coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिआइबी हिरासतमा ‘भिलेन’सँग एक घण्टा

‘रिल लाइफ’मा दर्जनौंपल्ट प्रहरी खोर पुगेका नेपाली फिल्मका खुंखार भिलेन राजेन्द्र खड्गी यतिबेला ‘रियल लाइफ’मै प्रहरी हिरासतभित्र छन्। २० दिनयता काठमाडौं, महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा उनको दैनिकी कटिरहेको छ।

प्रहरीका नजरमा उनी यतिबेला कलाकार होइनन्, अवैध मानव ओसारपसारको गम्भीर अपराधका अभियुक्त हुन् । काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनीमाथि ११ जना नेपालीसँग पैसा लिएर कोरिया पुर्‍याई उतै छाडेर आएको अभियोगमा अनुसन्धान गरिरहेको छ। उनीमाथिको अभियोग अदालतमा पुष्टि भयो भने अबका २० वर्ष उनले जेलमा बिताउनुपर्नेछ। 

फागुन ११ गते शुक्रबार मध्याह्न खड्गीको आफन्त बनेर संवाददाता भेट्न सिआइबी हिरासत कक्ष पुगेको थियो। उही ‘डरलाग्दो’ ज्यानमा नीलो ज्याकेट, हल्का ग्रन्च गरिएको नीलै रङको पेन्टमा मुस्कुराउँदै बन्दी भेटघाट कक्षमा आइपुगे उनी ।

ती ११ जना जसका कारण खड्गी थुनामा पुगे 

टीकाराम तिम्सिना

पासाङ शेर्पा

निमा शेर्पा

लालबहादुर थापा

अमरबहादुर थापा

कालु लामा

दोर्जे लामा

राजेन्द्र राना मगर

राजु माझी

पेम्बा लामा

श्रीप्रसाद लामा

मानव वेचविखन तथा ओसारपसार जस्तो गम्भीर अपराधमा हिरासत पुग्दासमेत उनको दिमागमा फिल्मी ह्याङ उस्तै देखियो । वास्तवमै उनी हिरासतमा छन् तर उनलाई यो कुनै फिल्मी स्क्रिप्टझैँ लागिरहेको छ । हिरासत कक्षलाई उनले सुटिङको सेट सम्झिरहेका छन् अनि आफूसँगै  विभिन्न अभियोगमा हिरासतमा रहेका र हिरासत कक्षको सुरक्षामा खटिएकाहरु फिल्मका विविध क्यारेक्टर। 

‘मलाई मिल्क टी है,’ संवादको प्रारम्भमै उनले सिआइबी क्यान्टिनमा अर्डर गरे । संवाद करिब एक घण्टा चल्यो । कुराकानीमा उनी रक्षात्मक देखिए । हिरासत यात्रालाई फिल्मसँग जोडेर व्याख्या गरे ।
‘मलाई अहिले ‘तपस्या’ फिल्मको याद आइरहेको छ,’ आफ्नो लर्केको कपाल सम्हाल्दै उनले फिल्मी सिन सम्झँदै भने, ‘त्यहाँ पनि मेरो जेलभित्रको सिन थियो । क्यारेक्टर त अर्कै थियो तर यहाँ हेर्दा केही मिल्थ्यो । मलाई अहिले आफू राजेश हमालको क्यारेक्टरमा छुजस्तो महसुस भइरहेको छ ।’ 

भात खाँदाखाँदै झ्याप्पै
तीन साताअघि काठमाडौंस्थित कोरियाली दूतावासले डकुमेन्ट्री बनाउने भन्दै आफ्नो देश पुगेका १३ जनामध्ये २ जना मात्रै नेपाल फर्किएको भन्दै सिआइबीको ध्यानाकर्षण गरायो। 

अनुसन्धानमा पैसा लिएर ११ जनालाई कोरिया नै छाडिएको देखिएपछि ब्युरो नेपाल फर्किएकाको खोजीमा लाग्यो। दुई जनामध्ये एक जना थिए उनै खड्गी। त्यही आरोपमा माघ २५ मा खड्गी पक्राउ परे।
‘पक्राउ पर्नु अघिल्लो रात मेराबारे खबर आएका थिए,  भोलिपल्ट डिएसपी सा’बले फोन गर्नुभयो। म त्यतिबेला ठमेलमा खाना खाइरहेको थिएँ। उतै बोलाए,’ पक्राउ पर्दाको क्षण सम्झँदै उनले भने, ‘तपाईंमाथि यस्तो आरोप छ, अनुसन्धानमा सहयोग गरिदिनुस् भनेपछि मेरै गाडीमा प्रहरीसहित सिइआइबी कार्यालय आएँ।’

भोलिपल्ट प्रहरीले उनलाई अदालतमा पेस गर्‍यो। अदालतले प्रहरीको दाबीअनुसार अवैध मानव ओसारपसारमा अनुसन्धानका लागि म्याद दियो । उनी सिआइबीको हिरासतकक्ष पुगे ।

प्रतिव्यक्ति १५ लाख
खड्गीको दाबीअनुसार मार्सल आर्टका गुरु ओयामाको नाममा डकुमेन्ट्री बनाउन आफूसहित १३ जनाको टोली कोरिया पुगेको हो । आफू र सिनेमाटोग्राफर दिव्यराज सुवेदी फर्किए पनि बाँकी ११ जना अझै भिषा बाँकी छ भनेर नफर्किएको उनले स्वीकारे। 

प्रहरी  दाबीअनुसार उनले प्रतिव्यक्ति १० देखि १५ लाख लिएर ११ जनालाई कोरिया पुर्‍याई उतै छाडेर आएका हुन् तर उनी सबैलाई उतै छाड्ने भनेर पैसा नलिएको दाबी गर्छन् । ‘म लप्पनछप्पन जान्दिनँ, जे हो स्ट्रेट्ली बोल्छु,’ उनले यस संवाददातासँग भने, ‘जापानमा सुटिङ सकाएर गुरु ओयामाको बाल्यकाल खिच्न कोरिया गएको हो।’ यसका लागि उनले तीन महिना तालिम दिएर, अभिनयमा पोख्त बनाएर ११ जनालाई लगेको बताए। ‘सुटिङ सकाएर म र सिनेमाटोग्राफर १५ दिनमै फर्कियौँ । उनीहरु भिसा सकिएपछि आउँछौँ भनेर उतै बसे,’ उनले भने, ‘उनीहरूले मलाई धोका दिए ।’

आफ्नो रिस्कमा लगेपछि आफूसँगै फर्काउनु तपाईंको दायित्व हैन र ? भन्ने प्रश्नमा उनले उल्टै कोरियाली दूतावासलाई दोष देखाए, ‘तीनपल्ट रिजेक्ट गरेपछि कोरियाबाट आर्टिस्ट एसोसिएसनको मान्छेले ग्यारेन्टी गरेपछि चौथो पल्टमा मात्र भिसा दिएको हो, मेरो कारण मात्र भिषा दिएको हैन। उनको दाबी थियो, ‘मैले १५ दिनको  भिसा आवेदन दिएको थिएँ । तीन महिनाका लागि भिसा दियो । भिसाको म्याद अझै बाँकी छ, हामी घुमेर आउँछौँ भनेपछि मैले घिसारेर ल्याउनु ?’

उनले कोरियाली दूतावासलाई प्रश्न गरे, ‘कोरियाली सरकारले तीन महिना त्यहाँ बस्ने अधिकार दिएपछि मैले १५ दिनमा कसरी फर्काएर नेपाल ल्याउने ? यो दोष मेरो कि लामो समय भिसा दिनेको ?’
तपाईंले पैसा लिएर उनीहरुलाई उतै छाडेको भन्ने अभियोग छ नि ? भन्ने प्रश्नमा उनले पैसा लिएको सकारे तर कारण भने स्वीकार गरेनन् । ‘पैसा डकुमेन्ट्रीका लागि लिएको हो, उनीहरु पनि मेरो सहयोगी निर्माता हुन् । मसँग त्यो सबै कुराको प्रमाण छ,’ उनले खुलाए ।

खड्गीले विभिन्न कार्यक्रममा सहभागी हुन विदेश जाने र उतै बस्नु सामान्य भएको बताए। कलाकारको बहानामा विदेश गएर उतै लुक्नेहरु र लुकाउनेहरुबारे आफूलाई समेत थाहा भएको उनले दाबी गरे तर ती को हुन् भनी खुलाएनन् । कुराकानीको क्रममा एउटा कार्यक्रम भने खुलाए।

‘अस्ति अमेरिकामा खम्बुवान अवार्ड भयो । नेपालबाट धेरै कलाकार बनेर गए । गएका कति फर्किए, कति फर्किएनन् । यस्तो काम गर्ने धेरै छन् । अहिले म थुनामा परेपछि सायद धेरै तर्सिएका होलान्,’ उनले भने ।
सेमिनार, कल्चरल प्रोग्राम, सुटिङ, बिजनेस लगायतका बहानामा विदेश गएर उतै लक्ने प्रवृत्तिबारे उनले सिआइबीका प्रहरीलाई जानकारी पनि दिएको उनले बताए। 

‘यहाँ (सिआइबी हिरासत) मैले एकदिन ब्ल्याङब्लुङ सबै बोल्दिएको हुँ। यो क्राइम पनि होइन, क्राइम पनि हो,’ उनले भने ।

दोस्रो हिरासत यात्रा
शुक्रबारकर्मी भेट्न पुग्दा खड्गीले सिआइबीको हिरासतमा १५ दिन बिताइसकेका थिए । भेट भएकै दिन उनीमाथि थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप भयो । 

खड्गीका लागि यो पहिलो हिरासत अनुभव होइन भनी उनैले खुलासा गरे । उनी आफैँले शुक्रबार संवाददातासँग पहिलो हिरासतको अनुभव खुलाए । पहिलो हिरासतयात्रा २०३७ सालमा भएको उनले बताए। 

‘पहिलो पटक पक्राउ परेको हेटौँडामा हो, झगडा हुँदा पुलिसले समातेर लगेको थियो,’ उनले भने, ‘एक हप्ता हिरासतमा बसेर छुटेँ ।’

दोस्रो हिरासत यात्रा उनका लागि मुस्किल बनेको छैन भन्ने उनको दाबी थियो । भन्दै थिए, ‘म यहाँ अरु भाइहरुको अभिभावक भएको छु। लाइफ यस्तै हो भनेर उनीहरुलाई  सम्झाउँछु । खानेकुरा बाँडेर खान्छौँ । दिमागमा फिल्मको स्क्रिप्ट घुमिरहन्छ । मेरा लागि हिरासतमा पर्नु स्क्रिप्ट क्रिएट गर्ने मौका दिएजस्तो भएको छ । हिरासतमा बस्दा धेरै स्क्रिप्ट सोचिसकेँ ।’

हिरासतभित्र उनी अन्ताक्षरी खेल्छन् । गीत गुनगुनाउँछन् । सुनाउँदै थिए, ‘अस्ति चिनिया नागरिक थुनामा आएका थिए । उनीहरुसँग गीत गाइयो । खुब रमाइलो गरियो ।’

हिरासतमा परेपछि उनले कानुनको महत्व बुझेछन् । चिनियाले भनेको सम्झँदै खड्गीले भने, ‘जे काम गर्दा पनि त्यो देशको ल एन्ड अर्डर थाहा हुनुपर्ने रहेछ । चलिहाल्छ भन्दा फस्ने सम्भावना हुने रहेछ !’ 
हिरासतको अर्को शिक्षा ‘विश्वास’माथि रहेछ । उनको दाबीअनुसार कोरिया गएका ११ जनालाई बडो विश्वास गरेर लगेका थिए उनले । अहिले नराम्रो धोका पाए रे !

‘ती भाइहरुले नेपालमै काम गरेर दिनको दुई हजारसम्म कमाउन सक्थे तर धोका दिए । बढी विश्वास गर्दा पनि फसिने रहेछ,’ उनको आफैँमाथि गुनासो थियो ।

हिरासत भेटघाट कक्षमा एक प्रहरी आएर तोकिएको समय सकिएको संकेत गरे । 
खड्गीले कुराकानीको अन्त्य पनि फिल्मी शैलीमा गरे, भने ‘अहिलेको मेरो अवस्था भनेको ठ्याक्कै फिल्मको प्रि–क्लाइमेक्स हो ।’  

त्यसपछि उनी फिस्स हाँसे । केही तस्बिर खिचाए र हिरासतभित्र पसे । दुःखको कुरा, त्यतिबेला एउटा फिल्ममा देखा परिरहने ‘भिलेन’ सुटिङका लागि सेटमा गइरहेको थिएन, प्रहरीको वास्तविक हिरासत कक्षमा पसिरहेको थियो ।

'अरू कलाकार पनि अनुसन्धानमा'

खड्गीको अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी निरीक्षक सुवास खड्का कोरिया १३ जना गएको तर फर्कंदा दुई जना मात्र फर्किएको देखिएको बताउँछन् ।  अनुसन्धानको पाटो ११ जना केन्द्रित रहेको उनले बताए ।

‘अब ती ११ जना कलाकार थिए कि थिएनन् ? कति पैसा लिएर उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो भन्ने नै अनुसन्धानको विषय हो,’ उनले भने। 

स्रोतका अनुसार अनुसन्धानको प्रारम्भ कोरियाली दूतावासको गुनासोबाट सुरु भएको थियो। नेपालमा सिआइबीले खड्गीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ भने उता कोरियाली प्रहरीले भागेका ११ जनाको खोजीसँगै खड्गीलाई कोरिया लैजान साक्षी बस्नेमाथि समेत अनुसन्धान गरिरहेको छ।
‘विभिन्न आवरणमा नेपाली नागरिकको अवैध ओसारपसार हुने गरेको सूचना धेरै अगाडिदेखि आएको हो,’ ब्युरोका एक उच्च अधिकारीले भने, ‘कलाकारदेखि नेतासम्मको नाम आएको छ । यसबारे अनुसन्धान भइरहेकाले अहिले नाम नखुलाऊँ ।’

शुक्रबार साप्ताहिकबाट

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App