७ वैशाख २०८१ शुक्रबार
समाज

टिपरका कारण ज्यान गुमाउने धेरै

अरनिको राजमार्गको लामीडाँडानजिकै दुर्घटना भएको टिपर। तस्बिर/नागरिक

बनेपा – काभ्रेपलाञ्चोक जिल्लामा टिपरकै कारण हरेक महिना २ देखि ५ वटासम्म दुर्घटना हुनेगरेको छ । टिपरका कारण अकालमा ज्यान गुमाउनेमा मोटरसाइकल–स्कुटर चालक र पैदलयात्री बढी छन् । पछिल्लो घटनामा भक्तपुरबाट ताथली हुँदै बनेपातर्फ आउँदै गरेको बा४ख ३३२६ नम्बर टिपरले अघिल्लो शनिबार बनेपा–१ नाला, अमालडोल सडकमा हिँडिरहेका सूर्यविनायक नपा–१० खड्कागाउँका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो।

त्यसपछि सडकमा हिँड्दा समेत टिपरकै कारण असुरक्षित भएको भनी स्थानीय आन्दोलनमा उत्रिए । उनीहरुले प्रहरीलाई ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर सुनीलजंग शाहका तीनवटा दाँत भाँच्चिए ।
बागमती टिपर व्यवसायी संघले वार्षिक साधारणसभामा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुकै सामुन्ने अन्य सवारीसाधन र पैदलयात्रुको सुरक्षामा संघ गम्भीर रहेको उद्घोष गरेकै भोलिपल्ट बिपी राजमार्गमा टिपरकै ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भयो।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष ०७४–७५ को साउनदेखि टिपरकै कारण हालसम्म २४ वटा सडक दुर्घटना भएका छन्, जसमा ८ जनाले अकाल ज्यान गुमाएका छन्।

यी घटना प्रतिनिधिमूलक हुन् । अधिकांश सवारी दुर्घटनामा तीव्र गतिमा कुद्ने टिपरहरु नै कारक देखिँदै आएको छ । ‘कम्पनीहरुले पछिल्लो समय टिपर सानो ठाउँमा घुमाउन मिल्ने, हेभी ड्युटी गियर बक्स, बलिया एक्सल र बढी भार बोकेर समेत दौडाउन मिल्ने बनाइदियो । यसबाट चालक बेपरवाह टिपर कुदाउने भइदिए । अनि दुर्घटना पनि बढ्न थाल्यो’, २५ वर्षसम्म टिपर चलाएका एक काभ्रेली चालकले भने।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष ०७४–७५ को साउनदेखि टिपरकै कारण हालसम्म २४ वटा सडक दुर्घटना भएका छन्, जसमा ८ जनाले अकाल ज्यान गुमाएका छन् । साउनमा ३, भदौमा २, असोज–कात्तिकमा ३–३, मंसिर–पुसमा ५–५ र माघमा ३ वटा दुर्घटना टिपरकै कारण भएको छ।

‘प्रायः दुर्घटनामा टिपरले स्कुटर–मोटरसाइकल र पैदलयात्रुलाई बढी हानि पु¥याएको पाइएको छ । सुरक्षापूर्वक टिपर चलाउन चालकका साथै समितिहरुलाई राखेर बेलाबखत सचेत गराउँदै आएका छौं तैपनि दुर्घटनाको दर घटेको छैन’, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक शेखरजंग मल्लले भने।

साउनदेखि माघसम्मका २४ वटा दुर्घटनामा टिपरले ८ जनाको ज्यान लिइसकेको उनको भनाइ छ । ‘यीमध्ये ४ जना पैदलयात्रु छन् । मोटरसाइकल १७ वटा, स्कुटर २ का साथै बस, जिप, कार र मिनीट्रक गरी ५ वटालाई टिपरले ठक्कर दिँदा मानवीय र यान्त्रिक क्षति पु¥याएको छ’, मल्लले थपे।

सोही कार्यालयको राजस्व संकलन तथ्यांकले पनि आर्थिक वर्ष ०७२÷७३ को तुलनामा ०७३÷७४ मा जरीवानाबापत साढे ८६ लाख रुपैयाँ राजस्व बढी संकलन भएको देखाउँछ । राजस्व बढ्नुमा टिपरबाट हुने दुर्घटना र गल्तीबाट असुली हुने रकम कारण रहेको ट्राफिकको भनाइ छ । ‘आर्थिक वर्ष ०७२÷७३ मा १ करोड ८ लाख १७ हजार रुपैयाँ जरिवाना असुली भएकोमा अघिल्लो वर्षमा १ करोड ९४ लाख ५७ हजार रुपैयाँ असुली भएको छ । यसको प्रमुख हिस्सा टिपरबाट असुलिएको जरीवाना रहेको छ’, मल्लले भने।

मल्लका अनुसार टिपर दुर्घटनामा यान्त्रिक गडबडीभन्दा पनि चालककै लापरबाही बढी हुने गरेको छ । ‘अधिकांश दुर्घटनामा चालककै लापरबाही देखिएको छ । एक अध्ययनले दुर्घटनाको ८० प्रतिशत कारक टिपर चालक ै देखाएको छ’, उनले थपे।

वागमती टिपर व्यवसायी संघले टिपरबाट हुने दुर्घटना र मानवीय क्षतिमा आफूहरुको मात्रै नभई अन्यत्र संघसंस्थामा आबद्ध भई यहाँ सञ्चालित टिपर पनि दोषी रहेको बताउँदै आएको छ । ‘विगतमा हाम्रो समितिका मात्रै टिपर सञ्चालन हुन्थे । चालक र टिपर धनी दुवैलाई तालिम दिन्थ्यौं, सम्झाइबुझाइ गथ्र्यौं तर अहिले जताततैका टिपर काभ्रेमा गुड्न थालेका छन् । हाम्रा सदस्यलाई समितिको डर हुन्छ तर बाहिरबाट आउनेलाई केको डर ?’, संघका कार्यालय सचिव प्रकाश कायस्थले भने।

यतिखेर काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका खानी, खोला र क्रसरबाट ढुंगा, गिटी, बालुवालगायतका निर्माण सामग्री ढुवानीमा बागमतीका साथै नेपाल ट्रक तथा टिपर व्यवसायी संघ कलंकी र भक्तपुर ट्रक व्यवसायी संघमा आबद्ध टिपर र मिनीटिपर गुड्दै आएका छन् । वागमती संघमा मात्रै ७ सयभन्दा बढी टिपर आवद्ध रहेको संघले जनाएको छ । ‘हामी वर्षको दुईपटक टिपर चालकलाई तालिम दिन्छौं । यातायात व्यवस्था विभागबाट प्रमाणित भई आएपछि मात्रै हेभी लाइसेन्स भएका चालकलाई परिचयपत्र जारी हुने व्यवस्था मिलाएका छौं । यसबाट टिपर साहुले जो पायो त्यही र लाइट गाडीका लाइसेन्सधारी व्यक्तिलाई चालक राख्ने क्रम घटेको छ । बिस्तारै सुधार गर्दैछौं’, कायस्थले भने।

टिपरलाई ‘टाइम कार्ड’
टिपरका कारण बढ्दो सडक दुर्घटना र जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले टिपर ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । यसका लागि प्रशासन, स्थानीय नगरपालिका र टिपर व्यवसायीसहितको बैठक आइतबार बनेपामा आयोजना गरिएको छ।

‘तालिम, प्रशिक्षण र सम्झाइबुझाइ गर्दासमेत टिपरका कारण हुने दुर्घटना नघटेपछि टाइम कार्डको उपाय ल्याएका हौं । कार्ड लागू भएपछि खाली र भार बोकेका टिपरको गति कम हुने विश्वास गरेका छौं’, इन्सपेक्टर मल्लले भने ।
टिपर व्यवसायीका साथै सडक सरोकारवाला निकायसँग निरन्तरको छलफलपछि यस्तो व्यवस्था गर्ने निधोमा पुगेको उनको भनाइ छ । ‘अधिकांश दुर्घटनामा टिपरको तीव्र गति नै मुख्य कारक देखियो । साहु पनि धेरै ट्रिप सामान ढुवानी गरेर कमाउन चाहने अनि चालक पनि भत्ताको लोभमा हौसिने, यो क्रम नियन्त्रण गर्न जरुरी देखेका थियौं’, मल्लले थपे।

प्रहरी प्रधान कार्यालय र मध्यक्षेत्र ट्राफिक प्रहरी कार्यालयले समेत टाइम कार्डको व्यवस्था लागू गर्न निर्देश दिएअनुसार गृहकार्य सकिएको पनि मल्लको भनाइ छ ।  ‘बिपी राजमार्गमा साँगादेखि मंगलटार, अरनिको राजमार्गमा साँगादेखि दोलालघाट र साँगादेखि बनेपा हुँदै पनौती फिडर रोडमा टाइम कार्ड लागू हुनेछ । यसलाई पालना नगर्ने चालकलाई जरीवानासहित कानुनी कारबाही गर्छौं’, उनले भने।


 

प्रकाशित: १ फाल्गुन २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App