coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

दिप्रुङ गाउँपालिकाको छोरम्बुबाट तराई लैजान कार्टुनमा प्याक गरिएको सुन्तला। तस्बिर : दमन/नागरिक

खोटाङ – कतिपय किसानका बगानमा लटरम्म सुन्तला फल्छन्, मूल्य पाउँदैन । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसानलाई भने सुन्तलाका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले बगानबाटै सुन्तला उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै ०७० सालयता घोर्लेमा उत्पादित सुन्तला टयाक्टरमार्फत उदयपुरको बेलटार, गाईघाट, लहान, इटहरी, धरान, बिराटनगर, झापासम्म पुग्ने गरेको छ । मंसिरमा बैनास्वरुप भुक्तानी दिने ठेकेदारले सुन्तला टिपिसकेपछि किसानलाई सबै रकम चुक्ता गर्ने गरेका छन् । चैतसम्म बोटैमा रहने सुन्तला सडक विस्तारका कारण पुसमै बजार पुग्न थालेको शिक्षक प्रेम राईले बताए।

खोटाङका अन्य ठाउँमा एक–दुई किसानले मात्र व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका पाइन्छन् तर, घोर्लेको परिचय फरक छ । त्यहाँ ‘सिंगो गाउँ’मा सुन्तला खेती लगाइएको छ । चिसापानी बजार नजिक पर्ने घोर्लेबासीको मुख्य बाली नै सुन्तला हो । घोर्लेमा सबै ३५ घर परिवार सुन्तलाको आम्दानीमा निर्भर छन् । ती सबै घरमा पुस्तौंदेखिको सुन्तला बगान छ । घोर्लेबाट वार्षिक २० देखि २२ लाखभन्दा बढीको सुन्तला निर्यात हुने गरेको शिक्षक राईले बताए । घोर्लेका एकै घरका किसानले सुन्तलाबाट वार्षिक कम्तीमा ४० हजारदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन्।

इच्छाबहादुर राई, होमबहादुर राई, सुर्यबहादुर राई, दिलीप राई, मनमायाँ राई लगायतका किसान सबैभन्दा बढि सुन्तला खेती गर्ने किसान हुन् । उनीहरुले चार–पाँच रोपनीभन्दा बढी जग्गामा व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् । घोर्लेबाट वार्षिक २२–२५ टयाक्टरभन्दा बढी सुन्तला चिसापानी–घोडेटार, चिसापानी–बंसिलाघाट वा चिसापानी–धाप्लाङघाट हुँदै जिल्ला बाहिर निर्यात हुने गरेको शिक्षक राईले बताए । ‘गत वर्ष ट्याक्टरसहित आएका भोजपुरका ठेकेदारले सुन्तला उठाएको थियो,’ उनले भने, ‘यो वर्ष बेलटारका एकै व्यवसायीले बगानबाटै सुन्तला उठाएर लगिदियो । यस गाउँबाट वार्षिक २२ लाखसम्मको सुन्तला निर्यात हुने गरेको छ।’

पुस्तौंदेखि डोकोमा सुन्तला बोकेर सहरबजार पु¥याउँदै आएका घोर्लेका किसान कच्ची सडक बनेका कारण चार–पाँच वर्षयता ट्याक्टरमार्फत निर्यात गर्दै आएका छन् । सडक विस्तार नहुँदासम्म घोर्लेमा चैतसम्म सुन्ता बोटमै रहन्थ्यो । तर, अहिले सडक विस्तारसँगै पुसको सुरुमै सबै सुन्तला निर्यात हुने गरेको किसान नैन राईले बताए । कतिपय किसानले भने गाउँकै बजारमा पनि सुन्तला बिक्री गर्छन् । ‘सडक नहुँदा हामी आफैंले डोकोमा हालेर बजार पु¥याउने गरेका थियौं, ठेकेदारले पनि डोकोमै हालेर लैजान्थे,’ नैनले भने, ‘सडक बनेपछि सुन्तला डोकोमा बोक्नु परेको छैन, ट्याक्टरले बोक्छ ।’ एक ट्याक्टरमा २४–२५ हजारको हाराहारीमा सुन्तला अटाउँछ । यस वर्ष सिंगो घोर्लेमा उत्पादित सुन्तला बेलटारका फलफूल व्यवसायी बुधन मण्डलले खरिद गरेर लगेको किसान बताउँछन् । बगानमै आइपुग्ने ठेकेदारले सुन्तलाको दानाको आकार हेरेर सयकडा प्रतिवटा दुई रुपैयाँदेखि अढाई रुपैयाँसम्ममा बोटबाटै खरिद गरेर उठाउने गरेका छन्।

आवश्यक बाटो नभएका कारण घोर्लेमा फलेको सुन्तला सदरमुकाम दिक्तेलसम्म आउन पाउँदैनन् । त्यही भएर ठेकेदारमार्फत पूर्वी सहर पुग्ने गरेको छ।

 

 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App