७ वैशाख २०८१ शुक्रबार
कला

सुरु भयो बक्स अफिस

काठमाडौं– नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागू हुने गरी बक्स अफिस प्रणाली इ–टिकेटिङ व्यवस्था सुरु गरेको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलन आयोजना गरी बक्स अफिस प्रणालीबारे जानकारी दिएको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरू प्रदीपकुमार उदय, आकाश अधिकारी उपस्थित थिए ।

बक्स अफिस सिस्टम बोर्ड मातहतमा रहने छ । जसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यकाबाहिर सञ्चालनमा रहेका सिनेमा हलमा सुबिसुले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो ।

बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा सूचना तथा सञ्चार मन्त्री बस्नेतले  खुशी व्यक्त गरे । चलचित्रकर्मी, चलचित्र क्षेत्रसँग आवद्ध रहेका व्यक्तिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष बक्स अफिस प्रणालीले फाइदा पुग्ने मन्त्रीको कथन थियो । बस्नेतले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि जानकारी दिए ।

फागुनदेखि उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स सिनेमा हलमा सुरु हुने इ–टिकेटिङ सिस्टम वैशाख १ देखि सम्पूर्ण सिनेमा हलमा र साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलमा इ–टिकेटिङ सिस्टम जडान गरिने बोर्ड अध्यक्ष निकिता पौडेलले जानकारी गराइन् ।

बक्स अफिस प्रणाली पूर्ण रूपमा लागू भएपछि चलचित्रका निर्माताहरूलाई मात्र हैन सिनेमा हल सञ्चालक, वितरकहरूलाई समेत फाइदा पुग्ने बोर्ड अध्यक्ष पौडेलको दाबी थियो ।बक्स अफिस प्रणालीद्वारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउने बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जनले बताए ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App