coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

बारा – विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

सिमरा रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारका सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे। मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन्। 

सिजनका दुई ठुला प्रतियोगिता जितेको थ्रिस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनटमा विष्णु गुरुङले गोल गरेका थिए। सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए। 

खेलको ३५ औं मिनटमा सुनील बलले थ्रिस्टारको अग्रता दोब्बर पारे। डि बक्स बाहिरबाटै सुनीलले गरेको प्रहार गोलमा परिणत भएको थियो। 

पहिलो हाफमा मोरङ विरुद्ध हावि भएको थ्रिस्टारका सुनील बलले दोस्रो हाफको सुरुवातमै अग्रता फराकिलो बनाए। खेलको ४९ औं मिनटमा डि बक्सभित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रीस्टारलाई ३–० को अग्रता दिलाए। 

खेलको ७७ औं मिनटमा थ्रिस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो। निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्रीस्टारको जित सुनिश्चित गरे। 

खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोश्रो हाफमा दुई गोल थप्यो। खेलको ८० औं मिनट सम्म मोरङलाई ४–० गोल अन्तरले दवावमा राखेको थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल फर्कायो। 

खेलको उतरार्धमा ४–० को नतिजा पाएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिश्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए। 

४ गोलको अग्रता पछि गोलरक्षक परिवर्तन गरेको थ्रिस्टार खेलको ८० औं मिनटपछि दबाबमा प-यो। गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रिस्टारको अग्रता ४–१ मा झ-यो। 

मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे। डि बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रिस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन्। 

त्यसलगतै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रिस्टारको अग्रता ४–२ मा झा-यो। कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोश्रो गोल गरे। 

थ्रीस्टारसंग पराजय भोगेको मोरङ स्पोर्टस क्लबले खेलमा केही सुन्दर अवसर गुमाएको थियो। 

थ्रीस्टारको जीतमा दुई गोल गरेका सुनिल बल म्यान अफ दि म्याच घोषित भए। विहीबार त्रिभुवन आर्मी र वीरगञ्ज यूनाईटेड क्लबबीच अन्तिम सेमीफाइनल खेल हुनेछ। 

प्रकाशित: २ फाल्गुन २०७४ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App