coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप वैशाखमा

आगामी वैशाखमा आयोजना गरिने माइभ्याली गोल्डकपको चौथो संकरणका लागि तयार गरिँदै गरेको इलामको ठूलो टुँडिखेल। तस्बिर : भीम/नागरिक

इलाम – चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप आउँदो २०७५ वैशाख ६ देखि १५ सम्म आयोजना गरिने भएको छ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालन हुने पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगितामा नेपाल, भारत र अन्य देशका गरी १० प्रतिष्ठित टिमको सहभागिता रहने छ।

आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले प्रतियोगिताको तयारी भइरहेको जनाएका छन् । क्लब अध्यक्ष धीरेन चेम्जोङले प्रतियोगिताका लागि प्रायोजकको खोजी, आर्थिक व्यवस्थापन, मैदान तयारी र सहभागी टिमलगायतका विषयमा तयारी गरिरहेको जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि समय निर्धारण गरिसकेको उनले बताए।

प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि पनि यो पटक १ लाख रुपैयाँ थपेर ५ लाख पु¥याउने आयोजकको लक्ष्य छ । ‘यो पटक प्रतियोगिताको तयारी अझ धुमधाम गर्नु आवश्यक छ,’ अध्यक्ष चेम्जोङले भने, ‘उपविजेता र अन्य टिमले पाउने पुरस्कार राशि पनि बढ्ने छ तर कति कायम हुनेछ भन्ने टुंगो लागिसकेको छैन ।’ गतवर्षका संस्करणहरूमा विजेता टिमको पुरस्कार राशि नगद ४ लाख र उपविजेताको अढाई लाख रुपैयाँ थियो।

प्रतियोगितामा भाग लिने खेलाडीलाई सहज बनाउन यो पटक ठूलो टुँडिखेलमा दुबो रोपेर नरम बनाइएको छ । वर्षायाममा रोपेको दुबो जगाउन अहिले मैदानमा सिँचाइ गरिँदैछ । सदरमुकाममा खानेपानीको चरम अभाव भइरहेका बेला नजिकैको बजारबाट बग्ने ढलको पानी फिल्टर गरेर मैदानमा सिँचाइ गरिँदैछ । ‘अघिल्ला वर्षहरूभन्दा गतवर्ष मैदान निकै राम्रो थियो,’ अध्यक्ष चेम्जोङले भने, ‘यो वर्षका लागि मैदान अझ सफ्ट बनाइएको छ, खेलाडीका लागि मात्र होइन, यहाँ आइपुग्ने जोकोहीले हरियो खेलमैदान देख्न सक्छन्।’

प्रथम संस्करणयता मैदानका लागि ३५ लाख रुपैयाँ खर्च भइसकेको आयोजकले जनाएको छ । दर्शकका लागि प्यारापिट नभएकाले हरेक वर्ष ५ देखि ७ लाख रुपैयाँसम्म खर्चेर अस्थायी प्यारापिट बनाउनुपरेको जिल्ला फुटबल संघले जनाएको छ । ‘हामीले पटक–पटक प्रयास गर्दा पनि स्थायी प्यारापिट बनाउन सकेका छैनौं,’ जिल्ला फुटबल संघका पूर्वअध्यक्ष निरोज खड्गीले भने, ‘बर्सेनि बाँसको अस्थायी प्यारापिट बनाउँदै भत्काउँदै गर्नुपरेकाले लाखौं रुपैयाँ त्यसमैमा खेर जाने गरेको छ ।’ उनले एकैपटक लगानी गर्ने ठूलो रकम नभएकाले स्थायी प्यारापिट निर्माण गर्न नसकेको जनाए । ठूलो टुँडिखेल नेपाली सेनाको मातहत रहेकाले पनि भौतिक संरचना निर्माणमा प्रतियोगिता आयोजकलाई समस्या हुने गरेको छ।

माइभ्याली गोल्डकप जिल्लाको निकै आकर्षक प्रतियोगिता मानिन्छ । हजारौं दर्शकले अवलोकन गर्ने प्रतियोगिताको तयारी धमाधम चलिरहेको छ । श्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, नेपाली सेना, झापा ११ लगायत देश र देशबाहिरका प्रतिष्ठित टिमले सहभागिता जनाउने भएकाले प्रतियोगिताप्रति दर्शकको आकर्षण चुलिने गरेको छ । प्रतियोगिताको दोस्रो र तेस्रो संस्करणको उपाधि झापा ११ ले उचालेको थियो भने पहिले संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको थियो।

कबोलेको सहयोग आएन
गतवर्ष इलाम आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले माइभ्याली गोल्डकपका विजेताले पाउने पुरस्कारको राशि ५ लाख रुपैयाँ पु¥याउने उद्घोष गरेका थिए । गतवर्ष चैत १७ देखि २६ सम्म चलेको तेस्रो संस्करणको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विष्टले भनेका थिए–आउँदो वर्ष यो प्रतियोगिताको प्रथम पुरस्कार राशि ५ लाख रुपैयाँ पु¥याउने प्रतिबद्धता गर्दछु।

तर, उनको भनाइ कार्यान्वयनबारे आयोजक माइभ्याली फुटबल क्लब अहिलेसम्म बेखबर छ । एन्फाअन्तर्गत वर्षभर सञ्चालन गरिने आयोजनाको सूची रातो किताबमा यो प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख रुपैयाँ मात्रै छ । तर, विजेताले पाउने पुरस्कार ४ लाख रुपैयाँ पुगेका बेला सदस्य–सचिव विष्टले ५ लाख रुपैयाँ पु¥याउने घोषणा गरेपनि अहिलेसम्म त्यसको ‘फलोअप’ हुन नसकेको माइभ्यालीले जनाएको छ। ‘हामी आउँदो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने तयारीमा छौं,’ अध्यक्ष चेम्जोङले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले कबोलेको रकम चाहिँ अहिलेसम्म कार्यान्वयन भएको छैन।’

राखेप सदस्य–सचिव विष्टले माइभ्याली गोल्डकपको पुरस्कार राशि थप गर्नेगरी रातो किताबमा बजेट समावेश गर्ने बताए । ‘आउँदो वैशाखमै प्रतियोगिता हुने हो भने आयोजकलाई पुरस्कार राशिको रकम प्रस्ताव परिषद्मा पठाउन भनिदिनोस्, कार्यान्वयन गर्नेछौं,’ विष्टले नागरिकन्युजसँग भने।

हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दा लाग्ने रकमको स्रोत केही प्रायोजक र गेटमनीबाहेक चन्दा संकलन नै हुने गरेको छ । तर, दाताले कबोलेको रकमसमेत उपलब्ध नगराउँदा आयोजक सधैं अन्योलमा छ । यसअघिका प्रतियोगितामा पनि सहयोग घोषणा गर्ने तर रकम दिन चाहिँ नदिने परम्पराले आयोजक आजित भएको थियो।


 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App