८ वैशाख २०८१ शनिबार
अन्य

राकेशलाई कसले देला खाना-पानी!

जनकपुर- गरिब परिवारमा जन्मेवापत् उनले टोल–समाजका अन्य बालबच्चाजस्तो स्वतन्त्रता पाउन सकेनन्। विद्यालय जान पाउनु त धेरै परको कुरा, उनले आफैंलाई चिन्न नपाउँदै पेट पाल्नकै लागि श्रम बेच्न बाध्य हुनुपर्‍यो।

 व्यक्ति–समाजबारे बुझ्नसक्ने उमेरले नछुँदै नसालु पदार्थको लतमा फसेे। महोत्तरी सदरमुकाम जलेश्वरको एउटा खाजा पसलमा भाँडा मस्काउने काम पाएका उनले जाँगर चलेसम्म त जेनतेन गुजारा चलाए। दिनदिनै प्रयोग गर्ने गाँजा र भाङको असरले छुन थालेपछि बालकबाट जवान हुनुपर्नेमा उल्टो गतिमा शरीर परिवर्तन हुनथाल्यो। होटलमा पाएको जिम्मेवारी पूरा गर्न असमर्थ हुँदै गए। एक दिन साहुले कामबाट निकालिदिएपछि घर त फर्किए। तर, घरका मान्छेले बेकामे भन्दै अपमान र घृणा गर्न थालेपछि दिमागले पनि काम गर्न छोडिदियो।

 सुरुमा सही–गलत बुझ्न नसकेर लतमा फसेका उनलाई पछि नसालु पदार्थ नभेटे निद्रै नलाग्ने समस्या हुन थाल्यो। कामबाट निकालिएपछि भोको पेट नै बोझ भइदियो। उनले बस्ती, बजारमा मागेर खान थाले। सोहीक्रममा परिवार र समाजबाट हुने 'प्रहार' पचाउन नसकेर दिमागी सन्तुलन गुमाए। केही महिनापछि समाजको दबाबमा परिवारले उपचार गराउने प्रयास पनि गर्‍यो। तर, आर्थिक अभावमा पूर्ण उपचार हुन सकेन। अहिले पूरै मानसिक सन्तुलन गुमाएका उनको दिनचर्या निकै कष्टप्रद छ।

 उनी हुन्, महोत्तरी सदरमुकाम जलेश्वर–४ का अन्दाजी ३२ वर्षीय राकेश पासमान। सोमबार एकाबिहानै जानकी मन्दिर परिसरमा देखिएका उनका दुवै खुट्टामा घाउ छ। खान नपाएर अत्यन्तै कमजोर बनेका उनले मन्दिर परिसरमा प्रसाद र फूलमाला पसललेसँग पैसा मागिरहेका थिए। तर, कसैले वास्ता गरिरहेका थिएनन्। केही नलागेपछि हातमा रहेको डन्डी बन्दुक ताकेजस्तै गरेर ‘म प्रशासन हुँ, मलाई पैसा देऊ। नत्र यहाँबाट सबैलाई धपाइदिन्छु’ भन्दै थिए। मन्दिर परिसरमै अन्तर्राष्ट्रिय योग दिवस अवसरमा चलिरहेको योग शिविरको सुरक्षार्थ परिचालित प्रहरीले सुनेर पनि उनको कुरो नसुनेझैं गरिरहेको थियो, कारण– त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन।

 मनले जे भएपनि जिउडाल हेर्दा साँच्चै उनी मानसिक अवस्था असन्तुलित भएझैं देखिन्छन्। त्यसैले उनले मागेर पनि भोक–तिर्खा मेट्न पाइरहेका छैनन्। सार्वजनिक धारामा पानी खान गयो कि कसैले न कसैले आएर पिटिदिन्छन्। धारो छुनै दिँदैनन्। भोक मेट्न भनेर होटलअगाडि माग्न जाँदा परैबाट लखेटिदिन्छन्।

 नागरिककर्मीले पैसा तिरेर खाजा खुवाउन जाँदा जानकी मन्दिरछेउको शिव मिष्ठान्न भण्डारले ग्राहक भाग्ने भन्दै उनलाई होटलमा छिर्नै दिएनन्। ‘धेरै पैसा छ भने उता ठेलावाला नास्ता किनेर खुवाउनुस्’ भन्दै शिव मिष्ठानका सञ्चालकले उल्टै हपारेर पठाए। चिसोपानी दिएपछि उनले आफ्नो नालीबेली सुनाए। ‘मारवाडीहरूले अन्डरग्राउन्ड घरमा छलीका छली सुन राखेका छन्। सम्पत्तिको कुनै कमी छैन। तर, एकमुठी खान माग्न जाँदा पिटेर धपाइ दिन्छन्। हलुवाईको पसलमा मिठाइ र खानाको ढेर हुन्छ तर एक घुट्को पानीबिना मान्छे मरिहाल्छ तर उसले दिँदैन। सही भन्ने हो भने यिनीहरूकै कारण राजा महेन्द्र मरिसके। यस्ता मानिस रहेसम्म देश बन्दैन,’ चिसो पानी टाउकामा खन्याउँदै उनले आफ्नो भाषा (मैथिली) मा मनभित्रको पोको खोले। उनले खास जातको नाम उच्चारण गरेपनि सुनपसल र खाजा पसल चलाउने जात निश्चित छैन।

 एकछिन रोए। र, बाल्यावस्थादेखि अहिलेसम्मका घटना विवरण उनले सुनाए। उपचारका लागि भारतको राँची पुगेको स्मरण छ। भावनामै बहकिएर पाकिस्तान र अमेरिका पनि उपचार गराउन गएको तर निको नभएको उनले सुनाए। यद्दपि, पाकिस्तान र अमेरिका गएको भन्ने उनको भाव बनाबटी भएको प्रस्ट झल्किन्थ्यो।

 यतिबेला उनले उपचारको अपेक्षा गरेका छैनन्। उपचार हुनुपर्छ वा आवश्यक छ भनेर पनि पर्वाह गरिरहेका छैनन्। पेटभर खान र पिउने पानीको मात्रै सही व्यवस्था भइदियो भने उनको दिमागमा सुधार आउने संकेत देखिन्छ। तर, त्यो गरिदिने कसले? समाजले उनलाई सकारात्मक तरिकाले हेर्दैन। स्थानीय प्रशासनको बुझाइमा पनि उनी त्यस्तै गनिन्छन्। सरकारलाई देश हाँक्ने राजनीति व्यवस्थापन र विकासे बजेट खर्च गर्नै हम्मे छ, यस्ता दीन–दुःखीको व्यवस्थापनमा किन ध्यान जान्थ्यो होला र!

प्रकाशित: ७ असार २०७३ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App