८ वैशाख २०८१ शनिबार
राजनीति

ओली र दाहाल सहअध्यक्ष बन्न तयार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् । यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ । नयाँ सरकारमा दुई नेताले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।

‘सुरुमा पार्टी एकताको प्रारूप सार्वजनिक गर्नेछाैं अनि सरकार निर्माण गर्नेछौं र त्यसपछि मात्रै पार्टी एकीकरण घोषणा गर्नेछौं,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘पार्टी एकीकरणमा आशंका गर्ने ठाउँ हिजो पनि थिएन र भोलि पनि हुने छैन ।’ उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा जनताको म्यान्डेट नै दुई पार्टीबीच एकीकरण र राजनीतिक स्थिरताका लागि भएकाले त्यसबाट दुवै पार्टी दायाँबायाँ लाग्ने छैनन् ।
दाहाल निकट स्रोतका अब दुवै अध्यक्ष एकता प्रारूप निर्माणमा जुटेका छन् । त्यस क्रममा दुवै नेताबीच आलोपालो गरी बैठकको अध्यक्षता गर्ने सहमति भएको छ।

पार्टी एकीकरणअघि नै सभामुख र उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने भएको छ । ‘दुवै नेता नेतृत्वको व्यवस्थापन गर्दै अन्तिममा मात्रै एकीकरण गर्ने उद्देश्यसहित सक्रिय छन्,’ स्रोतले भन्यो । स्रोतका अनुसार दुवै नेता अन्य नेतालाई व्यवस्थापन गरेरमात्रै एकीकरणमा जान यसअघि नै सहमत भइसकेका थिए।

दुवै पार्टीको मार्ग निर्देशक सिद्धान्तलाई महाधिवेशनसम्म लगिने भएको छ । एमालेले अपनाउँदै आएको सैद्धान्तिक मान्यता जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले अपनाउँदै आएको माओवादलाई कम्तीमा एकीकरणसम्म संयुक्त प्रतिवेदनमै उल्लेख गर्न अध्यक्ष ओली र अध्यक्ष दाहाल सहमत भएका छन् । ‘पार्टी महाधिवेशनपछि दुईमध्ये एकलाई स्वीकार गर्ने वा अर्को नयाँ सैद्धान्तिक मान्यता बनाउने  भन्ने निक्र्यौल गरिनेछ,’ स्रोतले भन्यो । यद्यपि दुई दलबीच राष्ट्रिय पुँजी निर्माणसहितको समाजवाद उन्मुख अर्थतन्त्र तथा सामाजिक न्यायसहितको समावेशी लोकतान्त्रिक नयाँ सैद्धान्तिक मान्यता वा मार्ग निर्देशक सिद्धान्त बनाउने भन्नेमा छलफल जारी छ।

अध्यक्ष तहको एक तह घटुवा गरेर सहअध्यक्ष भए पनि दुवै पार्टीका स्थायी कमिटीलाई स्थायी कमिटीमै र पोलिटब्युरो सदस्यलाई पोलिटब्युरोमै समायोजन गरिनेछ । एमालेमा पदाधिकारी भए तापनि माओवादीमा पदाधिकारीको व्यवस्था छैन । यसबारे माओवादीले आन्तरिक छलफलपछि नयाँ निर्णय लिने सहमति भएको छ । माओवादी निर्णयपछि सबै तहका पदहरुको समायोजन गर्न दुवै नेता सहमत भएका छन् । सबै पदहरु ७० र ३० को अनुपातमा समायोजन गर्ने कि अन्य विकल्प खोज्ने भन्नेमा भने दुवै नेताबीच सहमति जुटिसकेको छैन।

नयाँ सरकार गठन हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा दुई अध्यक्षबीच एकीकरण प्रक्रियाबारे भएको सहमतिले दुवै पार्टीमा उत्साह छाएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘अध्यक्षज्यू प्रचण्डजीसँगको बैठकपछि उत्साहित हुनुभएको छ । एकीकरणका लागि सहमति नजिक पुगिसकेका छौं,’ ज्ञवालीले नागरिकसँग भने, ‘फागुनभित्रै पार्टी एकीकरण गरिसक्ने लक्ष्य छ ।’ उनका अनुसार माओवादी अध्यक्ष दाहालसँग भएको सहमतिबारे अध्यक्ष ओलीले पार्टी बैठकमा जानकारी दिएलगत्तै नयाँ निर्णय लिइनेछ।

गत असोज १७ गते पार्टी एकीकरण घोषणा गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेका कारण एमाले–माओवादी वाम गठबन्धनले झन्डै दुई तिहाई बहुमत हासिल गरेको थियो । दुई पार्टीले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा पनि भागबन्डा गरेका छन्।

प्रदेशसभामा मुख्यमन्त्री र मन्त्रीहरु चयनको प्रक्रिया अन्तिम अवस्थामा पुगिरहेका बेला ओली र दाहालले आपूmलाई एक पद घटाएर एकीकरण प्रक्रिया अघि बढाएका हुन् । ‘एकता संयोजन समितिको बैठकपछि पार्टीको आन्तरिक बैठक बस्नेछ,’ एमाले उपाध्यक्ष भीम रावलले नागरिकसँग भने, ‘एकता संयोजन समितिको बैठकमा भएको निर्णयलाई पार्टीमा लगेर अन्तिम निर्णय लिइनेछ ।’ उनका अनुसार एकता संयोजन समितिको बैठक केही दिनमै बस्नेछ। 

यस्तो छ सहमति
पार्टी एकताको प्रारुप दुई दिनभित्रै
सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनपछि एकीकरण घोषणा
एकीकृत पार्टीमा दुवै नेता सह–अध्यक्ष हुने
बैठकको अध्यक्षता आलोपालो गर्ने
सरकारको नेतृत्व पनि आलोपालो गर्ने
जबज र माओवादलाई महाधिवेशनसम्म सँगसँगै लैजाने
महाधिवेशनपछि नयाँ सैद्धान्तिक मान्यता बनाउने
दोस्रो तहको नेतृत्वको व्यवस्थापन खाका छिट्टै ल्याउने

प्रकाशित: १ फाल्गुन २०७४ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App