coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सांसदलाई डेराको पिरलो

प्रदेश ४ को प्रदेश सभा भवन पोखरा । तस्बिर: नागरिक

पोखरा– म्याग्दीबाट विजयी भएका प्रदेशसभा सदस्य विनोद केसी यतिबेला पोखरामा डेरा खोजिरहेका छन् । प्रदेश मुकाम पोखरामा बस्ने प्रदेशसभा बैठकमा नियमित रूपमा सहभागी हुनुपर्ने भएपछि उनी डेरा बन्दोबस्तीमा लागिरहेका छन् । 
अहिले नै डेरा बसाइ सुरु नभए पनि पोखरामा पाइने डेरा निकै नै महँगो रहेको उनको अनुभव छ । ‘पोखरामा डेरा निकै नै महँगो रहेछ,’ केसीले भने, ‘डेरा नपाउने भन्दा पनि मासिक भाडा नै महँगो रहेछ ।’ अहिले नै डेरा खोजी नसके पनि साथीभाइसँग बुझ्दा महँगो पर्ने गरेको उनले बताए ।

नेतालाई डेरामा राख्दा मान्छेको आउजाउ बाक्लो हुने र घर फोहोर हुने भन्दै घरमूलीले डेरा भाडा महँगो लिने गरेका छन् ।

नेतालाई डेरामा राख्दा मान्छेको आउजाउ बाक्लो हुने र फोहोर बढी हुने भन्दै घरमूलीले डेरा भाडा महँगो भनेको हुन सक्ने केसीको अनुमान छ । ‘सधैंभरि होटल र साथीभाइकहाँ बसेर भएन, आफ्नो घर छैन, त्यही भएर डेरामै बस्नैप¥यो, तर साह्रै महँगो भन्दा रहेछन्,’ उनले भने, ‘पोखरा यसै त महँगो सहर, त्यसमा पनि डेराभाडा महँगो पर्दा समस्या छ ।’
बागलुङबाट विजयी भएका अर्का सदस्य टेकबहादुर घर्ती पनि यतिबेला डेराको बन्दोबस्तीमा लागिरहेका छन् । अहिलेसम्म होटलमा बसेर प्रदेशसभा तथा अन्य कार्यक्रममा सहभागी हुँदै आएका घर्तीले केही दिनदेखि डेरा खोजिरहेको बताए । ‘होटलमा बसेर सातामा २० हजार रुपैयाँले नपुग्ने रहेछ । यसरी त खर्च धान्नै गाह्रो भयो,’ उनले भने, ‘साथीभाइ, कार्यकर्ताको आउजाउले गर्दा पनि खर्च बढी हुने गरेको छ ।’

सरकारले प्रदेशसभा सदस्यलाई मासिक रूपमा आवासका लागि १२ देखि १५ हजार रुपैयाँ दिने भने पनि त्यसले नपुग्ने उनले बताए । ‘केही दिनअघि पोखराको मासबारमा एउटा फ्ल्याट पाएको थिएँ । घरमूलीले १७ हजार रुपैयाँ मासिक भाडा भनेका थिए,’ घर्तीले भने, ‘मैले समयमै निर्णय दिन सकिनँ, अर्कै आएर बसिसकेछन् ।’

पोखरामा बसोवास गर्दा कोठाले मात्र नपुगी सिंगै फ्ल्याट चाहिने उनले बताए । ‘एक–दुईवटा कोठा लिएर पनि भएन । कम्तीमा तीन–चार कोठासहितको फ्ल्याट लिनुपर्छ,’ घर्तीले भने, ‘त्यसका लागि १८–२० हजार रुपैयाँ पर्ने रहेछ, सरकारले अहिले दिने भनेको सुविधाले पुग्ने छाँटकाँट छैन ।’ पोखरामा रहँदा पनि ट्याक्सीमा आउजाउ गर्दा महँगो परेको उनले गुनासो सुनाए । 

पर्यटकीय सहर पोखरा अन्यत्रभन्दा महँगो भएकाले पनि सरकारले उपलब्ध गराएको सुविधाले आपूmहरूलाई खर्च धान्नसमेत हम्मेहम्मे हुने प्रदेश सदस्यहरूको गुनासो छ । ‘पोखरामा छोइसाध्य छैन, सबैतिर महँगी छ । थोरै खर्चले त धान्नै सकिन्न,’ उनले भने । 

बागलुङबाट विजयी अर्का सदस्य कृष्ण थापा पनि पोखराका कोठा नपाउँदा बिचल्लीमा परेको बताउँछन् । ‘म त कोठा नपाएर निकै नै आत्तिएको छु । धेरैतिर कोठा खोज्न भनें, कतै पाइँदा पनि निकै नै महँगो भाडा तिर्नुपर्ने रहेछ,’ उनले भने, ‘१५–२० हजार रुपैयाँ मासिक भाडा तिनुपर्नेसहितको प्रस्ताव साथीहरूले ल्याउनुभएको छ । तैपनि पाउन मुस्किल भयो ।’ डेरा नपाएकै कारण अहिलेसम्म होटलमा बसेको पनि उनले बताए ।

स्याङजाबाट विजयी भएका प्रदेश सदस्य दीपक थापा पनि पोखरामा बसोबासको बन्दोबस्त मिलाउनमा व्यस्त छन् । डेरा खोज्ने तयारीमा जुटेका उनले पनि पोखरा निकै नै महँगो सहरको रूपमा रहेको देखिसकेका छन् । ‘पोखरामा त हचुवा पाराले घरभाडा भन्ने रहेछन्,’ थापाले भने, ‘राज्यले दिएको सुविधाले त पोखराजस्तो महँगो सहरमा खर्च धान्न मुस्किल रहेछ ।’

प्रदेशसभा सुरु भएपछि अहिलेसम्म होटल र आफन्तकहाँ बसेर काम चलाइरहेको बताउने उनले पोखरा बसाइ आपूmहरूका लागि निकै नै महँगो पर्ने बताए । ‘जिल्लाबाट जो–कोही कार्यकर्ता वा मतदाता भएकाले हामीले उनीहरूलाई पनि ठाउँ दिनुपर्छ,’ थापाले भने, ‘तर, खर्च व्यवस्थापन निकै नै जटिल रहेछ ।’ राज्यको नीति नबन्दा घरभाडामा एकरूपता हुन नसकेको उनले बताए ।

‘घरमूलीले अहिलेसम्म आफ्नो मूल्य गरेका छन् । आवश्यकता हामीलाई छ, त्यही भएर पनि जसोतसो तिर्नुपर्ने रहेछ,’ थापाले भने, ‘राज्यको सुविधा र पोखराको महँगीमा मेलै खाँदैन ।’ 

राज्यले दिने १२ हजार रुपैयाँ भाडाले पोखरामा आवासको व्यवस्थापन गर्न नसक्ने थापाले बताए । ‘१५–२० हजार रुपैयाँ तिरेर डेरामा बसेर मात्र भएन । त्यहीअनुसारको खानपिन र बसोबास पनि हुनुप¥यो,’ उनले भने, ‘अहिलेसम्म घरमै बसेको र घरकै उत्पादन खाएको भए पनि अबको बसाइ महँगो हुने देखियो ।’ पोखरामा बसाइ निकै नै जटिलपूर्ण हुने आफूले देखेको उनले बताए । 

घरभाडा सरोकार समितिका कास्कीका अध्यक्ष यामनाथ पौडेल पनि अहिले पोखरामा बसाइको चाप बढ्दै जाँदा डेरा पाउन समस्या रहेको बताउँछन् । भूकम्परहित घर बनाउनुपर्ने र त्यसका लागि जग्गा पर्याप्त चाहिने भएपछि पछिल्लो समय साना आकारका घर बन्न थालेको र त्यसले कोठा अभाव भएको पनि उनले बताए । ‘पहिला भएजतिको जग्गामा घर ठड्याएर भाडामा दिने सोच हुन्थ्यो, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘सानो आकारको घर बनाउने र बस्ने भन्ने धेरे हुन थालेका छन् ।’

सहर झर्ने बहानामा मान्छेको भीड थपिँदै जाँदा पनि बजारमा डेरा पाउन समस्या रहेको उनले बताए । ‘घरमूलीहरू सांसदलाई हत्तपत्ती डेरा दिनै मान्दैनन् । पाहुना बढी आउने, कार्यकर्ता बढी आउने र फोहोर हुने, पानी अपुग हुने भन्ने घरमूलीको भनाइ हुन्छ । त्यही भएर सांसदलाई डेरा दिन मान्दैनन्,’ पौडेलले भने, ‘सकेसम्म कोठै पाइँदैन । खालि भए पनि दिन चाहन्नन् । दिनैप¥यो भने पनि महँगो भाडा लिन्छन् ।’ दुई–तीनजना सांसद मिलेर सिंगो घर भाडामा लिएर बस्यो भने सहज हुने उनले बताए ।

प्रकाशित: १३ फाल्गुन २०७४ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App