coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बालुवाटारको होली

तिथि : होली पूर्णिमा ।
स्थान : बालुवाटार ।
पात्रहरू : कमरेड केपी ओली, क. प्रचण्ड, भूपू क. उपेन्द्र यादव एवं अन्य कमरेड तथा नयाँ पुराना कमरेडहरू ।सररर... बोलो सररर...ए होली हेऽऽ

बालुवाटार प्रांगणमा लगातार यही होली गुन्जिरहेको छ । र, गीतकै धुनमा नेता तथा कार्यकर्ता नाची पनि रहेका छन् । साथै एकले अर्कोलाई पानी छ्यापेर, रंग दलेर होली खेली पनि रहेका छन्।

आखिर बालुवाटारको होली हो । त्यहाँ न पानीको अभाव थियो, न रंगको । बालुवाटारको होली भएर पनि होला, त्यहाँ सबैखाले मानिसहरूको उपस्थिति थियो । आखिर आफूमाथि पनि अलिअलि बालुवाटारको रंग लागोस् भन्ने कामनाले होला, सबैजना आ–आफ्ना हाउभाउ देखाइरहेका थिए।

होली खेल्दाखेल्दा नेता कार्यकर्ताको अनुहार मात्रै होइन, पूरा जिउ नै रंगीन भइसकेको थियो । शरीरभरि विभिन्न प्रकारका रंग दलिएका कारण हुन सक्छ, होली खेलिरहेका नेता कार्यकर्ता चिन्न पनि नसकिने अवस्थामा थिए । चिन्नु पनि कसरी, शरीरभरि दलिएको रंगले उहाँहरूको रूपै फेरिएको जस्तो लाग्छ।

झलक्क देख्दा एउटा जस्तो लाग्छ, नजिक गएर हेर्दा अर्कै भएको हुन्छ । मजाले नाचिरहेका एउटा नेतालाई यसो हेरेको कमरेड प्रचण्डजस्तो लाग्यो । अगाडि गएर हेर्दा त कमरेड केपी ओली पो रहेछन् । कस्तो प्रचण्ड र ओली नै छुट्याउन गाह्रो । त्यस्तै, अर्को एक नेता पनि छुट्याउन गाह्रो पर्‍यो । हात उचालिउचाली नाचिरहेका उनलाई झलक्क देख्दा कमरेड ईश्वर पोखरेलजस्तो लागेको थियो, नजिक गएर हेर्दा त कमरेड रामबहादुर थापा पो रहेछन् ।

अझ सबैभन्दा ठूलो कन्फ्युज त भूपू कमरेड उपेन्द्र यादवमाथि भयो । उनी पनि मजाले नाचिरहेका थिए । तर नजिक गएर हेर्दा त कहाँ उपेन्द्र यादव हुनु, उनी त लालबाबु पण्डित पो रहेछन् ।जेहोस्, बडा गोलमाल भइरहेको थियो । तथापि त्यही गोलमालमा मजा पनि आइरहेको थियो । मलाई भने एउटै मात्र कुराको चिन्ता थियो । मजैमजामा कसैले कमरेड केपी ओलीलाई भनेर सर्लक्क तान्दा कमरेड कोमल ओली नपरून् । अब नहोला भन्ने पनि के ग्यारेन्टी । मान्छेले मान्छेलाई चिन्न गाह्रो भइरहेको त्यो स्थितिमा एउटालाई भनेर तान्दा अर्को पर्ने सम्भावना त प्रशस्तै थियो।

अब होली भनेको त मूलतः रंगैरंगको पर्व हो । बालुवाटारको होलीमा रंगको झन् ठूलो कमाल देख्न पाइन्थ्यो । नेताहरू रंगसँग यसरी खेलिरहेका थिए कि त्यो एक किसिमको कमालै थियो । जस्तो कि कमरेड प्रचण्डलाई नै हेर्नुस्, रंगसँग उनले खेलेको खेल चमत्कारपूर्ण थियो । होली खेल्न बालुवाटार जाँदा उनी रातो कुर्ता लगाएर गएका थिए । पाइजामा पनि करिबकरिब रातो नै थियो । दुई–चार मिनेट होली के खेले, उनको रातो कुर्ता पूरै पहेँलो भइसकेको थियो ।

वा भनौँ रंग पूरै बदलिसकेको थियो । रातो रंगमा आएका प्रचण्ड कमरेड पहेँलोमा बदलिसकेपछि मैले त बल्लबल्ल ठम्याउन सकेँ । अरुले ठम्याउन सके वा सकेनन् थाहा भएन । पहेँेलो रंगमा देखेकाले मैले त उनी कमरेड केपी ओली हो कि भन्ठानेको थिएँ । अगाडि पुग्दा प्रचण्ड रहेछन् । मैले भनिहालेँ, ‘ओहो कमरेड ! म त झन्डै झुक्किएको ।’‘किन र ? किन झुक्किनुभएको ?’ उनले ङिच्च हाँस्दै सोधे ।मैले भनेँ, ‘अघि सुरुमा त तपाईंलाई पूरा रातोमा देखेको थिएँ । अहिले पूरै पहेँलो भइसक्नुभएछ । कस्तो चिन्नै गाह्रो भएको।’

‘ए, हो र ?’ उनी अहिले पूरै हाँसे, ‘खोइ, अघि केपी कमरेडले दलिदिनुभाथ्यो, के के रंग प¥यो थाहै भएन ।’
सँगै भूपू कमरेड उपेन्द्र यादव पनि ‘सररर...’ मा नाचिरहेका थिए । सुरुमा त उनलाई मैले लालबाबु पण्डित भन्ठानेको थिएँ, होइन रहेछ ।‘अरे उपेन्द्रजी, तपाईंलाई पनि कस्तो चिन्नै गाह्रो भएको,’ मैले भनेँ।
‘हो र ? होली हो नि त,’ उनी आफ्नो पूरै सेतो दाँत देखाएर हाँसे । तर दाँत सेतो भए पनि उनको जिउ भने पूरा सुन्तले रंगमा बदलिसकेको थियो, जो सुरुमा आउँदा हरियो रंगमा थियो।

उता भर्खरै गृहमन्त्री नियुक्त हुनुभएका रामबहादुर थापाको रंग पनि पूरै बदलिसकेको थियो । सुरुमा उनी पनि हल्का रातो कोट लगाएर आएका थिए । तर, अहिले आफ्नो जिउमा के के रंग लागिसक्या हो, उनलाई थाहासम्म छैन । मैले भनेँ, ‘ओहो, गृहमन्त्रीज्यू ! तपाईंको पनि पूरै रंग बदलिसकेको रहेछ । कस्तो चिन्नै गाह्रो भाको।’

उहाँ फिसिक्क हाँस्नुभयो (वा हाँसेजस्तो मात्रै गरेको पनि हुन सक्छ), ‘बालुवाटारमा पहिलोचोटि होली खेलिरहेको छु, रंगको त कुरै नगर्नुस् । होली यस्तो हुन्छ भन्ने कुरा त अहिले पो थाहा पाउँदै छु ।’
उनीसँग कुरै टुंगिएको थिएन कि फेरि त्यहीँनेर कमरेड प्रचण्ड देखापरे । तर उनलाई देखेर म पुनः चकित परेँ । किनभने अघिसम्म पहेँलोमा देखिएका उनी अहिले खैरोमा परिणत भइसकेका थिए । अहिलेको अहिले नै उहाँको रंग बदलिसकेको रहेछ।

‘अरे, तपाईंको रंग त फेरि बदलिसकेछ नि कमरेड !’ उनलाई देख्नेबित्तिकै मैले भनिहालेँ ।‘साँच्चै हो र ?’ उनले एकैछिन आफ्नो जिउ नियाले, ‘हो रैछ त । होस् अब । नखेल्नु होली खेलिसकेपछि यस्तै हो ।’त्यत्तिकैमा ‘सररर...’ को लयमा उनले हात उचाल्दै एक फन्को लिनुभयो।सररर... सररर... सररर...जतिपटक सररर... आयो उति नै पटक उनी फन्को मार्दै जान थाले ।               

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App