७ वैशाख २०८१ शुक्रबार
प्रवास

टर्कीमा तीन नेपाली फिरौती बुझाएर अपहरणमुक्त

टर्कीमा फिरौती रकम बुझाएर मुक्त भएका तीन युवा । तस्बिर : फेसबुक

खोटाङ – टर्कीमा अहरणमा परेका तीन नेपालीलाई अपहरणकारीले फिरौती रकम लिएर छाडेको छ। बैदेशिक रोजगारीका सिलसिलामा टर्कीमा कार्यरत रहेको अवस्थामा अपहरणमा परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टिकाराम बिश्वकर्मा, मोरङ केराबारीका किरण मगर र ताप्लेजुङका टिका लिम्बू फिरौती रकम बुझाएर अपहरणकारीको पञ्जाबाट मुक्त भएका हुन्। 

राम्रो कामका लागि अर्को कम्पनीमा लैजाने प्रलोभनमा उनीहरूलाई अपहरणकारीले टर्कीबाट माघ २१ गते अपहरण गरेको पीडितका परिवारले बताएका छन्। करिब २१ लाख (नेपाली) फिरौती रकम बुझाएपछि तीनै जनालाई अपहरणकारीले माघ २७ गते छोडेको अपहरणमा परेका टिकाराम विश्वकर्माले बताए। टर्कीमा अपहरण गरिए पनि पाकिस्तानमा फिरौती रकम बुझाएर उनीहरू मुक्त भएका हुन्। ‘होटलको कामका लागि भनेर टर्की गएका थियौँ, तर भनेजस्तो काम नभएपछि फर्कन खोज्दा पनि एजेन्टले दिएन,’ टिकारामले भने, ‘उल्टै अपहरणमा प¥यौँ, १८ हजार यूएस डलर बुझाएर हामी छुटेका हौं।’ 

अपहरणमुक्त हुनका लागि टिकाराम र किरणले नेपाली ८÷८ लाख तथा टिकाले ५ लाख ५० हजार रकम बुझाउनुपरेको बताइएको छ। अपहरणकारीले रकम अपुग भएको भनेपछि टिकाराम र किरणका परिवारले थप ३ लाख ५० हजार पठाउनु परेको बताइएको छ।

सम्पत्ति कमाउने सपना बोकेर उनीहरु जनही ६ लाख ५० हजार बुझाएर भारतको बाटो प्रयोग गरेर भदौ १ गते टर्की पुगेका थिए। पीडितका अनुशार उनीहरूलाई पाकिस्तानी नागरिक मिर्जा कासिवले अपहरण गरेका हुन्। राम्रो कामको प्रलोभनमा अपरिचित कोठामा पु-याएर मोबाइल र पैसा खोसेपछि मात्र उनीहरूले अपहरणमा परेको थाहा पाएका थिए। ‘साथीहरू राम्रो काममा लागेको’ भन्दै किरणलाई पनि दोश्रो दिन टिकाराम र टिका राखिएको ठाउँमा पु-याइएको थियो। फोन र मेसेञ्जरबाट फिरौती माग भएपछि नेपालबाट ऋण काढेर कतार पठाइएको र कतारबाट पाकिस्तानमा मोहम्मद सेहबाज (आइडी नम्बर ३३१००७०९७४४६७)को नाममा रकम पठाइएको टिकारामका बाबु दिलबहादुर बिश्वकर्माले बताए। 

अपहरणकारीले टिकारामका परिवारलाई फिरौती रकम ग्रिसमा र किरणका परिवारलाई पाकिस्तानमा पठाउन भनेको थियो। तर, सबै रकम मोहम्मद सेहबाज, मुहम्मद फरकान युनास एसओ मुहम्मद यौनास, मुहम्मद कमरान एसओ मुहम्मद अनवार लगायतको नाममा पाकिस्तान पठाइएको हो। फिरौतीका लागि सुरूमा १५/१५ हजार डलर मागेको अपहरणकारीले पछि ५/५ हजार डलर लिन तयार भएको उनीहरूको भनाई छ। मुक्त भएका तीन युवा अहिले नेपाली साथीहरूको आश्रयमा बसिरहेका छन्। उनीहरू नेपालबाटै पठाइएको टिकटमार्फत स्वदेश फर्किने तयारीमा छन । अपहरणकारीलाई कारबाही गर्न र डुबेको रकम फिर्ता हुनुपर्ने पीडितको माग छ। 

रोजगारीको सिलसिलामा होटलको कामका लागि टिकाराम र किरण सँगै टर्की पुगेका हुन्। कमाउन जाने तयारी गरेका टिकाराम र किरणलाई एजेन्ट ओमप्रकाश पञ्जियार, दिपेश गुप्ता र पर्शुराम यादवले अन्तिममा टर्की पु-याएको हो। टिका भने उनीहरूभन्दा १५ दिनपछि टर्की पुगेका हुन्। फकाउँदै फुलाउँदै भारतको बाटो हुँदै टर्कीमा पु-याएको टिकारामले बताए। ‘हामीलाई तीन महिनासम्म भारतमा राखेर टर्की लगिएको हो,’ टिकारामले भने, ‘अहरणकारीले चुरोटले पोल्ने काम गरियो, कुटपिट गरियो।’ पीडित टिकारामका परिवारले अलपत्र युवालाई फर्काउनका लागि सहयोग गर्न दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना सामीको सूचना केन्द्रान निबेदन पेस गरेका छन्। 

प्रकाशित: २ फाल्गुन २०७४ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App