७ वैशाख २०८१ शुक्रबार
कला

राेजीका एल्बम र पुस्तक एकैसाथ

काठमाडौं – बेलायतमा बस्दै आएकी गीतकार तथा साहित्यकार रोजी लाबुङ राईको दुई एल्बम र एक पुस्तक सार्वजनिक भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल र गीतकार उन्नती बोहरा ‘शिला’लगायतले एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’एकसाथ विमोचन गरे ।

कार्यक्रममा गीतकार डा. बरालले रोजीको क्षमतालाई आफूले गीत सुन्दा र पुस्तक अध्ययन गर्दा थाहा पाएको बताए । ‘उहाँको पहिलो एल्बमलाई पनि मैले नै विमोचन गर्ने मौका पाएको थिएँ र अहिले पनि यो अवसर जुरेको छ,’ उनले भने, ‘उहाँलाई मैले साहित्यमा निरन्तरता दिन आग्रह गरेको थिएँ । विदेशमा बसेर पनि साहित्य र गीत संगीतलाई उहाँले गर्नु भएको मायालाई हामीले स्वागत गर्नैपर्छ ।’ अर्की गीतकार उन्नतिले रोजीको गीत संगीतमा सबै किसिमका भाव र लेखाइमा परिपक्कता पाएको बताइन् ।

गीतकार रोजी विदेशी भूमिमा भएता पनि आफूले लेख्नलाई रोक्न नसकेको बताइन् । ‘गीत लेख्नमा छुटै किसिमको आनन्द छ । यसले मलाई उर्जा थप्ने काम पनि गरेको छ,’ रोजीले भनिन् ।

रोजीको एल्बम ‘रोजाई’मा ‘माया दिए’, ‘ओ परदेशी’, ‘भुल गरे’, ‘म सधै सधै’, ‘अब म मर्छु होला’, ‘सुनसान रातको’ र ‘डन्ट लाइक योर बानी’ लगायतका गीत समावेश छन् । गीतमा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेशपायल राईको स्वर तथा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, ताराप्रकाश लिम्बु र महेश खड्काको संगीत छ ।कार्यक्रममा ‘अन्जान थिएँ’बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा राजिव समरको नृत्य, मिलन शंकरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन छ ।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App