१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुप विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका सवारी साधन दुरूपयोग गरिएको भन्दै अखिल क्रान्तिकारीले थालेको आन्दोलनको भोलिपल्टै सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी र धर्ना सुरू भएको छ। सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले पुनः सोमबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै धर्ना सुरू गरेको छ। 

उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार दिजराज भट्टले आंगिक क्याम्पस समायोजनको विषय विवादमा ल्याएर आफुहरूको भविष्य सकने खेलमा लागेको संघर्ष समितिका पदाधिकारीले गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन्। संघर्ष समितिका सह–संयोजक राजेन्द्र भट्टले संघर्ष समितिले समायोजन सम्बन्धी अघि सारेका माग सम्बोधन गर्न विश्वविद्यालयका पदाधिकारीले नमानेपछी फेरि आन्दोलनमा उत्रिनु परेको बताए।
 
विश्वविद्यालय र आंगिक क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन्, सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेका छन्।

गत पुस २९ गते महेन्द्रनगरमा बसेको सुदूरपश्चिम विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० र २०७१ असोज ६ गते पछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सहसंयोजक भट्टले बताए। 

समायोजनका नाममा विश्वविद्यालयले शिक्षक, कर्मचारीको विस्थापितको काम गरेकाले पनि त्यसको विरुद्धमा उत्रिनु परेको बताए। पुस २९ गते विश्वविद्यालय सभाबाट भएका निर्णय सच्याउन समेत संघर्ष समितिले माग गरेको छ। २०७० भदौँ  ३० मा विश्वविद्यालयको सिनेटले जयपृथ्वी क्याम्पस बझाङ्ग र २०७१ असोज ६ गते कैलाली बहुमुखी क्याम्पस सहित ७ नम्बर प्रदेशका बाँकी १३ क्याम्पस आंगिक बनाउने निर्णय गरेको थियो। आंगिक क्याम्पस संचालनका लागि गत असोज २ गते सरकारले ४४४ शिक्षक कर्मचारीको दरबन्दी स्वीकृत गरेपनि विश्वविद्यालयको हालै सम्पन्न भएको सिनेटले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेर बहादुर देउवालाई गुमराहमा राखेर विश्वविद्यालयका केही पदाधिकारीले षड्यन्त्र रचेको संघर्ष समितिले आरोप लगाएको छ।

विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्रशासक गोविन्द वल्लव पन्तले १५ वटा प्रस्तावित आंगिक क्याम्पसका शिक्षक, कर्मचारीको मागका विषयमा सिनेटबाट नीति परिर्वतन गर्नुपर्ने बताएका थिए। माग पुरा नहुन्जेलसम्म जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पनि आफूहरु तयार गरहेको संघर्ष समितिले जनाएको छ। 

अखिल क्रान्तिकारीले पनि संगठनले विश्वविद्यालयले क्याम्पसमा माग पुरा नगरुन्जेल गाडीका चाबी नदिने अडान राखेको छ। क्रान्तिकारीले आइतबार विश्वविद्यालयका विभिन्न पाँच जिपका साँचो आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: १ फाल्गुन २०७४ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App