७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिनबीच फोनवार्ता

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको छ। 

ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मस्कोबाट रसियाकै उत्तरपश्चिमी क्षेत्रका लागि उडेको साराटोभ विमान कम्पनीको ७०३ नम्बरको उडान मस्कोबाट उडेको केही समयमा दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेको उल्लेख छ।

विमान दुर्घटनामा विमानमा रहेका सम्पूर्ण (छ चालकदलका सदस्य र ६५ जना) यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ। अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तजनमा समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ। 

अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनाका बिषयमा अनुसन्धानका लागि आवश्यक परे रसियाली अधिकारीलाई सघाउन अमेरिका तयार रहेको बताएको बुझिएको छ । 

यसैबीच रसियाली राष्ट्रपति पुटिनले प्यालेष्टाइन तथा इजरायलबीच शान्ति प्रक्रियाका सम्बन्धमा सोमबार नै प्यालेष्टिनी उच्च अधिकारी तथा राष्ट्रपति मोहम्मद अब्बासलाई भेट्न लागेको बताएका थिए। प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिवार्ताका लागि खट्नुपर्ने समय आएको बताएको विज्ञप्तिमा जनाइएको छ। 

गत डिसेम्बरमा अमेरिकी ट्रम्प प्रशासनले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेको थियो। यसै अनुरुप इजरायलको तेल अभिभमा रहँदै आएको अमेरिकी दूतावासलाई जेरुसेलममा सार्ने घोषणा गरेको थियो। यसै बिषयलाई कायान्वयनमा लैजान अमेरिकी विदेशमन्त्री टिलरसन अहिले मध्यपूर्वको भ्रमणमा छन्। 

प्यालेस्टिनीहरूले पनि जेरुसेलमलाई आफ्नो राजधानीका रूपमा दावी गर्दै आएका छन्। जेरुसेलमबारे अमेरिकी घोषणाको विश्वभरबाट आलोचना भएको छ। प्रतिक्रियामा वासिङ्टनले आफ्नो तर्फबाट प्यालेष्टिनी शरणार्थीलाई दिँदै आएको आर्थिक सहयोगलाई रोक्का गरेको छ। अमेरिकाले प्यालेस्टिनीले प्रस्ताव गरेको शान्ति योजना मान्न दवाव दिन सहयोग रोक्का गरेको हो। तर प्यालेस्टाइनले अमेरिकी प्रस्तावलाई अस्वीकार गरिरहेको छ। 

सोमबार भएको फोनवार्तामा ट्रम्प र पुटिनबीच कोरियाली प्रायद्वीपलाई आणविकविहीन बनाउने लगायतका आपसी चासोका अन्य बिषयमा पनि कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। 

प्रकाशित: १ फाल्गुन २०७४ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App