८ वैशाख २०८१ शनिबार
खेल

पारस क्रिकेटका उत्कृष्ट वर्ष खेलाडी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार राजधानीमा आयोजना गरेको उत्कृष्ट वर्ष खेलाडी पुरस्कारबाट पुरस्कृत खेलाडी र पदाधिकारी। तस्बिर / नागरिक

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोमबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले क्रिकेटको उत्कृष्ट वर्षखेलाडी २०७३ अवार्ड प्रदान गरेको छ।

विगत ९ वर्षदेखि राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरिरहेका पारसले सातौं राष्ट्रिय खेलकुदमा एपिएफलाई स्वर्ण पदक जिताएका थिए । धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि जिताएका पारस अहिले आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नामिबियामा छन् । फुटबलतर्फको अवार्ड गोलकिपर किरण चेमजोङले जितेका छन् । किरण हाल आई लिगका लागि भारतमा छन् । उनी मिनर्भ पन्जाब फुटबल क्लबबाट खेलिरहेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ३४ खेलका उत्कृष्ट खेलाडीहरूलाई अवार्ड प्रदान गरेको थियो । अवार्ड विजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी जितेका थिए । ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले २०१९ मा हुने १३औं दक्षिण एसियाली खेलकुद समयमै गर्न आफूहरू लागिपरेको भन्दै दक्षिण एसियाका अन्य देशमा जस्तो एउटा खेललाई मात्र माया गर्ने नभई नेपालमा सबै खेल र खेलाडीलाई समान सम्मान गर्ने परस्परा गरेको बताए।

फुपुल्हामु खत्री जुडोतर्फ उत्कृष्ट खेलाडी बन्दा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट भलिबल खेलाडी बनिन् । मायांका राणा लन टेनिसमा उत्कृष्ट घोषित हुँदा १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल निमा घर्तीमगर उसुमा उत्कृष्ट खेलाडी बनिन् । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ ब्याडमिन्टनमा उत्कृष्ट खेलाडी हुँदा स्विमिङको उत्कृष्ट वर्षखेलाडी शिरीष गुरुङ बने।

टेबलटेनिसमा स्यान्टु श्रेष्ठ उत्कृष्ट बन्दा बास्केटबलमा शतीश प्रधान वर्षखेलाडी बने ।  भारोत्तोलनमा दिनेश श्रेष्ठ, ट्रायथलनमा वसन्त थारू, स्क्वासमा अरहान्तकिशोर सिंह २०७३ सालको उत्कृष्ट खेलाडी बने । सुटिङमा अस्मिता राई उत्कृष्ट बन्दा सेपाकताक्रोमा अनिल गुरुङले अवार्ड जिते । बक्सिङमा सुशील थापा, एथलेटिक्समा कान्छीमाया कोजु, आर्चरीमा प्रेमप्रसाद पुन उत्कृष्ट बने । बुद्धिचालमा मदनकुमार कायस्थ, शारीरिक सुगठनमा महेश्वर महर्जन, साइक्लिङमा राजेश मगर, फेन्सिङमा सञ्जीव लामा, फुलकन्ट्याक करातेमा सुस्मी श्रेष्ठ, गल्फमा शुक्रबहादुर राई वर्षको उत्कृष्ट खेलाडी बने।

त्यस्तै हकीमा प्रदीप राजवंशी, जिम्न्यास्टिकमा राजु राई, ह्यान्डबलमा उमा राई, आइटिएफ तेक्वान्दोमा तुलसा राजथला, कबड्डीमा विजयकुमार चन्द, करातेमा परशुराम बास्तोला, खो–खोमा दिलकुमारी तामाङ, स्नुकर एन्ड विलियर्डमा दीपक मगर, तेक्वान्दोमा रेजिना कार्की र कुस्तीमा सरोज यादवले उत्कृष्ट खेलाडीको अवार्ड जिते । यसै वर्षबाट सुरु गरेको वर्ष पत्रकार अवार्डबाट श्याम चित्रकार पुरस्कृत भए । उनलाई १५ हजार रुपियाँ नगद प्रदान गरियो।
 


 

 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App