्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, अस्ट्रेलिया, क्यानडालगायत मुलुकबाट शिवरात्रि हेर्नकै लागि दर्शनार्थी आउने गरेको जानकार बताउँछन् ।
यसपालिको शिवरात्रि मंगलबार परेकाले केही दिनदेखि पशुपति क्षेत्रमा गैरहिन्दू विदेशीको समेत चहलपहल बढिरहेको छ । युरोपेली र अमेरिकीहरू शिवरात्रिका बेला आउने नागा बाबा, साधु, सन्त र तान्त्रिकप्रति आकर्षित हुने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल शिवरात्रिका अवसरमा विदेशी पर्यटक भित्रिने क्रम ह्वात्तै बढेको बताउँछन् । ‘शिवरात्रि अहिले कुनै धर्म विशेषमा मात्रै सीमित रहेन, त्यसैले यसको दायरा बढ्दै गएको छ,’ उनले भने, ‘पछिल्लो समय शिवरात्रिको प्रचार विश्वव्यापी रूपमा भइरहेको छ ।’
कोषले यसपालिको शिवरात्रिमा १५ हजार विदेशी पर्यटक आउने अनुमान गरेको छ । ‘भारतबाट चार हजार नागा बाबा आउने अनुमान गरेका छौँ,’ ढकालले भने, ‘अहिलेसम्म एक हजार नागाबाबा आइसक्नुभयो, अन्य आउने क्रम जारी छ ।’

यसपालि शिवरात्रिमा करिब १५ लाख दर्शनार्थी पशुपति क्षेत्र आउने कोषको अनुमान छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव ढकालले महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।

‘शिवरात्रि तयारी पूरा गरिसकेका छौँ, भक्तजनले ढुक्कसँग दर्शन गर्न सक्ने गरी सुरक्षा अवस्था अपनाएका छौँ,’ उनले भने, ‘शिवरात्रिमा धेरै नै भीडभाड हुने गर्छ, सरसमान हराउने र लुटपाट हुने उच्च जोखिम हुने भएकाले दर्शनार्थीलाई बहुमूल्य गरगहना नलगाईकन आउन अनुरोध गर्छौं ।’कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टन्डन पनि पछिल्ला वर्षमा गैरहिन्दू दर्शनार्थी बढ्दै गएको बताउँछन् । ‘पहिला शिवरात्रिको दर्शन गर्न भारतीय पर्यटक मात्रै आउँथे,’ उनले भने, ‘अहिले त शिवरात्रि विश्वव्यापीजस्तै भइसक्यो, टाढा–टाढाबाट पनि हजारौँ दर्शनार्थी आउने गर्छन् ।’

डेढ घन्टामा दर्शन
कोषका अनुसार यसपालि एकदेखि डेढ घन्टामा दर्शनार्थीलाई पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरिएको छ । ‘सबै दर्शनार्थीलाई समान हैसियतले दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ,’ सदस्यसचिव ढकालले भने । गत वर्षसम्म कोषले पैसा लिएर ‘फास्ट ट्र्याक’मा दर्शन गर्न दिने व्यवस्था गरेको थियो । त्यसलाई यसपालिदेखि भने हटाइएको हो ।

यस्तो छ दर्शन–रुट
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छुट्टाछुट्टै रुटको व्यवस्था गरेको छ । पशुपति दर्शनका लागि आउने भक्तजनका लागि चारवटा ढोका खोलिनेछ । भक्तजन चारवटै दिशामा लाम लागेर दर्शन गर्न पाउनेछन् । पशुपति क्षेत्र प्रवेश गर्नेमध्ये साढे ६ लाख भक्तजनले मन्दिरभित्र प्रवेश गर्न पाउनेछैनन् ।

बाँकीले भने मन्दिरभित्र प्रवेशको अवसर पाउनेछन् ।कोषका अनुसार बत्तीसपुतली–गौशाला र कोटेश्वर–एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।गुहेश्वरीतर्फबाट आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकीनाथ हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।

त्यस्तै, चावहिलतर्फबाट आउने दर्शनार्थीका लागि सिफल–जयवागेश्वरी–मित्रपार्क–जयवागेश्वरी हुँदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकासँगै प्रहरी पहरा गणबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । दर्शनार्थी जुन रुटबाट प्रवेश गर्छन्, सोही रुटबाट फर्किने व्यवस्था गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा पार्किङको व्यवस्था गरेको छ । पास लिएका सवारीसाधन र तीर्थयात्रीको सवारीसाधन पार्किङका लागि तिलगंगा र सिफलमा स्थान तोकिएको हो ।
पर्व व्यवस्थानका कर्मचारीको सवारीसाधन देव उद्यानस्थित कोषको कार्यालय र भण्डारखालमा पार्किङ गरिनेछ । सुरक्षा निकायको सवारीसाधन महानगरीय प्रहरी वृत्त गौशालामा राख्ने प्रबन्ध मिलाइएको छ । गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फका सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था गरिएको छ ।

शिव बुटीले स्वास्थ्यमा असर पार्छ : चिकित्सक

शिवरात्रिका अवसरमा गाँजा, भाङ र धतुरोलाई धेरैले शिवको प्रसादको रूपमा लिने गर्छन् । तर, प्रसादको रूपमा सेवन गरिने यस्ता लागूपदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सक बताउँछन् । पाटन अस्पतालका जनरल फिजिसियन डा. भरतकुमार यादवले शिवजीको प्रसादका रूपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । ‘शिवका भक्त व्रत बस्छन्, त्यस्तो बेला लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा हानि गर्छ ।’

यादवका अनुसार गाँजा सेवनले बान्ता हुने, रिँगटा लाग्ने, बेहोस हुनेलगायत समस्या देखिन्छन् । ‘भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन सक्छ,’ उनले भने, ‘शिवजीको प्रसादका रूपमा मिठाई र फलफूल पनि खान सकिन्छ ।’  पण्डित मदन भट्ट शिवलाई गाँजा, धतुरो र भाङ मात्रै नभई मह, दूध, बेलपत्र चढाउन सकिने बताउँछन् । ‘शिवजीको प्रसादका रूपमा गाँजालाई गलत प्रचार गरियो,’ उनले भने, ‘मह तथा दूध प्रयोग गर्न सकिन्छ।’

उच्च सतर्कता
नेपाल प्रहरीले शिवरात्रिका बेला पशुपति क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी करिब चार हजार तीन सय सुरक्षाकर्मी उपत्यकामा खटाइनेछ  ।
पशुपति क्षेत्रमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षा टोली खटाइने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए । ‘शिवरात्रिलाई लक्षित गरेर उच्च सुरक्षा सावधानी अपनाइएको छ,’ उनले भने, ‘एक सातादेखि नै पशुपति परिसरमा उच्च सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, सुरक्षा व्यवस्था बिहीबारसम्म जारी रहनेछ ।’
जोशीले शिवरात्रिमा गाँजा, भाङ, धुतुरो सेवन र बिक्री–वितरणमा पूर्णतया रोक लगाइएको बताए । ‘पशुपति परिसरमा लागूऔषध सेवन गर्न रोक लगाएका छौँ,’ उनले भने, ‘सेवन गरेको  पाइएमा समेत कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’

दर्शनार्थीलाई सुविधा
शिवरात्रिमा पशुपति दर्शनका लागि पुग्ने दशनार्थीलाई पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय र अन्य संघसंस्थाले आवश्यक बन्दोबस्त मिलाउनेछन् ।कोषले खानेपानी, घुम्ती शौचालय, भोजन, बासलगायत व्यवस्था गरेको सदस्यसचिव ढकालले जानकारी दिए । ‘दर्शनार्थीलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘दर्शनार्थीलाई सभ्य र मर्यादित ढंगले दर्शन गर्न अनुरोध गरेका छौँ ।’ वृद्ध र अपांगका लागि पशुपति दर्शनको छुट्टै व्यवस्था गरिएको छ ।

नेपाल स्काउटले कोषसँगको साझेदारीमा करिब आठ सय स्काउट स्वयंसेवी परिचालन गर्ने भएको छ । कोषले नेपाल प्रहरी र सशस्त्र प्रहरीपछि स्काउटलाई परिचालन गर्दै आएको छ । स्काउट बर्सेनि परिचालन हुँदै आएको कोषले जनायो ।

प्रकाशित: २९ माघ २०७४ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App