coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’


राजेन्द्रकुमार महर्जन
वडाध्यक्ष, कीर्तिपुर नगरपालिका– ५

जनप्रतिनिधि भएर आएपछि के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी निर्वाचित भएदेखि नै अस्तव्यस्त रहेको स्थानीय तहलाई सुधार्नेतर्फ लागेका छौँ । वडा कार्यालयका तर्फबाट जनतालाई दिने सेवा–सुविधामा कुनै कमी हुन दिएका छैनौँ । तर, विकास निर्माणको काम अति नै सुस्त गतिमा भइरहेको छ । जनप्रतिनिधि भएर आएसँगै पांगा जनसेवा स्कुलदेखि गाखासम्म चार सय मिटर क्षेत्रमा ढल निर्माण गरेर सम्पन्न गरिसकेका छौँ ।

भत्केको पार्टी–पांगा–गाखा हुँदै सुन्दरीघाटसम्म ढल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । अब छिटै ढल निर्माणसँगै सुन्दरीघाटमा फोहोर प्रशोधनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन लागिरहेका छौँ । असहाय, गरिब तथा आयस्रोत कम भएका एक सय ५० जनालाई जाडोबाट बच्न ब्ल्यांकेट समेत हस्तान्तरण गरेको छु । त्यसैगरी, भत्केको पाटीस्थित अधिकारी गाउँमा २० हजार लिटरको खानेपानी ट्यांकीको निर्माण सम्पन्न गरेर वितरण गर्ने तयारीमा जुटेका छौँ ।

जनप्रतिनिधि भएर काम गर्न कत्तिको सहज रहेछ ?
जनप्रतिनिधिको जिम्मेवारी र अधिकार क्षेत्र फराकिलो छ । तर, स्थानीय निकायको बजेट अत्यन्तै न्यून छ । जनताका आकांक्षा र चाहना धेरै छन् । जनप्रतिनिधिले ‘जादुको छडी’ले जस्तै एकैचोटि सबै काम गरिदिऊन् भन्ने जनचाहना देखिन्छ । जनताका तर्फबाट आएका चाहना जायज छन् । तर, हामीसँग बजेट साह्रै कम छ । जसकारण जनअपेक्षाअनुसार काम गर्न सकिरहेका छैनौँ । वडा कार्यालयले विभिन्न शीर्षकमा मासिक तीनदेखि चार लाख रुपैयाँसम्म कमाइ गर्दै आइरहेको छ । तर, वडाका लागि बजेट निकै कम छ । वडाले आम्दानी गरेको राजस्व वडामै खर्च गर्न पाइँदैन । कमाई गरेको सबै रकम नगरपालिकामा पेस गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

वडा कार्यालयमा सेवाग्राही कस्ता–कस्ता समस्या बोकेर आउँछन् ?
सडक कालोपत्रे हुनुपर्यो, खानेपानीको व्यवस्था हुनुपर्यो, भूकम्पपीडित राहत रकम पाउनुप¥यो भनेर सेवाग्राही आउने गर्छन् । योसँगै नागरिकताको सिफारिस गर्न, जग्गाको साँध विवाद लगायत समस्या लिएर पनि आउँछन्् । केहीले त घुस दिने कुरा पनि गर्छन् । एउटा व्यक्तिको जग्गा अर्कैको नाममा सिफारिस गरिदिनुस्, लाखौँ पैसा दिन्छौँ भनेर बार्गेनिङ गर्न समेत आएका छन् । त्यस्तालाई पुलिस बोलाएर कारबाही गर्छु भनेर पठाएको छु । कसैलाई सम्झाइबुझाइ गरेर पठाएको छु । म स्वच्छ राजनीति गर्न आएको हुँ । त्यसैले कसैको दबाब र प्रभावमा परेर गलत निर्णय गरेको छैन । म राजनीतिमा पैसा कमाउन आएको होइन, जनताको सेवा गर्न आएको हुँ ।वडा कार्यालयबाट तलबबापत २२ हजार रुपैयाँ आउने गर्छ । त्यसको ५० प्रतिशत रकम वडाका गरिब, दुःखी, असहाय तथा अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएको छु । मैले आफ्नै तीनवटा घरेलु उद्योग सञ्चालन गरेको छु । मलाई त्यसैबाट दालभात खान पुग्छ । त्यसैले गलत क्रियाकलाप गर्नेविरुद्ध कडा रूपमा उत्रँदै आइरहेको छु ।

तपाईंको वडामा अधिकांश सडक कच्ची छन्, कालोपत्रे कहिले गर्नुहुन्छ ?
मेरो वडामा अधिकांश सडक कच्ची छन् । करिब १० किलोमिटर सडकमध्ये मुस्किलले एक किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । वर्षात्का बेला घुँडाघुँडासम्म हिलो जम्ने गर्छ । त्यसैले वडा कार्यालयले अहिले अधिकांश कच्ची सडकलाई कालोपत्रे गर्ने अभियान चलाएको छ । एक किलोमिटर सडक कालोपत्रे गर्न एक करोड रुपैयाँ लाग्ने रहेछ । वडा कार्यालयको वर्षभरिको बजेट नै ५० लाख रुपैयाँ छ । त्यसैले बजेट नहुँदा सडक कालोपत्रे गर्न सकिरहेका छैनौँ । अब वडाका सडकलाई राष्ट्रिय योजना तथा संसद्को विकास कोषमार्फत भए पनि कालोपत्रे गराउने योजना बनाएको छु । सकभर मेरो कार्यकालभित्रै सबै सडक कालोपत्रे गर्ने योजना बनाएको छु । हेरौँ, कति सफल भइन्छ । जनसेवा स्कुलदेखि भत्केको पार्टीसम्मका सात सय मिटर सडक केन्द्रीय योजनाअन्तर्गत परे पनि अझैसम्म कालोपत्रे हुन सकिरहेको छैन । त्यसलाई कालोपत्रे गर्न सडक विभाग तथा डिभिजन सडक कार्यालयसँग पहल कदमी गरिरहेको छु ।

तपाईंको वडामा ढल समेत व्यवस्थित हुन सकेका छैनन् नि ?
खानेपानी तथा ढल निर्माण गर्ने स्थानीय तह रहेको छ । जनताबाट महसुल उठाउने काम भने ढल तथा खानेपानी विभागले गरिरहेको छ । वडा कार्यालयले भर्खरै पांगा जनसेवा स्कुलदेखि गाखासम्म चार सय मिटर क्षेत्रमा ढल निर्माण गरेर सम्पन्न गरिसकेका छौँ । भत्केको पार्टी–पांगा–गाखा हुँदै सुन्दरीघाटसम्म ढल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । अब छिटै ढल निर्माण सँगै सुन्दरीघाटमा फोहोर प्रशोधनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन लागिरहेका छौँ । त्यो बनेसँगै वडामा ढलको स्थायी समस्या समाधान हुनेछ ।

बालकुमारी स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
हाम्रो वडामा रहेको स्वास्थ्यचौकीमा केही समयदेखि औषधिको समस्या देखिएको हो । केही समयअघिसम्म स्वास्थ्यचौकी केन्द्रीय सरकार मातहत नै हुन्थ्यो । अहिले स्थानीय तह मातहत ल्याएको छ । त्यसैले केही समयका लागि व्यवस्थापन गर्न समस्या देखिएको हो । नगरपालिकाले स्वास्थ्यचौकीमा आवश्यक औषधिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको छ । त्यस्तै, वडा कार्यालयले स्वास्थ्यचौकीमा चाहिने खानेपानी, विद्युत् टेलिफोन लगायत महसुल तिर्दै आइरहेको छ । नगरपालिकाले स्वास्थ्यचौकीका लागि हालसालै ५० हजार रुपैयाँ बजेट लिएर औषधि व्यवस्थापन गर्न लगाएका छौँ । त्यसैगरी, हाम्रो वडामा आयुर्वेदिक औषधालय समेत रहेको छ । त्यसलाई पनि व्यवस्थित रूपमा चलाउँदै आइरहेका छौँ ।

महिला तथा ज्येष्ठ नागरिकका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
कीर्तिपुर नगरपालिकाको नगरपरिषद् बैठकले ७० वर्ष पुगेका मधुमेह र प्रेसरका बिरामी ज्येष्ठ नागरिकलाई एक हजार पाँच सय स्वास्थ्योपचार खर्च उपलब्ध गराउँदै आएको छ । स्वास्थ्यभत्ता अहिले वडामा टाठाबाठा रोगीले मात्रै पाउँदै आइरहेको जनगुनासो आएको छ । त्यसैले वडाका ७० वर्ष नाघेका गरिब, असहाय रोगीको पहुँचमा भत्ता नपुगेको भान भइरहेको छ । वडा कार्यालयले स्वास्थ्यभत्ता आर्थिक हैसियत कम हुनेलाई मात्रै दिने पहलकदमी गरिराखेका छौँ । महिलाको आर्यआर्जनमूलक तालिम दिएर आत्मनिर्भर बनाउने प्रयत्न गरिराखेको छु ।

सार्वजनिक जग्गा अतिक्रमण भइराखेका छन्, रोक्ने कस्ता योजना छन् ?
वडाका केही स्थानमा सार्वजनिक जग्गा मिचिएको गुनासा आएका छन् । लामो समय जनप्रतिनिधि नहुनुको फाइदा उठाउँदै केही भूमाफियाले सार्वजनिक जग्गा हडपेर घर बनाएका छन् । वडा कार्यालयले सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई वडाले दिने सेवाबाट वञ्चित गराएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न उपभोक्ता समिति नै गठन गरिसकेका छौँ । वडामा सार्वजनिक जग्गा मिचेर घर बनाएका भूकम्पपीडितले राहत रकमबाट समेत वञ्चित गराएका छौँ ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । वडा कार्यालयले ४४ लाख रुपैयाँ कच्ची सडक ग्राभेल गर्न बजेट विनियोजन गरेको छ । त्यस्तै, खानेपानी, सडक मर्मतसम्भार, ढल निर्माण र महिला सशक्तीकरण लगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
म जनतालाई दुःख होइन, सुख दिन राजनीतिमा होमिएको हुँ । त्यसैले मेरोतर्फबाट जनतालाई कुनै पनि हालतमा दुःख दिन्न । वडामा एक रुपैयाँ समेत भ्रष्टाचार र हिनामिना हुन्न दिन्नँ । वडामा आवश्यक पर्ने सबै पूर्वाधार जुटाएर जनतालाई सुख र शान्तिपूर्वक बाँच्ने वातावरण बनाउने कोसिसमा जुटेको छु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २९ माघ २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App