८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धनबाट ओलीको दाबी

मणि दाहाल/प्रकाश तिमल्सिना

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।

वामपन्थी गठबन्धनको केन्द्रीय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम भइसकेकाले अब सरकार गठनमा ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको हो ।

‘चुनाव भएको धेरै समय भइसक्यो । सरकार गठनमा अझै विलम्ब गर्नु हुँदैन,’ बैठकपछि माओवादी केन्द्रका नेता तथा समिति सदस्य नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाइसकेको अवस्थामा सरकार गठन गर्ने कार्यमा विलम्ब गर्नु हुँदैन । त्यसैले भोलि (बिहीबार) नै राष्ट्रपतिसमक्ष सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने निर्णय गरेका छौं ।’
एमाले उपाध्यक्ष वामदेव गौतमले सरकार गठनको विषयलाई अघि बढाउने जिम्मेवारी दुवै दलका अध्यक्षलाई दिइएको बताए ।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनको परिणाम निर्वाचन आयोगले बुधबार साँझ औपचारिक रुपमा सार्वजनिक गरी राष्ट्रपति भण्डारीसक्षम पेस गरेको छ । आयोगले पछिल्लो चरणको चुनाव भएको ५२ दिनपछि समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको हो ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठबन्धनको करिब दुई तिहाइ संख्या छ । प्रतिनिधिसभामा दुई दलका गरी एक सय ७४ सांसद छन् ।

सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुवै दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व पहिलो तीन वर्ष एमाले अध्यक्ष ओली र पछिल्लो दुई वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् ।ललितपुरको मानभवनस्थित एक निर्माण व्यवसायीको निवासमा करिब पाँच घन्टा चलेको एकता संयोजन समिति बैठकमा पार्टी एकताबारे पनि छलफल थियो ।

बैठकपछि एमाले उपाध्यक्ष गौतमले पार्टी एकताबारे दुई दलबीच ९५ प्रतिशत विषय मिलिसकेको दाबी गरे । ‘९५ प्रतिशत विषयमा सहमति भइसकेको छ । आज समय, ढिलो पनि भयो, पार्टी एकताबारे निर्णयका लागि संयोजन समितिको बैठक भोलि (बिहीबार) फेरि बस्नेछ,’  गौतमले सञ्चारकर्मीसँग भने, ‘पार्टी एकताका सैद्धान्तिक र संगठनात्मक संरचनाको विषयलाई अन्तिम रुप दिन कार्यदलमा बस्ने सदस्यका नाम पनि बिहीबार आउनेछ ।’ उनले एकताको खाकासमेत बिहीबार सार्वजनिक गर्ने बताए ।बुधबार पहिला यसअघि ओली र दाहालबीच करिब आधा घन्टा एकान्त वार्ता भएको थियो । दुई अध्यक्षबीच भएको सहमतिलाई एमाले र माओवादी केन्द्रको बैठकले पारित गरेपछिकेन्द्रीय एकता संयोजन समितिको बैठक बसेको थियो ।

ओलीलाई प्रधानमन्त्री उम्मेदवार बनाउने एमाले निर्णय
मानभवनस्थित व्यवसायीकै निवासमै भएको एमाले स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले माओवादी केन्द्रसँग नेतृत्व बाँडफाँटको विषयलाई पारित गरेको छ ।

‘बैठकले अध्यक्ष (ओली) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ,’ उपमहासचिव घनश्याम भुसालले भने । बैठकमा अध्यक्ष ओलीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि भइरहेको बैठकबारे जानकारी गराएका थिए ।अकस्मिक रुपमा बोलाइएको एमाले स्थायी कमिटी बैठक करिब ४५ मिनेट बसेको थियो । सोही समयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालयका बैठक पनि बसेको थियो । दाहाल निवास खुमलटारमा भएको बैठकले पनि दुवै दलका अध्यक्षबीच भएको सहमति पारित गरेको थियो ।

दुवै अध्यक्षबीच पार्टी एकताको खाकालाई सरकार गठनअघि नै निष्कर्षमा पु¥याउने सहमति भएको छ । जसअनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्रै राखिनेछ । दुवै पार्टीका अध्यक्ष सहअध्यक्षका रुपमा रहनेछन् भने बैठकको अध्यक्षतामा दुवैले आलोपालो गर्नेछन् ।

प्रकाशित: ३ फाल्गुन २०७४ ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App