coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सानो मन्त्रिपरिषद्’

बुटवल – प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले बुधबार साँझ पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।  

एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख झासमक्ष पेस गरेपछि मुख्यमन्त्री नियुक्त गरिएको हो । संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद छन् । दुई वाम दल मिलेपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुगेको हो।  

प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दुवाडीका अनुसार सडक डिभिजन कार्यालय परिसरको चौरमा मुख्यमन्त्रीलाई शपथ गराउने कार्यक्रम छ । सडक डिभिजन कार्यालयसँगै रहेको अतिथिगृहमा प्रदेश प्रमुख झा बस्दै आएका छन्। 

सुरुमा तीन सदस्यीय सरकार 
बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि पोखरेलले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। तत्काल काम अघि बढाउन आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त गर्ने तयारी छ। आन्तरिक मामिला तथा कानुनमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा बैजनाथ चौधरी नियुक्त हुने सम्भावना छ । त्यसपछि केही सातामा मन्त्रिमण्डल विस्तार गरी नौ सदस्यीय बनाउने तयारी छ। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App