coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

२०७४ साल पर्व

एकीकृत वाम र कांग्रेसबीच हुने स्वस्थ प्रतिस्पर्धामा मात्र नेपाल र नेपाली जनताको भविष्य सुन्दर छ।

नेपाल चाडपर्वहरूले भरिएको देश हो । चाड र सांस्कृतिक पर्वहरू मात्र होइन, राजनीतिक पर्वहरू पनि प्रशस्तै छन् नेपालमा । कोतपर्व त आम नेपालीहरूको मनमस्तिष्कमा अमिट नै छ । नेपाल एकीकरणपछि सत्ता स्वार्थका लागि अनेकन् राजनीतिक पर्वहरू घटे नेपालमा । ती सबै पर्वहरूमा कैयन् मानिसहरूको जीवनगाथा समाप्त भयो, कैयन् बहादुर नेपालीहरूको अनाहकमा ज्यान गयो । सत्ता परिवर्तन भए । शासक र वंशहरू नयाँ नयाँ उदाए र अस्ताए । तर पनि पर्वहरू निरन्तर भइरहेकै छन्।

नेपाली राजनीतिको वर्तमान कालखण्डलाई ०७४ सालको पर्व भनिनेछ इतिहासमा, भन्नुपर्छ । यो पहिलो राजनीतिक पर्व हो जो शान्त प्रक्रियाबाट आयो र नेपाललाई उथलपुथल बनायो, बनाई नै रहेको छ । यो पर्वमा कुनै बन्दुक चलेन, कसैको हत्या भएन । कुनै वंश स्थापित भएन । तर नेपाली राजनीतिमा जनमतको माध्यमबाट पहिलोपल्ट बहुमतको वामपन्थी सरकार निर्माण भयो । विश्वको भूगोलभित्र आजको मितिमा कम्युनिस्टहरू निर्वाचनको माध्यमबाट बहुमतको सरकार निर्माण गर्न सक्षम छन् भनी विश्वास गरिन्न । नेपालमा सम्भव भयो ।

देशभरि निरास र हतास कार्यकर्तालाई जागृत गराएर कांग्रेसलाई नवजीवन प्रदान गर्छु भनी कमण्डलु बोकी हिँड्ने युवा जमात आजको आवश्यकता हो, कांग्रेसको नवजीवनका लागि।

किन वामपन्थीहरूको विजय सम्भव भयो यहाँ यसका लागि नेपाली कांग्रेसको अवस्था बुझ्नुपर्छ । कांग्रेसको शासन र नेतृत्वको क्षमतालाई नपर्गेलेर वाम दिग्विजयलाई बुझ्न र बुझाउन सकिन्न । कांग्रेस स्वयंको राजनीतिक भविष्य पनि विगतमा भएका कमी कमजोरी बुझ्ने र तद्अनुरूप भविष्यका लागि नयाँ मार्ग निर्माण गरेर मात्र सम्भव छ भन्ने समय यही हो । त्यतिमात्र होइन, नेपालको वामपन्थीहरूले ‘आइस ब्रेक’ गरेको एकताको वर्तमान अवस्था र भविष्यलाई पनि नियाल्नुपर्ने समय यही हो।

सर्वप्रथम वामपन्थी एकताले तीनवटा आशा जगायो । पहिलो देशमा राजनीतिक स्थिरता हुन्छ र नेपाल समृद्धिको बाटोमा जान्छ । वामपन्थीहरूले जब राजनीतिक स्थिरताको कुरा र वामगठबन्धनको विषय अगाडि सारे, आम नेपालीहरूले कांग्रेसले बहुमत पाउँदा पनि स्थिरता दिन नसकेको र राजनीतिक विकृति विसंगति बढाएको स्मरण गरे । वाम एकताबाट निःसृत शक्ति र कांग्रेस पार्टीको आन्तरिक जीवनबाट उत्पन्न अस्थिरताले विश्वमा नभएको माहौल नेपालमा तयार भयो, र वामगठबन्धनको दिग्विजय हुनपुग्यो।

दोस्रो भारतीय नाकाबन्दीले प्रताडित नेपाली जनतालाई राष्ट्रवादको मलम लगाउन खड्ग ओली तयार भए । नेपाली कांग्रेसले सधैँ जस्तो राष्ट्रियताको सन्दर्भमा सफ्ट लाइन लिन्छ र भारतसँग निहुरिन्छ भन्ने सन्देश खड्ग ओलीले राष्ट्रवादको नारा घन्काइरहँदा प्रवाह भयो । विश्व परिवेशमा पनि बहुमत जातिको राष्ट्रवादले टाउको उठाइरहेको थियो र नेपाल पनि यसबाट अछुतो रहन सकेन । भारत, चीन, अमेरिका, बेलायत लगायत कैयन् उदार लोकतान्त्रिक र अलोकतान्त्रिक सबैतिर बहुमत जाति र धर्मको राष्ट्रवादी हावा बगिरहेको थियो।

तेस्रो कांग्रेसको पूरै नेतृत्व थकित र गलित थियो । झन्डै तीन दशकदेखि सत्तावादी पार्टी भएर खासै डेलिभरी गर्न नसकेको अपमानबोधबाट कांग्रेसका पहिलो पुस्ताका मात्र होइन, तेस्रो पुस्ताको सम्ममा पनि निर्वाचनप्रति उत्साह र उमंग थिएन । अर्कोतिर वामगठबन्धनले साठीको दशकमा अन्तर्राष्ट्रियवादको नारा दिएर कम्युनिस्ट भएकाहरू पनि ०७४ सालको निर्वाचनमा आफ्नो टाई झुन्ड्याएर वामगठबन्धनलाई निर्वाचनमा जिताउन होमिए।

यसरी ०७४ साल वामहरूका लागि नेपालको राजनीतिक मैदानमा अवसरै अवसरको थुप्रो सृजना गरेर आएको छ भने कांग्रेस भने क्रसरोडमा उभिएको छ । अब सच्चिने कि सिद्धिने छनौट कांग्रेस अगाडि छ । यस प्रकरणमा नेपाल र नेपाली जनताको हित भने कांग्रेस सुध्रिएर अगाडि आउँदा नै छ।

कांग्रेस सुध्रिएर अगाडि आउँदा नेपालमा झन्डै दुई पार्टी सिस्टम केन्द्रमा विकास हुन्छ र त्यसले लोकतन्त्रको मात्र विकास हुँदैन, स्वस्थ प्रतिस्पर्धाबाट राष्ट्र निर्माणको बाटो पनि खुल्छ । कांग्रेस नसच्चिने हो भने यो पार्टी क्षयीकरणतर्फ जान्छ र यसको परिणाम कि वाम वर्चस्वले नेपालमा स्थायी रूप लिन्छ वा झन्डै एकदलीय अभ्यास नेपालमा हुनसक्छ । वामहरूको टुटुफुट भएमा नेपाली जनता फेरि अस्थिरता र अराजकतातर्फको यात्रामा जान बाध्य हुन्छन्।

०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनपछि वामहरूलाई देश चलाएर वाम एकताको औचित्य प्रमाणित गर्नुछ भने नेपाली कांग्रेसलाई देशव्यापी पराजयबाट उत्पन्न निराशा र हतासालाई पुनः एकपटक पार्टीभित्र आशा र विश्वासको सञ्चार गराउनुपर्ने अवसर आएको छ । यस अर्थमा नेपालको वामपन्थी एकता जनताको कठघरामा छ भने कांग्रेस आफ्नै विगतको असफलताबाट पाठ सिकेर नयाँ आशालाग्दो मार्गको यात्रा तय गर्नुपर्ने अवस्थामा आएको छ।

यसरी यी दुवै राष्ट्रिय दलहरू वामपन्थी र लोकतन्त्रवादीहरू ०७४ सालमा सुुरु गर्ने भूमिकाले नेपालको भावी दिशा निर्धारण गर्नेछ । वर्तमान अवस्थामा वामपन्थीहरू एकता र सुशासनको रस्साकस्सीमा छन् । कसरी माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने, एमालेमा यो चिन्ता र चिन्तन दुवै छ । एमालेका लागि माओवादी केन्द्रसँग गर्ने भनिएको एकीकरण विगतमा मनमोहन नेतृत्वको माक्र्सवादीहरूसँग गरे जस्तो सजिलो छैन । मनमोहन अधिकारीको माक्र्सवादी पार्टी तत्कालीन मालेभन्दा सफ्ट र पृष्ठभूमि उदार लोकतान्त्रिक थियो।

अहिले माओवादी केन्द्रसँग गरिने एकता भनेको ठीक त्यसको विपरीत अवस्था हो । माओवादी केन्द्रको पृष्ठभूमि र नेतृत्व पंक्ति एमालेको भन्दा अनुदार र कठोर हुन सक्छ । यद्यपि माओवादी केन्द्रको जनसमर्थन एमालेको तुलनामा धेरै तल छ तर पनि मनमोहनको माक्र्सवादीभन्दा धेरै नै धेरै छ । मनमोहनको व्यक्तित्वको आकर्षण माले नेता मदन भण्डारीलाई ज्ञान थियो, अहिले माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको व्यक्तित्व एमालेका लागि गलपासोझैँ भएको छ।

नेपालको राजनीतिमा राज्य सञ्चालनको सन्दर्भमा पदको बाँडफाँड ठूलो इज्जत र प्रतिष्ठाको विषय कहिल्यै बनेन, बन्दैन । प्रम र मन्त्रि पद छाड्ने र कृपा गर्ने उदाहरण भने भेटिन्छन् । तर पार्टीभित्रको पद बाँडफाँड भने रडाकोको विषय बन्ने गरेका उदाहरण धेरै छन् । एमाले र माओवादी केन्द्रले सत्ताको बाँडफाँड मात्र गरेर पार्टी एकीकरण नगर्दा निश्चित छ, टाई कम्युनिस्टदेखि अल्लारे कम्युनिस्टसम्ममा खिन्नता र दिक्दारी आउनेछ । ढाका टोपीधारी कम्युनिस्टको त कुरै भएन । तर पनि ०७४ साललाई नेपालको राजनीतिक इतिहासको गौरवमय मानक बनाउने हो भने वाम एकताको सुदृढीकरण आजको आवश्यकता हो।  

नेपाली जनतामा केही मानकहरू स्थापित भएका छन् । ती मानकहरू कहीँ घटनाका रूपमा र कतै सालका रूपमा नेपालीहरूको स्मृतिमा ताजा रहन्छ । देशको वर्तमान र भविष्यलाई जोड्न ती मानकहरू सन्दर्भ सामग्रीमात्र भएका छैनन्, शिक्षाप्रद र मार्गनिर्देशक पनि भएका छन् । उदाहरणका रूपमा, जतिसुकै मन पराए पनि, नपराए पनि नेपाल एकीकरणको श्रेय तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहलाई नै जान्छ । त्यस्तै ००७ सालको क्रान्ति नेपाली कांग्रेसले गौरव गर्ने मानक बनेको छ, आफ्नो इतिहास र नेपाली समाजसँग।

००७ सालको क्रान्तिपछि पनि राजनीतिक पर्वहरू घट्ने क्रम समाप्त भएन नेपालमा । ती अधिकांश नकारात्मक छन्, सम्झनायोग्य छैनन् । ०१७ सालमा एउटा पर्व घट्यो र मानक बन्यो, त्यो पुस्ताका लागि । ०१७ पुस १ गते म कहाँ थिएँ र मैले के गरे भनी मानक बन्यो । त्यस्तै ०३६ सालको जनमत संग्रहले मेरो पुस्तालाई राजनीतिमा डो¥यायो र एउटा मानक बन्यो । बिस्तारै नयाँ नयाँ मानकहरू बन्ने र पुराना मानकहरू विस्मृतिमा जाँदै गर्न थाले । नेपाली राजनीतिमा एउटै पुस्ताले चार पाँचवटा मानक बनाए, बनि नै रहेका छन् । सबैभन्दा ठूलो मानक बन्यो, राजदरबार हत्याकाण्ड । माथि उल्लेख गरिएकाभन्दा ठूलो र महत्वपूर्ण मानक बन्न सक्छ, ०७४ सालको पर्व जुन कांग्रेसको सुधार र वामएकताको सुदृढीकरणबाट सम्भव छ।  

मानकहरू निर्माण हुने क्रम नेपाली राजनीतिमा दरबार हत्याकाण्ड पनि स्थापित भयो । गणतन्त्र घोषणाको अगाडि वा पछाडि यो अर्को हल्का मानक बन्यो, किन हो, यो मानक ठूलो बन्न सकेन । ०७१ सालको भुइँचालोले गैरराजनीतिक मानक बनायो, नेपाली समाजमा । यसरी नेपालीहरूसँग अनेकन् मानकहरू बने । ००७ सालपछिका अधिकांश मानकहरू नकारात्मक र निराशा वितरण गर्ने खालका भए । ०७४ सालमा विगतका सारा नकारात्मक मानकलाई विस्थापित गरेर नयाँ मानक बनाउने अवसर अगाडि छ राजनीतिक दलहरू सामु।

राजनीतिक पर्वहरू सधैँ हतियार र बन्दुकले मात्र घटित हुँदैनन्, न सांस्कृतिक रूपले मात्र पनि मनाइन्छ । यस्ता पर्वहरू शान्तपूर्वक पनि घट्छन् र इतिहासमा त्यस्तै शान्त क्रान्तिले चिरस्थायी रूप लिन्छ । नेपालको कम्युनिस्ट आन्दोलन र कांग्रेसको आन्तरिक जीवनमा यतिखेर भइरहेको उथलपुथल, गटन–विघटनको राप र ताप शान्त प्रक्रियाबाट अगाडि बढेको देखिन्छ । यसको मन्थन र प्रभावबाट नेपालको भविष्य कोरिनेछ।

युरोपको पुनर्जागरणकाल र औद्योगिक क्रान्ति शान्तिपूर्वक नै आए र मानव सभ्यतालाई उचाइमा पुगाए । जबसम्म मानव सभ्यता रहन्छ, तबसम्म यी दुई घटनाको अघि र पछिको संसारको तुलना भनिरहन्छ । अहिले डिजिटल युगमा प्रवेश गरेपछिको विश्व र त्यसअघिको विश्वमा एउटा आधुनिक मानक बनेको छ । राजनीतिमा पनि रेगन र थ्येचर एउटा मानक बने, अमेरिका र बेलायतमा । नेपालमा पनि सम्भव छ र त्यो सम्भावना यतिखेर वामपन्थी एकीकरणबाट मात्र होइन, कांग्रेसको सुधार पनि जरुरी छ ।  
कांग्रेस निर्वाचनको पराजयबाट डिप्रेसनमा गएको यथार्थ हो । तर तल नझरीकन फेरि माथि कुन व्यक्ति, संस्था वा संगठन उठेको उदाहरण छ र विश्वमा । कांग्रेस पनि उठ्न सक्छ । तर अहिले जसरी कांग्रेसलाई पुनर्जागरण गर्ने, शुद्धीकरण गर्ने र सुदुढीकरण गर्ने भनी हल्कारूपमा बहस र छलफल चलेको छ, योबाट कांग्रेस उठ्न सम्भव छैन । सर्वप्रथम पार्टीभित्रको फोहोर फ्याँक्न सक्नुपर्छ । पार्टीभित्र थुप्रिएको फोहोर र ओगटेर बसेका अल्छी व्यक्तिहरूले नेपालको वामपन्थीहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्तैनन्।

कांग्रेसले अब तीनमध्ये कुन बाटो लिन्छ यो पार्टीको भविष्य त्यसैमा निर्भर गर्छ । पहिलो बाटो भनेको पार्टीभित्र ‘फाइल बढुवा’ भएर शीर्ष नेतृत्वमा पुगेका अहिलेका नेताहरूमै कांग्रेसको विचार र नेतृत्व खोजिन्छ भने कांग्रेसलाई ‘राम राम’ भन्दा हुन्छ । साठी नाघेका बूढाहरू पार्टीभित्रको नोकरशाही हुन् । जो कहिले रिटायर्ड पनि हुँदैनन्, रिचार्ज हुने यिनमा क्षमता र जाँगर पनि छैन ।
दोस्रो वंश सत्ताबाट निःसृत नीति र नेता । यसमा कोइराला परिवारलाई अगाडि सारिन्छ र भावनासँगै बिपी, गिरिजाबाबु बेचिन्छ । दक्षिण एसियामा यो बिक्छ पनि । यहाँ आँसुको राजनीतिको महत्व अझै छ । तर पार्टीभित्र बिक्नु र खुला प्रतिस्पर्धाको बजारमा पनि बिक्न सक्नुमा फरक हुन्छ । तसर्थ यो पनि टालटुले कुरा भयो।

तेस्रो वाम वर्चस्वबाट मुलुकलाई लोकतान्त्रिक वर्चस्वमा पुगाउँछु र त्यसका लागि यतिखेर प्राप्त प्रतिपक्षको अवसरलाई रचानात्मक रूपमा सृजनशील भएर अगाडि बढाउन सक्ने युवा जमातको कांग्रेसलाई खाँचो छ । देशभरि निरास र हतास कार्यकर्तालाई जागृत गराएर कांग्रेसलाई नवजीवन प्रदान गर्छु भनी कमण्डलु बोकी हिँड्ने युवा जमात आजको आवश्यकता हो, कांग्रेसको नवजीवनका लागि।

अन्तमा, एकीकृत वाम र कांग्रेसबीच हुने स्वस्थ प्रतिस्पर्धामा मात्र नेपाल र नेपाली जनताको भविष्य सुन्दर छ । यी दुवै समानान्तर अगाडि बढ्दा मात्र लोकतन्त्र नेपालमा सुरक्षित र सुदृढ हुनसक्छ । ०७४ सालको राजनीतिमा आएको शक्ति सन्तुलनले यो अवस्था सृजना गरेको छ । ०७४ साल नेपाली जनताका लागि महान् पर्वको साल बन्न सक्छ । सबै नेपालीका लागि सकारात्मक मानक साल बन्ने प्रशस्त सम्भावना छ । वाम प्रधानमन्त्री ओलीको त्यसतर्फको यात्रा मंगलमय होस् कांग्रेसका नेता शेरबहादुर देउवामा पनि बुद्धिको विर्को खुलोस्।  
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App