५ वैशाख २०८१ बुधबार
खेल

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

काठमाडौं – च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यानचेष्टर सिटीले स्वीटजरल्याण्डको एफसी बाजललाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सिटीले उसैको मैदानमा बाजललाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो।  

सिटीका लागि खेलको १४ औं मिनेटमा ईके गुन्डोगानले केभिन डे ब्रुयनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो  । खेलको २३ औं मिनेटमा सर्जियो अग्युइरो गोल गरेपछि सिटीले अग्रता अझ पराकिलो पार्यो । पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा मात्र १ गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ५३ औं मिनेटमा गुुन्डोगानले गोल गरेपछि  सिटी ४–० ले विजयी भयो । पहिलो लेगमा विजयी भएपछि सिटीको क्वाटरफाइनल यात्रा सहज भएको छ । दोस्रो लेग सिटीको मैदानमा हुनेछ।

त्यस्तै रातिनै भएको अर्को खेलमा इटालीयन क्लब युभेन्टस र इङलिस क्लब टोटनह्यामले २–२ को बराबरी खेलेका छन् । घरेलु मैदामा भएको पहिलो लेगमा पहिलो हाफको ९ मिनेटभित्र २ गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा युभेटसले बराबरीमा चित्त बुझाउनु पर्यो । युभेन्टसका लागि दोस्रो मिनेटमानै गोन्जालो हिग्वीनले गोल गर्दै अग्रता दिलाए । लगत्तै ९ औं मिनेटमा पुन हिग्वीनले गोलगरेपछि युभेन्टसले २ गोलको अग्रता लिएको थियो ।

युभेन्टसका लागि पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा हिग्वीनले गोल गर्न सकेनन् । टोटनह्यामका लागि पहिलो हाफको ३५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता छोट्याएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको टोटनह्यामका लागि ७१ औं मिनेटमा क्रिश्चियन एरिक्सनले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो । त्यसपछि निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गीयो । दुवै टोलीलाई अब क्वाटरफाइनलमा प्रवेश गर्न दोस्रो लेगको खेलमा जित आवश्यक छ । दोस्रो लेग टोटनह्यामको मैदानमा हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७४ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App