७ वैशाख २०८१ शुक्रबार
अन्य

गुलाबको मौसम

फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । प्रेम गर्ने नयाँपुस्ताले यसलाई प्रेम सप्ताहकै रूपमा मनाउन थालेका छन् । यो सप्ताहमा प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिएर प्रेम अभिव्यक्त गर्छन् ।

त्यसैले हिजोआज सहरका पसल प्रेमको प्रतीकका रूपमा मानिने विभिन्न वस्तुले झकिझकाउ पारिएका छन् । सहरका क्याफे, रेस्टुरेन्ट, सपिङ मलहरूमा मायालु जोडीका लागि अफर र डिस्काउन्ट समेत राखिएको देखिन्छ ।

जावलाखेलस्थित योर च्वाइस् गिफ्ट सपकी सञ्चालक कोपिला कार्कीलाई फेब्रुअरीको सुरुदेखि बुके बनाउन भ्याइनभ्याई छ । विभिन्न प्रकारका फूललाई एकै ठाउँमा राखी अन्य सजावटका सामानले आकर्षक बुके बनाउन व्यस्त देखिन्छिन् उनी । प्रेम दिवस सप्ताहव्यापी मनाइने भए पनि अन्तिम दुई दिन उपहारको व्यापार अधिक हुने उनी बताउँछिन् । फूलको व्यापार गर्दै आएकी कोपिला भन्छिन्, ‘प्रेम सप्ताहभरि धेरै बिक्ने उपहार गुलाबको फूल हो ।’

बजारमा प्लास्टिकका फूलभन्दा प्राकृतिक गुलाबको माग बढी हुने उनी बताउँछिन् । हुन त आजभोलि गुलाबको फूललाई विवाह, जन्मदिन वा अरु उत्सवमा पनि प्रयोग गरिन्छ । प्रेम दिवसका दिन भने गुलाबको प्रयोग विशेष हुने गरेको उनी सुनाउँछिन् । ‘विवाहमा गुलाबको फूलको माला बनाउने, गाडी सजाउने, बर्थ डेमा सजाउने वा उपहारका रूपमा दिने चलन निकै बढेको छ । तर प्रेम दिवसमा यसको उपयोग उपहारका रूपमा धेरै हुन्छ,’ उनले भनिन् । विवाहको साइत र प्रेम दिवस पर्ने भएका कारण माघ र फागुनमा गुलाबको व्यापार राम्रो हुने गरेको उनी बताउँछिन् । प्रेम दिवसलाई नै लक्षित गरी उनकै पसलमा पनि थुप्रै गुलाब ल्याइन्छ ।

द फ्रेस फ्लावर सपका सञ्चालक राम लामा १५ वर्षदेखि फूलको व्यापार गर्दै आएका छन् । प्रेम सप्ताहको एक दिन उनी आफ्नो पसलमा सिंगल रोजलाई आकर्षक तरिकाले सजाउन व्यस्त भेटिए । प्रेम दिवसकै लागि विभिन्न रङका गुलाब सजाइरहेको उनले बताए । ‘प्रेम दिवसका बेला रातो, पहेँलो, सेतो, गुलाबी, सुन्तला लगायत रङका गुलाबको व्यापार हुन्छ,’ उनले भने ।

हरेक मौसममा व्यापारका लागि भारतबाट विभिन्न रङका गुलाब मगाउने उनी बताउँछन् । ‘पहिलेभन्दा अहिले युवापुस्ता खुलेर प्रेम अभिव्यक्ति गर्छन् । त्यसैले गुलाब साटासाट गर्नु सामान्य भइसकेको छ,’ उनले भने, ‘दशकअघि प्रेम दिवसको विषयमा केही जानकारी थिएन । चर्चा पनि थिएन । अहिले निकै ठूलो चाड भइसकेको छ । अहिले गुलाब खोज्ने पनि बढेका छन् ।’

युवा पुस्ताले यस्ता प्रचलनलाई महत्वसाथ मान्दा आफूलाई खुसी लागेको उनी बताउँछन् । ‘फूलको व्यापारी हुँ । यस्ता दिवस भइरह्यो भने हाम्रो व्यापार राम्रो हुन्छ नि,’ उनले हाँस्दै भने । प्रेमी–प्रेमिकाले हप्तौँअघि नै गुलाब नै गुलाब सजाएर बुके बनाउन अर्डर दिने गरेको उनले बताए । गुलाब मात्र राखेर तयार गरिएको बुकेको मूल्य सामान्यतः आठ सय रुपैयाँदेखि सुरु हुने उनी बताउँछन् । ‘एउटा गुलाबको सामान्य बजार मूल्य ५० रुपैयाँदेखि सुरु हुन्छ,’ उनले भने । कतिले आफूहरु प्रेममा परेको वर्ष गनेर बुकेमा गुलाबको संख्या सजाउन पनि रुचाउने गरेको उनी सुनाउँछन् ।

‘पहिलेभन्दा अहिले युवापुस्ता खुलेर प्रेम अभिव्यक्ति गर्छन् । त्यसैले गुलाब साटासाट गर्नु सामान्य भइसकेको छ । दशकअघि प्रेम दिवसको विषयमा केही जानकारी थिएन । चर्चा पनि थिएन । अहिले निकै ठूलो चाड भइसकेको छ । अहिले गुलाब खोज्ने पनि बढेका छन् ।’

पुल्चोककी निशा राईले प्रेम दिवसमा जति गुलाब अन्य समय बेच्दिनन् । विगत सात वर्षदेखि फूल व्यवसाय गर्दै आएकी उनी भन्छिन्, ‘गुलाबको व्यापार हुने भनेको नै प्रेम दिवसको दुई–तीन दिन हो, यो बेला नभए त घाटा पो लाग्छ ।’

प्रेम गर्नेहरु गुलाबको फूल एकापसमा आदान–प्रदान गरी माया देखाउँछन् । कति जोडीहरू आफ्नो प्रेम सम्बन्धलाई कसिलो पर्ने विभिन्न उपाय अपनाउन चाहन्छन् । गुलाबलाई प्रेम अभिव्यक्तिको साधनको रूपमा प्रयोग गर्छन् ।

अनिलकुमार जलन हलमार्क एक कार्डेन गिफ्ट सपका सञ्चालक हुन् । उनले विगत २२ वर्षदेखि गिफ्ट सप सञ्चालन गर्दै आएका छन् । प्रेम दिवसका अवसरमा उनी विभिन्न उपहार बेच्नमा व्यस्त छन् । अहिलेको बजारमा ग्रिटिङ कार्ड र गुलाब सबैको रोजाइमा पर्ने उनी बताउँछन् ।विगतको तुलनामा अहिले प्रेमदिवस मनाउने चलन बढे पनि उपहार दिने घटेको उनको अनुभव छ । ‘सन् २०१२ देखि २०१५ सम्म गुलाबको निकै राम्रो व्यापार भएको थियो ।

त्यो समयमा प्रेम दिवस आउनुभन्दा एक महिना अगाडिदेखि नै गुलाब, कार्ड र उपहार बुक गरेर राख्थे,’ उनी भन्छन्, ‘माया र प्रेममा एक–अर्काको भावना साटासाट पनि हुन्छ । जुन कुरा अभिव्यक्त गर्न निकै मेहनत गर्नुपथ्र्यो, तर अहिले निकै हल्का रूपमा लिइएको छ ।’ इन्टरनेटको प्रयोगले मानवीय भावनालाई विभिन्न इमो र म्यासेन्जरका माध्यमबाट प्रस्तुत गर्ने प्रचलन बढेको उनी बताउँछन् ।

पूजा गिरी विगत पाँच वर्षदेखि मनीष श्रेष्ठसँग प्रेम सम्बन्धमा छन् । यसपालिको प्रेम दिवसमा आफ्ना प्रेमीलाई गुलाब दिएर शुभकामना दिने उनी बताउँछिन् । ‘हाम्रा लागि प्रेम दिवस विशेष त केही होइन । तर, शान्त रेस्टुरेन्टमा गएर एक साँझ एकअर्कामा हराउने विचारमा छु,’ उनले भनिन् ।

प्रकाशित: २९ माघ २०७४ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App