१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

सुर्खेत – नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

मुख्यमन्त्री चयन अघि नै एमालेले समयावधि तोक्न माग गरेपछि प्रदेश सरकार गठन केही पर धकेलिने देखिएको छ। एमालेले मुख्यमन्त्री चयन अघि नै सरकारको समयावधि, मन्त्रीमण्डल र मन्त्रालयको भागबण्डा तथा सरकारमा सहभागी हुनेहरुको बरियताका बारेमा माओवादी केन्द्रले स्पष्ट धारणा राख्नुपर्ने प्रस्ताव गरेको छ। ‘प्रदेशसभाका ४० मध्ये २० जना सांसद हामी छौं, पूरै अवधि नेतृत्व विहिन भएर बस्नु जनताको मतको अपमान हो’ एमालेका एक सांसदले भने, ‘केन्द्रमा भएको सहमतिलाई सम्मान गर्दै आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव हामीले गरेका हौं।’

एमालेले आलोपालो सरकारको नेतृत्वको प्रस्तावको जवाफ नआएसम्म मुख्यमन्त्री चयन र सरकार गठन प्रक्रियालाई अगाडि नबढाउने बताएको छ। ‘मुख्यमन्त्री चयन अघि नै माओवादी केन्द्रलाई हामीले राखेका प्रस्तावको स्पष्ट जवाफ दिन आग्रह गरेका छौं’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यी विषयको टुङ्गो लागेपछि मात्रै मुख्यमन्त्री चयन र सरकार गठनको प्रक्रियामा अघाडि बढ्छौं।’

वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको थियो। मुख्यमन्त्री चयनअघि नै एमालेबाट आएको आलोपालो प्रस्तावलाई माओवादी केन्द्रले ‘गम्भीर रुपमा’ लिएको बताएको छ। ‘केन्द्रमा दुई पार्टीबीच भएको सहमति अनुसार यो प्रदेशको नेतृत्वको जिम्मेवारी हामीले पाएका छौं’ माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले भने, ‘केन्द्रमा दुई पार्टीबीच भएको सहमति विपरित आलोपालोको प्रस्ताव आउनुले हामीलाई गम्भीर बनाएको छ।’

उनले दुई दिनयताका छलफलमा एमालेले आलोपालो सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँड, मन्त्रीहरुको बरियतालगायतका विषय उठाउने गरेको बताए। उनले केन्द्रमा भएको सहमतिलाई दुबै दलले पालना गर्नुपर्ने बताए। ‘केन्द्रमा भएको सहमति अनुसार हामी ६ नम्वर प्रदेशमा सरकार गठनको गृहकार्यमा छौं’ उनले भने, ‘यहाँ छलफल र सहमति गरेर पनि कुथै अर्थ हुँदैन्।’ उनले मन्त्रालय बाँडफाँडका विषयमा स्थानीय स्तरमा छलफल गर्न सकिने भएपनि स्थिर सरकारका लागि पाँच वर्षसम्म प्रदेशको नेतृत्व माओवादीले नै गर्ने दावी गरे।

प्रकाशित: १ फाल्गुन २०७४ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App