७ वैशाख २०८१ शुक्रबार
विचार

बाटोले रोजेका व्यक्तित्व

जनकपुर । कानुनी तवरले उपमहानगरपालिकाको हैसियत पाइसकेको भए तापनि जनकपुरको आधारभूत चरित्र सानो बजारको जस्तो मात्रै छ । सन् ‘६० दशकको अन्ततिर स्थानीय महाविद्यालय पढेका एक अवकाश प्राप्त पेसाविद्को आँकलनमा गएको आधा शताब्दीभित्र सहरमा उल्लेख्य परिवर्तन केही पनि भएको छैन । चुरोट कारखाना बन्द भएको छ । रेल चल्दैन । हवाई सेवामा तत्कालीन शानेवानीको एकाधिकार थियो । त्यो स्थान अब नाफा क्षेत्रका सञ्चालकहरूले ओगटेका छन् । फुसका टहराहरूलाई पक्की घरले विस्थापित गरेको छ । सामुदायिक विद्यालयलाई नाफामुखी शिक्षा कारोबारी एवं परोपकारी अस्पताललाई अस्वस्थता उद्यमबाट कमाइ गर्ने व्यापारीका उपक्रमहरूले जितेका छन् । तीर्थालुलाई सित्तै खाना ख्वाउने मन्दिरका भण्डाराहरू बन्द भएर मदिरालय एवं भोजनालय बग्रेल्ती खुलेका छन् । समग्रमा ‘विकास’ भएको जस्तो लाग्न सक्छ । रूप बदलिएको जस्तो लाग्छ । तर, परिवर्तनको गति एवं दिशाका बारेमा भने बहस भइरहेको देखिँदैन । जनकपुरियाहरू ‘धमिरा लागेको मधेस’ प्रदेशको राजधानीवासी हुन पाएकैमा दंगदास छन् ।

जीवन्त सहरमा वयस्कहरूका लागि रोजगारीका अवसर हुन्छन् । चामल मील तथा काठ चिरान उद्यमहरू सन् ‘८० को दशकतिर नै बन्द हुन लागिसकेका थिए । बाँकी रहेको एउटा चुरोट कारखाना पनि ध्वस्त भएपछि उत्पादक क्षेत्रमा रोजगारीको अवसर शून्य भएको छ । सभ्य नगरमा सार्वजनिक पुस्तकालय हुन्छ । कला दीर्घाहरू हुन्छन् । नाटक घर हुन्छ । अभिलेखागार एवं संग्रहालय हुन्छन् । यथेष्ट सार्वजनिक शौचालय हुन्छ । रंगशाला हुन्छ । बच्चाहरू खेल्ने चौर टोलटोलमा हुन्छन् । महिला निर्धक्क रातविरात पनि हिँड्न सक्ने सुरक्षाको प्रत्याभूति हुन्छ । बुज्रकमैत्री सार्वजनिक उद्यानहरू हुन्छन् । पैदल यात्रु निस्फिक्री हिँड्न सक्ने यथेष्ट  फुटपाथको व्यवस्था गरिएको हुन्छ । ढल निकासको उपयुक्त संरचना हुन्छ । सुरक्षित तवरले फोहोर फाल्ने इन्तजाम गरिएको हुन्छ । जनकपुरमा त्यस्तो केही पनि छैन । पाँच धूर जग्गामा पाँच तल्ले महल ठढ्याउनेहरूले भएका फुटपाथलाई पनि घर छिर्ने व्यक्तिगत सिढीले छोपिदिएका छन् । घरभित्रको पानी बाटोमा बग्छ । नेपालका अन्य सहरी सडकहरू जस्तै गल्लीका बाटाहरूको समेत ‘मेलम्ची’ गरिएको छ । (बोलीचालीको भाषामा ‘मेलम्ची गर्नु’ भनेको अब कृयापद जस्तै हो । त्यस अभिव्यक्तिको सांकेतिक अर्थ हुन्छ सडक खनेर लामो कालसम्म त्यतिक्कै छाडिदिनु !) धूलाम्य वातावरणलाई भौतिक विकासको पूर्वसर्तका रूपमा अथ्र्याउनु उत्साहवर्धक संकेत होइन । हुन त देशकै राजधानीको अवस्था सन्तोषजनक छैन भने प्रदेशको मुख्यालयको के कुरा गराइभयो र !

सभ्य नगरमा सार्वजनिक पुस्तकालय हुन्छ । कला दीर्घाहरू हुन्छन् । नाटकघर हुन्छ । अभिलेखागार एवं संग्रहालय हुन्छन् । यथेष्ट सार्वजनिक शौचालय हुन्छ । रंगशाला हुन्छ । बच्चाहरू खेल्ने चौर टोलटोलमा हुन्छन् । महिला निर्धक्क रातविरात पनि हिँड्न सक्ने सुरक्षाको प्रत्याभूति हुन्छ । सार्वजनिक उद्यानहरू हुन्छन् । पैदल यात्रु निस्फिक्री हिँड्न सक्ने यथेष्ट फुटपाथ हुन्छन् । ढल निकासको उपयुक्त संरचना हुन्छ । सुरक्षित तवरले फोहोर फाल्ने इन्तजाम हुन्छ । जनकपुरमा त्यस्तो केही पनि छैन।

नगर हुन चाहने तर त्यस्तो गति समात्न नसकेका बजारहरूको मनोहरता पनि आफ्नै किसिमको हुने रहेछ । पसलेलाई गफ गर्ने पर्याप्त फुर्सद हुन्छ । नचिनेका पैदल यात्रु पनि यथोचित नाता जोडेर सम्बोधन गर्छन् । कसैको घरको ठेगाना सोध्ने हो भने त्यहाँसम्म पु¥याउन आफैँ आइदिन्छन् । साना सहरहरूमा घडीको सुईसमेत सुस्त चल्ने रहेछ । एकाबिहानै छरछिमेकका लाउड स्पिकरबाट अजान एवं भजन गुन्जिन थालेपछि सुत्न सकिँदैन । बिहे व्रतबन्धको महिनामा रात झन् लामो हुन्छ । बेसुरो ‘डीजे’ भनिने बाजाहरूको घन्काइले कहिलेकाहीँ रातभर निद्रा लाग्दैन । खासै काम नभएपछि दिन काट्न पनि कम्ती गाह्रो हुँदैन । जाडोको शीतलहर वसन्त ऋतु सुरु हुने बेलासम्म धुप्प छोप्ने धुन्ध ( स्माग) बनिसकेको हुन्छ । घाम नलागेपछि ओछ्यान छोड्न मन लाग्दैन । छिनछिनमा बत्ती जाने र आउने गरिरहने भएपछि टेलिभिजन पनि खासै हेर्ने जाँगर चल्दैन । झन् स्वास्थ्यमा अलिकति पनि गडबडी देखियो भने मनमा अनेकथरी कुरा खेल्न थाल्दो रहेछ । घटना भन्दा पनि व्यक्तित्व मानसपटलमा घरिघरि आउँछन् ।

सहजताको सामर्थ्य

अहंकार सबैखाले शक्तिको अन्तर्निहित चरित्र हुने रहेछ । राजनीतिक शक्ति हुनेलाई लाग्दो हो, म नभए सबै भताभंग हुन्छ । विद्वान्लाई आफ्नो ज्ञानको व्यापकता वा गहिराइको बारेमा पूर्ण जानकारी हुन्छ, तर तिनको सीमितता भने सितिमिती ठम्याउन सक्दैनन् । धनको शक्तिले झनै विरोधाभासी इच्छा जगाउने रहेछ । एकातिर प्राप्त गरिएको उपलब्धीमा गौरव हुन्छ त अर्कोतिर सम्पत्तिको सम्भाव्य विस्तारको उपलब्धताका तुलनामा हासिल गरेको सफलताको सीमितताले ग्लानि, ईष्र्या एवं असन्तुष्टि उत्पन्न गराउन सक्छ । त्यस्तै त्रासदी प्रसिद्धिको पनि हो, शिखरमा पुगिसकेपछि ढिलो–छिटो ओर्लिनु नै पर्ने हुन्छ र त्यस्तो बाध्यताले अत्याउँछ । सायद अहंकार पनि अन्तर्मनको असुरक्षा भावको उपज हो । अहंकारीहरू प्रतिरक्षात्मक तवरले आक्रामक हुन्छन् । तिनका तुलनामा आत्मविश्वासी व्यक्तिहरू स्वभावले नम्र हुन्छन् । तिनलाई आफ्नो कमीकमजोरी लुकाउने आवश्यकता महसुस हुँदैन ।

सन्देश गृहका संस्थापक एवं लामो कालसम्म सञ्चालक रहेका केशरबहादुर मास्के चाहेका भए गमक्क परेर बस्न सक्थे । उनीकहाँ आउने र जाने जत्तिलाई नैतिकताको पाठ पढाउने अनुभव, ज्ञान एवं उपलब्धीको आयतन सबै कुरा उनमा थियो । तर, सन् ‘७०को दशकताका नयाँ सडकको पीपलबोट अगाडि सानो भारतीय तथा केही अन्य पत्रपत्रिकाको पसलमा एक प्रति अखबार किन्नेसँग पनि उनी उत्तिक्कै भद्र व्यवहार गर्थे । सन्देश गृहका सैकडौँ नियमित ग्राहक थिए, तर आफ्ना वितरक सहयोगी गंगादाइ जस्तै उनलाई पनि सबैजसो रोजाना क्रेताको रुचि कण्ठ थियो । कुनै दिन अञ्चलाधीश कार्यालयको कोपका कारण कलकत्ताबाट प्रकाशित हुने अंग्रेजी दैनिक स्टेट्सम्यान आइपुगेन भने ‘लौ आज गोयन्का सेठको आँट पढेर चित्त बुझाउनुस्, तपार्इं टाइम्स अफ इन्दिरा त के पढ्नु होला र !’ भन्दै तत्कालीन भारत सरकार समर्थक अखबारको खिसी गर्थे । तत्कालै फेरि टाइम्सका नियमित पाठकहरूको हातमा उत्तिक्कै तत्परताका साथ सो समाचारपत्र थमाउँथे । अन्तर्जालको युगमा पत्रपत्रिकाको व्यापार सायद जे हुनु थियो, त्यही भइरहेछ । सन्देशगृह बन्द भएको वर्षौं भइसक्यो । तर, केशर दाइको परिचय एवं उपस्थितिले आनन्दित भएकाहरूलाई उनको सम्झना आइरहनेछ।

चलनचल्तीको भाषामा लौह पुरुष अभिव्यक्ति सामान्यतया राज्य शक्ति वा विद्रोही समूहलाई नेतृत्व दिने व्यक्तिका लागि प्रयोग गर्ने गरिन्छ । पाकिस्तानका दक्षिण एसियाली मानवाधिकारकर्मी आस्मा जहाँगीर ( १९५२–२०१८) भने राज्य एवं विद्रोही दुवैथरीको निगरानी गर्ने व्यक्तित्व थिए । कानुनकर्मी पनि भएकाले न्याय सम्पादनका सीमितताहरू उनले राम्ररी बुझेका थिए र पनि सामाजिक जुझारूहरूले उपलब्ध अदालती कार्यवाहीको उपयोग गर्न सक्नुपर्छ भन्ने विश्वास राख्थे । राज्यशक्तिको राजनीतिक चक्र सँगसँगै प्रजातन्त्रको स्वास्थ्यका लागि सामाजिक अग्रसरताको पनि महत्व हुन्छ भन्ने कुरालाई एसियाली शासकहरूले पश्चिमा विचारधारा भनेर होच्याउन रुचाउँछन् । तर, आधुनिक प्रजातन्त्रको प्रारूप आफैँ नै पश्चिमा परिकल्पना भएकाले राजनीतिक दल चाहिँ त्यस्तै बनाउने तर सोअनुरूप सामाजिक एवं बौद्धिक संरचनाहरू निर्माण नगर्ने हो भने राज्य संरचना दिगो र दृढ रहन सक्दैन । प्रजातान्त्रिक शासन प्रणाली अंगिकार गर्नु भनेको एउटा जटिल एवं गतिशील राजनीतिक यन्त्र निर्माण गर्नु हो । त्यसभित्रको एउटा सानो पुर्जाले पनि राम्ररी काम गरेन भने कि त्यो गाडी गुड्दै गुड्दैन वा गति समातिहाले पनि दुर्घटना हुन बेर लाउँदैन । प्रजातन्त्रभित्र सामाजिक अभियन्ता वा अधिकारकर्मीको भूमिका कीर्ति बेगरको कष्टप्रद संघर्षको हो । त्यसैले होला, जुझारु अभियन्ताहरूमा आँट लामो कालसम्म कायम रहे पनि तिनको ऊर्जा क्षीण हुँदै जान्छ । त्यसपछि कोही राजनीतिमा शरण लिन्छन् । कतिपय धर्मको छहारीमा पुग्छन् । सांस्कृतिक राष्ट्रवादको सांघातिक आकर्षणसँग मानव जातिको कबिलाई प्रवृति जोडिएको छ । त्यसले गर्दा पारिभाषिक रूपले नै विश्वव्यापी प्रकृतिको रहनुपर्ने केही मानवाधिकारकर्मीहरूलाई समेत राष्ट्रवादको ज्वरोले समात्छ । अन्त्यसम्म आस्मा जहाँगीर त्यस्ता सबै मोहबाट विमुक्त जस्तै रहिरहे । कहाँबाट आएको होला, त्यस्तो संयम र दृढताले युक्त शक्ति ? सहजता त लक्षण हो, आत्मविश्वास एवं साहसको स्रोत सायद जीवनका यथार्थताहरूको स्वीकारोक्ति हो ।

जे छ, त्यसभन्दा राम्रो हैसियत हासिल गर्नका लागि संघर्ष गर्नु मानवीय प्रवृत्ति हो । त्यसो नभइदिएको भए मानव सभ्यता विकसित हुने नै थिएन । समस्या भने हैसियतका लागि गरिने द्वन्द्वले निम्त्याउने रहेछ । त्यस प्रक्रियामा महत्वाकांक्षी व्यक्तिहरू आफ्नो बाटो आफँै रोज्छन्, पहिल्याउँछन र बनाउँछन् । इतिहासले त्यस्ता व्यक्तिहरूको अभिलेख राख्छ । पुष्पकमल दाहाल आजभोलि जतिसुकै राजनीतिक संशोधनवादी एवं सांस्कृतिक अनुसारक (कन्फार्मिस्ट) भइसकेका भए तापनि कुनै बेला उनले आफ्नो चरित्र सुहाउँदो हिंसात्मक संघर्षको बाटो आफैँ रोजेका थिए । अभिलाषीहरू उपलब्ध विकल्पहरूमध्ये आफूलाई उपयुक्त पथको छनौट गर्छन् र सुविधाअनुसार बाटो फेर्दै जान्छन् । त्यस्ता व्यक्तिहरू सफल कहलिन्छन् । इतिहासले तिनको पहिचानलाई पनि मान्यता दिन्छ । शेरबहादुर देउवा सुविधा अनुसारकै पथ अंगिकार गरेर पटकपटक प्रधानमन्त्री भए । तिनका कर्महरू चिन्हित नगरी विगत चौथाइ शताब्दीको नेपालको राजनीतिक इतिहास लेख्न सकिँदैन । बाटो बनाउने वा रोज्नेहरू भन्दा फरक केही त्यस्ता व्यक्तित्व पनि हुन्छन् जो जहाँ छन्, त्यहीँ रमाउँछन् । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव ड्याग ह्यामरसोल्डको एउटा कविताको पंक्तिले त्यस्ता व्यक्तिहरूलाई बाटोले रोजेका यात्रुहरूको रूपमा चित्रित गर्छ । तिनको साध्य सफलताको साटो आत्मसन्तुष्टि हुन्छ । कर्तव्य निष्ठा तिनको प्रमुख साधन हुने गर्छ । र, नियमित दैनिकी नै तिनको साधना हो । त्यस्ता व्यक्तिहरूको प्रयत्नले सामान्यजनको जीवनलाई सह्य बनाउँछ । भारतीय पत्रकार निलाभ मिश्र पनि एउटा त्यस्तै साधक थिए । उनको भूमिका जतिसुकै सीमित भए पनि उनी भारतीय प्रजातन्त्ररूपी विशाल यन्त्रका महत्वपूर्ण पुर्जा थिए ।

दर्पलाई दर्पण

मधेसमा रंग खेल्ने कर्म वसन्त पञ्चमीदेखि नै मान्य भइसकेको हुन्छ । त्यसैले पहाडी समुदायसँगै फागुपूर्णिमाकै दिन होली खेल्नमा मधेसीलाई कुनै बन्देज छैन । परम्पराअनुसार भने पूर्णिमाको साँझ होलिका दहन गरिने भएकाले त्यो उत्सवको नभएर प्रभावपूर्णता (सलेम्निटी) भएको पर्व हो । त्यसको भोलिपल्टसम्म त जलाउने संस्कार गरिएको स्थलमा गएर ‘जे जीवे से खेले फागु, जे मरे से लेखा ले’ भन्ने जीवन सूत्र जाप गर्दै ‘धुरा उडाउने’ कर्म सम्पन्न हुन्छ । त्यसपछि शुद्धता स्नान गरेपछि बल्ल रंगोत्सव सुुरु हुन्छ । त्यस अर्थमा फगुवा दिवंगतहरूलाई सम्झिने दिन पनि हो । केशर दाइ एवं मोहतरमा आस्मा जस्तै साधक निलाभ मिश्रलाई नसम्झी पंक्तिकारको परम्परागत ‘धुरा उडाउने’ दायित्व पूरा हुँदैन । केशर दाइले चाहेका भए ठूलो व्यापारी बन्न सक्ने सबैखाले स्रोतमा उनको पहुँच थियो । उनी आफ्नो साधनामा रमाए । सार्वजनिक जीवनको आफ्ना कतिपय समकक्षीजस्तै मोहतरमा आस्मा मन्त्री, राजदूत वा अन्य त्यस्तै प्रतिष्ठाको पद रोज्न सक्ने थिए । उनले संघर्षमय दैनिकी अंगिकार गरे । मित्र निलाभ भारतीय स्वतन्त्रता सेनानी तथा संस्कृत एवं मैथिली साहित्यका प्रकाण्ड पण्डितहरूको परिवारमा जन्म पाएका थिए । उनको आमा प्रतिष्ठित साहित्यकार एवं बुवा बिहार राज्यका मन्त्री थिए । मैथिली, भोजपुरी एवं हिन्दी सँगसँगै अंग्रेजीमा पनि त्यतिक्कै सहजतासाथ कलम चलाउन सक्ने पत्रकार भएकाले उनका लागि बाटो बनाउने वा बदल्ने दुवैथरी अवसर सहजै उपलब्ध थियो । उनले सफलताको प्रतिस्पर्धामा दौडिनुको साटो अन्तिम समयसम्म संघर्ष नै गरिरहे ।

थोरै समयसम्म उनको सम्पादकत्वमा प्रकाशित हिन्दी आउटलुक पत्रिकाको स्तम्भकार रहेकाले निलाभको सम्पादकीय क्षमताको पूर्ण जानकारी यस पंक्तिकारलाई छैन । उनका सहकर्मीहरूका अनुसार उनी पत्रकारिताका आधारभूत मूल्य एवं मान्यतामा कुनै सम्झौता नगर्ने खालका सम्पादक थिए । भनिन्छ, बिहारको आम चुनावको मुखमा एकपटक भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले उनलाई जलपान गर्न पटना निम्त्याए र त्यसपछि उनलाई सम्पादकको जिम्मेवारीबाट मुक्त गरियो । युवा छँदा उनले टाइम्स समूहका साहु समीर जैनलाई सार्वजनिक रूपमा प्रश्न गरेका थिए । उनको देहान्तमा श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उनलाई ‘सत्तालाई सत्य सुनाउन सक्ने सम्पादकहरूको पनि सम्पादक’ भन्दै कीर्तिगाण गरे । निलाभले सो कुरा सुनेका भए हाँस्थे । खासमा सत्तालाई सत्य सुनाउनु सोचिए जति कठिन छैन । मुख्य कुरा के हो भने त्यस्तो सत्यको छनौट कुन उद्देश्यले गरिएको छ र त्यसले के कस्तो प्रभाव उत्पन्न गराउन सक्छ ।

राजनीतिमा दाहालको प्रचण्ड रापताप रहेका बेला राजा पृथ्वीको सालिकलाई रंगरोगन गरेर एकथरी सत्य तत्कालीन सत्तालाई लक्ष्मण खड्काले पनि सुनाउने गर्थे । मधेस विद्रोहका सहिदहरूको रगतको अवमूल्यन गर्ने बुद्धिजीवीहरूले राष्ट्रवादी सत्य स्थायी सत्ताका अगाडि पस्किरहेका हुन्छन् । तर, जुन सत्यले शक्तिशालीलाई असहज एवं शक्तिहीनलाई सशक्त बनाउँदैन, त्यस्तो सत्यभन्दा मौन कर्मको शक्ति धेरै बढी हुन्छ । शक्तिको दम्भलाई पटक पटक ऐना देखाउनु क्रान्तिकारी जस्तो नलागे पनि युगान्तकारी काम हो । श्रद्धाञ्जली केशर दाइ, आदाव आस्मा आपा अनि फगुवाको रंगको साटो होलिका दहनमा जलाइएको सम्मतको खरानी निलाभको सम्झनामा । इतिहास बनाउने एवं लेख्नेहरूको मात्रै हुँदैन । अभिलेखमा सबभन्दा बढी हक भोग्नेहरूको लाग्छ ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App