६ वैशाख २०८१ बिहीबार
अन्य

अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाले सूर्यविनायक नगरपालिका–४ हिञ्चोकमा ‘रामदास हुनमान’ मूर्ति बनाएको हो । पुजारी राजन बस्नेतका अनुसार नवलपरासीको जयश्री खोलाबाट ल्याइएको ४६ टनको ढुँगा खोपेर मूर्ति बनाइएको छ । मूर्ति बनाउन ५० लाख रूपैयाँ भन्दा बढी खर्च लागेको छ ।  संस्थाले पत्थरबाट बनेको नेपालकै अग्लो हनुमान मूर्तिका रूपमा यसको प्रचार गर्दै आएको छ । देब्रे घुँडा टेकेर बसेका हनुमानको छातीमा राम र सीताका मूर्ति कुँदिएको छ । कलाकार सानुभाई विश्वकर्माको समूहले तीन वर्ष लगाएर कुँदेको मूर्ति सिसाभित्र राखिएको छ ।

गत वर्ष शिवरात्रिदेखि मूर्ति सर्वसाधारणका लागि खुला गरिएको थियो । संस्थाका पूर्वअध्यक्ष समेत रहेका बस्नेत र दीपक ढुँगेलले पुजारीका रूपमा मन्दिरको नित्य पूजा तथा आरती गर्दै आएका छन् । ‘आर्थिक स्रोत बलियो भएपछि पुजारीको तलब व्यवस्थापन गरिनेछ,’ बस्नेतले भने, ‘अहिले हामी निःशुल्क सेवा गरिरहेका छौँ ।’  

हनुमान मूर्तिका कारण मात्र हिञ्चोक धार्मिक तीर्थ बनेको होइन, यहाँ सदियौँदेखि भैरव, महादेव, कृष्ण, गणेश, सरस्वतीलगायतका मूर्ति छन् । त्यसैले हिञ्चोक धार्मिक क्षेत्रका रूपमा पुजिँदै आएको छ । काठमाडौं उपत्यकाका मल्ल राजाले यहाँ शुभ दिन, शुभ साइत र ग्रह दशा हेराउँथे भन्ने जनश्रुती छ ।  

मन्दिर क्षेत्र साढे तीन रोपनीमा फैलिएको छ । यहाँ शिवरात्रि, रामायण जयन्ती, बिस्केट जात्रा (वैशाख १ गते)मा मेला लाग्छ । त्यसैगरी हरेक १२ वर्षमा हरिसिद्धि ललितपुरका गंठे आएर तान्त्रिक पूजा गर्छन् ।  
हिञ्चोक डाँडा पुग्न अरनिको राजमार्गको नयाँ ठिमीबाट दक्षिणतर्फ करिब १८ सय मिटर लाग्नु पर्छ । डाँडा रमणीय छ ।   

 

 

 

प्रकाशित: २९ माघ २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App