७ वैशाख २०८१ शुक्रबार
समाज

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

अरनिको राजमार्ग दायाँ–बायाँ सडक खाली गराउन निक्लेको बनेपाका मेयरसहितको टोली

बनेपा – सहर नै कुरुप हुनेगरी अरनिको राजमार्गका दायाँ–बायाँ थुपारिएका निर्माण सामग्रीका साथै फुटपाथका पसलहरूलाई बनेपा नगरपालिकाले हटाउन थालेको छ । पैदलयात्रु लक्षित फुटपाथमा पसल र राजमार्गका दायाँ–बायाँका सर्भिस ट्र्याकमा जथाभावी पार्किङ हुँदा राजमार्गमा चाप बढेर अस्तव्यस्त भएपछि यस्तो कदम चालिएको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए। 

‘एकातिर बनेपा सहर कुरुप हुँदै गएको र अर्कातिर सवारी साधन र पदैलयात्रीले सास्ती खेप्नुपरेको भन्दै गुनासो आउन थालेपछि यस्तो निर्णय गरिएको हो । अब बनेपा नगरपालिकाको सुरु विन्दु साँगादेखि २८ किलोमिटरसम्मको राजमार्ग खण्डका दायाँ–बायाँ अभियानकै रूपमा सडक खाली गरिनेछ,’ उनले थपे ।

बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा बनेपालगायत सरोकारवाला कार्यालयहरूको बैठकले फुटपाथका पसल, राजमार्ग दायाँ–बायाँको पार्किङ हटाउने निर्णय भएको हो । बनेपा नगरस्थित राजनीतिक दलहरूले समेत व्यवस्थित बनेपा सहर अभियानमा साथ दिएका छन्।

स्थानीय तह चुनावकै दौरान नगरप्रमुख बादेले मुख्य कार्यका रूपमा बनेपा नगरक्षेत्रको अरनिको राजमार्ग खण्डमा दायाँ–बायाँ खाली गर्दै पैदलयात्री तथा सुरक्षित सवारी आवागमनलाई सुदृढ पार्ने घोषणा गरेका थिए । ‘सबै सरोकारवालासँग समन्वय गर्ने क्रममा केही ढिलाइ भएको हो । अब यस कार्यलाई अभियानकै रूपमा निरन्तरता दिनेछौं । बनेपा हुँदै आवतजावत गर्ने सबैले ‘राम्रो सहर बनेपा भन्ने अवस्था ल्याउन सकियोस,’ बादेले भने ।

नगरपालिकाको यो निर्णय कार्यान्वयनका लागि नगर प्रमुख बादेसँगै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा, जिल्ला प्रहरी प्रमुख सहकुल थापा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, विभिन्न राजनीतिक दलका अगुवासहित बनेपा नगर कार्यपालिकाका सदस्य तथा कर्मचारीहरू बिहीबार बिहानैदेखि सडकमा उत्रिएका थिए।

‘साढे चार वर्षअघि पनि नगरपालिका र प्रशासनले यस्तै अभियान चलाएको थियो । नगर चुनावको ९ महिनापछि यतिखेर मेयरसाब र बनेपाका वडाध्यक्षहरू सबै सडक खाली गराउन निस्कनु भएको छ । यो काम एक दिन ग¥यो, अरू दिन बिस्र्यो हुनु भएन,’ बनेपा, भैंसेपाटीका दुर्गा श्रेष्ठले गुनासो गरे ।

फुटपाथमै पसल राखिँदा र सडकका दायाँ–बायाँ निर्माण सामग्री थुपारिँदा नगरपालिकाले एसियाली विकास बैंकको ऋणमा बनेपा नगर प्रवेशस्थल पुलबजारदेखि बुडोलसम्म निर्माण गरेको ३ दशमलव ६ किलोमिटर लामो फुटपाथ प्रयोगविहीन बनेको छ । यसका निम्ति २ करोड १८ लाख ५७ हजार रुपैंया खर्च भएको थियो । 

पैदलयात्रुको भारलाई मात्र थेग्ने गरी बनाइएको फुटपाथमा पछिल्लो समय मोटरसाइकल र साना गाडीसमेत चलाउँदा अधिकांश ब्लक फुट्न थालेका छन् । ठाउँ–ठाउँमा ब्लक फुट्न थालेपछि फुटपाथ नै कुरूप देखिन थालेको छ ।

फुटपाथ पसल र सडक दायाँ–बायाँ पार्किङकै कारण अरनिको राजमार्गको बजारक्षेत्रको सडक साँघुरिँदा बनेपाको ट्राफिक व्यवस्थापनमा दिनहुँ समस्या थपिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेश दाहालको भनाइ छ । उनले भने, ‘फुटपाथका पसल समस्या थियो । तर, पछिल्लो समय राजमार्ग दायाँ–बाँयाका सर्भिस ट्र्याकमा समेत सार्वजनिक र निजी दुवै सवारी साधनले पार्किङ गरेर समस्या थपेका छन् ।’ 

नगरपालिकाले राजमार्गछेउमा अव्यवस्थित पार्किङ भएका सार्वजनिक सवारी साधनलाई बसपार्कभित्र पठाउने भएको छ । नगरपालिकाको पौने तीन करोड लगानीमा बनेको नयाँ बसपार्कमा शुल्क तिर्नुपर्ने भएपछि ती सवारी साधन यसअघि राजमार्गकै दायाँ–बाँया पार्किङ हुँदै आएको थियो । बनेपाका नगरवासीले समेत आफ्ना सवारी साधनलाई समेत बाटै ढाक्ने गरी घरसामुन्ने पार्किङ गर्दै आएका छन् ।

‘नगरपालिकाले तोकेको स्थानमा फुटपाथ पसलेहरू जान नमानेको खण्डमा र बसपार्कभित्र सवारी साधन नलगेमा बल प्रयोग गरेरै भए पनि फुटपाथका साथै अरनिको राजमार्गको दायाँ–बायाँ खाली गरेरै छाड्छौं,’ नगरप्रमुख बादेले भने ।

नगरपालिकाले पछिल्लो समय राजमार्गछेउमै निर्माण सामग्री थुपारेर आवागमनमा अवरोध पु¥याउने घरधनीलाई समेत कारबाही गर्ने तयारी गरेको छ । बनेपाको तरकारीबजारदेखि पुलबजारसम्म राजमार्गको दायाँ–बाँया निर्माण सामग्री थुपारिँदा पैदलयात्रुले हैरानी खेप्दै आएका छन् ।

दाना र खाद्यान्न व्यापारीको गुनासो

काभ्रेसहित मध्यपहाडी जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप र दोलखाको व्यापारिक केन्द्र बनेपाले खाद्यान्नलगायत कुखुराका दानामा यी जिल्लाका उपभोक्तालाई भरथेग गर्दै आएको छ । लामो समयदेखि यी चीजवस्तुको व्यापार गर्ने पसलहरू प्रायः अरनिको राजमार्गकै आसपासमा छन्।

नगरपालिकाले सडकमा गाडी राखेर सामान लोड÷अनलोड गर्नमा रोक लगाउँदा व्यापार व्यवसाय चौपट हुने उनीहरूको गुनासो छ । ‘बिहानदेखि बेलुकीसम्म दाना चल्ला आउने र पठाउने क्रम भइरहन्छ । पसलअगाडि गाडी रोक्न नपाउने भएपछि यस्तोमा व्यवसाय गर्नै मुस्किल हुने भयो,’ जिएन एग्रिटेक प्रालिका सञ्चालक नारायण ढुंगानाले गुनासो गरे । ढुंगानाजस्तै तरकारी बजारका खाद्यान्न थोक बिक्रेताको पनि यस्तै गुनासो छ । उनीहरू भन्छन्, ‘अरू सामानजस्तो एकदुई किलो बेचेर भएन । गाडीका गाडी खाद्यान्न लिने र दिने क्रम भइरहन्छ । हामीलाई सबैभन्दा बढी मर्का पर्ने भयो,’ एक खाद्यान्न व्यापारीले भने ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App