७ वैशाख २०८१ शुक्रबार
खेल

मध्यक्रम जम्दा नेपाललाई सफलता

काठमाडौं – सन्दीप लामिछानेको ५ विकेट तथा युवा खेलाडी रोहितकुमार पौडेल, आरिफ शेख र कप्तान पारस खड्काको ब्याटिङप्रेरित नेपालले सोमबार केन्यालाई ३ विकेटले हराउँदै आइसिसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना कायमै राखेको छ।

विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । १ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो।

जितसँगै प्रतियोगितको ४ मध्ये ३ खेलमा जित हात पारेको नेपालले ६ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा छ भने समान ६ अंक नै जोडेको क्यानडा रनरेटका आधारमा शीर्ष स्थानमा छ । सोमबार क्यानाडा नामिबियासँग १७ रनले पराजित भएको थियो । जितसँगै नामिबियाले पनि आफ्नो सम्भावना कायम राखेको छ । नेपालले अब बुधबार क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ भने नामिबियाले युएईसँग प्रतिस्पर्धा गर्नेछ । युएईले ओमानलाई ४६ रनले हराएको थियो । नामिबिया र युएईको सामान ४ अंक छ । नामिबिया र युएई जसले जिते पनि ६ अंक हुने भएकाले शीर्ष दुईमा रहन नेपालले क्यानाडालाई पराजित गर्नैपर्ने हुन्छ।

अंकतालिकाको शीर्ष दुई टोलीले जिम्वाब्बेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । डिभिजन–२ को शीर्ष दुईले वेस्ट इन्डिज, जिम्वाब्बे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछ । यसका शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन् । साथै नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछ।

एक समय धराशयी बनेको नेपालको इनिङलाई पारस खड्काले सम्हालेका थिए । ओपनिङ ब्याट्सम्यानको खराब प्रदर्शनले सोमबार पनि निरन्तरता पाउँदा नेपालले ५.६ ओभरमा १४ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । त्यसपछि युएईविरुद्ध अर्धशतक पूरा गरेका पारस र शरद भेषावकरले चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे । १८औं ओभरको पहिलो बलमै पारस आउट भएपछि शरद पनि लामो समय क्रिजमा टिक्न सकेनन् । पारसले ४४ बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाउँदा शरदले ५७ बलमा १ चौकासहित १९ रन जोडे।

त्यसपछि यु–१९ टोलीका रोहितकुमार र आरिफले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे । नेपाललाई अन्तिम ओभरमा जितका लागि ६ बलमा ६ रनको आवश्यकता थियो । क्रिजमा रहेका सोमपाल कामी नयाँ ब्याट्सम्यान थिए भने रोहितकुमार चौथो बलमा रनआउट भएपछि नेपाल दबाबमा परेको थियो । २ बलमा २ रनको अवश्यकता भएको अवस्थामा सोमपालले पहिलो बलमा कुनै रन लिएनन् । एक बलमा २ रन आवश्यकता रहेको बेला सोमपालले २ रन लिँदै नेपाललाई महत्वपूर्ण जित दिलाएका थिए।

आरिफले ८२ बलमा २ चौकासहित ४२ रन बनाउँदा रोहतिकुमारले ८६ बलमा १ चौकासहित ४७ रनको योगदान गरे । सोमपाल ५ रनमा अविजित रहे । नेपालले सोमबार विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा अनिलकुमार शाहलाई मौका दिएको थियो । तर, अनिलकुमार पनि ओपनिङमा आफ्नो छाप छोड्न असफल रहे । उनी पहिलो बलमै आउट भएका थिए।

त्यसअघि लेग स्पिनर सन्दीप लामिछानेले पाँच विकेट लिएको इनिङमा केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । प्रतियोगिताको एकै इनिङमा पाँच विकेट लिने सन्दीप तेस्रा खेलाडी हुन् । यसअघि ओमानका बिलाल खान र युएईका रोहन मुस्तफाले एकै इनिङमा पाँच विकेट लिएका थिए । जारी प्रतियोगितामा १४ विकेट लिइसकेका सन्दीप धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।

सन्दीपबाहेक नेपालका शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामीले १÷१ विकेट लिएका थिए । केन्याका लागि ओपनर इरफान करिमले सबैभन्दा धेरै ४२ रन बनाए । करिमले ओबान्डासँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । जुन केन्याको इनिङमा बनेको सबैभन्दा ठूलो साझेदारी हो । कोलिन ओबुया २७ रन बनाए । नेल्सन ओधिएम्बो २४ र शेम एनगोचे २३ रनमा अविजित रहे । दुई नवौं विकेटका लागि ३८ रनको अविजित साझेदारी गरेका थिए ।

नेपालले अब बुधबार क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । नामिबिया र युएईको सामान ४ अंक छ । नामिबिया र युएई जसले जिते पनि ६ अंक हुने भएकाले शीर्ष दुईमा रहन नेपालले क्यानाडालाई पराजित गर्नै पर्ने हुन्छ।

अंक तालिका

देश        खेल      जित      हार      बराबर        अंक        रनरेट
क्यानडा    ४         ३          १          –              ६         १.११६
नेपाल      ४          ३         १           –               ६        –०.१५८
युएई        ४          २         २          –                ४        १.२२१
नामिबिया   ३         २         १            –               ४        ०.१०५
ओमान      ४          १         ३           –               २        –०.६२९
केन्या        ३         ०         ३            –               ०         –१.८५३

 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App