४ वैशाख २०८१ मंगलबार
राजनीति

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

टीकापुर – हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ। 

मृतक परिवार र स्थानीयबासीले आइतबार दिउँसो टीकापुर १ स्थित मेयर रावल घर अगाडि प्रदर्शन गरेका हुन्। 
बिहीवार राति विभत्स हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्यारा मेयरको आफन्त भएको र जोगाउन खोजेको भन्दै स्थानीयले मेयरविरुद्ध प्रदर्शन थालेका हुन्। 

मेयरको घरअघि करिब ३ हजार भन्दा बढीको भिड लागेको छ। सुरक्षाका लागि ३/४ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

हत्यारा अझै फरार, आन्दोलन जारी

हत्याको विरोधका कारण आज पनि टीकापुरको जनजीवन ठप्प छ। बन्दका कारण बजार, यातायात, उद्योगधन्दा, शैक्षिक संस्थाका साथै सरकारी कार्यालयको कामकाज अवरुद्ध छ।

मृतकका आफन्तले हत्यारालाई कारवाहीको माग गर्दै थालेको आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गर्दै माईकिङ गरेका थिए। आफन्तले विगत तीन दिनदेखी आन्दोलन गर्दै आएका छन्। उनीहरुले आज पनि इलाका प्रहरी कार्यालय अघि धर्ना दिएका छन। 

मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै पोष्टमार्टम गर्न दिएका छैनन्। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले आजै मृतकका बुबा भारतबाट पुग्ने र पोष्टमार्टम गरिने बताए। मृतकका बुबा रोजगारीका क्रममा भारतमा थिए। 

एसपी घिमिरेले तीन दिनभित्र हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने लिखित सहमति भएको जानकारी दिए। उनले सहमतिसँगै मृतकका आफन्तले आन्दोलन स्थगित गर्ने बताए। 

करिब १५ हजार मान्छे जम्मा भएको ठाउँमा केही व्यक्तिले धारिलो हतियार प्रहार गरेर थापाको हत्या गरेका थिए। उनको टाउको, पेट, छाती र पिठ्युँ गरी पाँच ठाउँमा प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानका लागि अहिलेसम्म १३ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा मुख्यगरी दुई जनाको संलग्नता रहेको प्रहरीको भनाई छ। उनीहरु फरार छन। प्रहरीले खोजी कार्य ब्यापक पारेको एसपी घिमिरेले जनाए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App