coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एआइडिबीले सात स्थानीय तहमा दुई अर्ब लगानी गर्ने

बैंकले दिने रकमबाट कलैया उपमहानगरपालिकामा निर्माण हुने आयोजनाको स्थलगत निरीक्षण गर्दै नगरप्रमुख यादव, बैंक प्रतिनिधि किम र सहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारी । तस्बिर : उपेन्द्र-नागरिक

बारा – चीनमा मुख्यालय रहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइडिबी) ले विभिन्न सातवटा स्थानीय तहको पूर्वाधार र आयआर्जन हुने योजनामा दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

बैंकले सहरी विकास तथा भवन निर्माण विभागको सहरी पूर्वाधार लगानी आयोजनाअन्तर्गत सातवटा स्थानीय तहको मुख्य पूर्वाधार, आयआर्जन बढाउने र समुदायको विकास हुने आयोजनामा एक सय ५० करोडदेखि दुई सय करोड रुपैयाँसम्म लगानी गर्न लागेको बताइएको छ।

बैंकले लगानी गर्न लागेका सातवटा स्थानीय तहमा तीनवटा उपमहानगरपालिका र चारवटा नगरपालिका रहेको विभागका अधिकारीले जानकारी दिएका छन् ।केही दिनअघि एआइडिबीका प्रतिनिधि र विभागका अधिकारीले लगानी गर्न छानिएका कलैया, जितपुरसिमरा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख तथा पदाधिकारीसँग निर्माण गरिने आयोजनाबारे अन्तक्र्रिया गर्नुको साथै निर्माण गरिने स्थानको निरीक्षण गरेका छन्।

विभागका उपमहानिर्देशक तथा आयोजनाका निर्देशक पदमकुमार मैनालीले विगत डेढ वर्षको प्रयासपछि बैंकले सातवटा स्थानीय तहको पूर्वाधार र आयआर्जन योजनामा सुरुमै एक सय ५० करोडदेखि दुई सय करोडसम्म लगानी गर्न लागेको बताएका छन् ।बैंकले सहरी पूर्वाधार लगानी आयोजनाअन्तर्गत स्थानीय तहमा लगानी गर्ने रकममध्ये अधिकांश भाग अनुदान र केही ऋण हुने विभागका अधिकारीले बताएका छन्।

बैंकले लगानी गर्ने आयोजनाबारे बुझ्न नेपाल आएका एआइडिबीका पिटिएल साङमो किम र कन्सल्टेन्ट टासी तेन्जिङ फर्केर चीन गएपछि लगानी रकमबारे सम्झौता हुने मैनालीले बताए ।‘सुरुमा गरिएको छलफलमा बैंकका पदाधिकारीले पहिलो चरणमा १० अर्ब हाराहारी लगानी गर्न इच्छा देखाएका छन्,’ मैनालीले भने, ‘सातवटा स्थानीय तहको पूर्वाधार र आयआर्जनका ओजनामा १० अर्ब कम हुने भएकोले लगानी रकम १० अर्बभन्दा बढाउन  अग्रह गरेका छौं।’

बैंकले लगानी गर्न छनोट गरेको कलैया उपमहानगरपालिकामा कार्यान्यन हुने निर्माण आयोजनाबारे बैंकका प्रतिनिधिले विभागका अधिकारी र उपमहानगरका अधिकारीसँग छलफल गरेका छन् ।
अन्तक्र्रियामा बैंक प्रतिनिधिसँगै आएका विभागका वरिष्ठ इन्जिनियर मोहन श्रेष्ठले बैंकले लगानी गर्ने रकम कलैया उपमहानगरपालिकाले ५० प्रतिशत मुख्य पूर्वाधार, ३० प्रतिशत आयआर्जन वृद्धि हुने आयोजना, १५ प्रतिशत सामुदायिक विकास हुने आयोजना र पाँच प्रतिशत नगरपालिकाको क्षमता अभिवृद्धिमा लगानी गर्नुपर्ने सर्त बैंकको रहेको जानकारी गराएका थिए।

सडक, नाला र ढल जस्ता आयोजना मुख्य पूर्वाधार अन्तर्गत पर्नेछन् भने व्यापारिक कम्प्लेक्स, सुपरमार्केट, टाउन हाल लगायत आयआर्जन हुने आयोजनाअन्तर्गत पर्ने भएकोले कलैया उपमहानगरपालिकाले खुद्रा योजनाभन्दा ठूलो योजनामा मात्रै लगानी गर्नुपर्ने सर्त रहेको श्रेष्ठले बताए ।
श्रेष्ठले उपमहानगरपालिका वडा अध्यक्षले बजेट रकम आफूखुसी खुद्रा योजनामा खर्च गर्ने सोच बनाए र योजना सञ्चालनमा विवाद आए आयोजना नै फिर्ता हुने सम्भावना रहेकोले त्यसतर्फ समेत कार्यपालिकाका सदस्यले ध्यान दिनुपर्ने बताए।

कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले सडक, नाला, ढल, व्यापारिक कम्प्लेक्स, सुपरमार्केट, टाउन हाल, पार्क, ल्यान्डफिल साइट लगायत पूर्वाधार निर्माणमै उपलब्ध रकम खर्चिने बताए ।कलैयामा उपमहानगरपालिकालाई चाहिले पूर्वाधारको अभाव रहेको बेला बैंकले लिने रकमले पूर्वाधार निर्माणमा ठूलो सहयोग पुग्ने नगर प्रमुख यादवले बताए । प्राप्त रकम पारदर्शी र बैंकको सर्तअनुसारै खर्च गर्ने प्रतिबद्धता यादवले जनाए।

बैंकका पिटिएल साङमो किमले कलैयामा विकसित सहरको लागि आवश्यक पर्ने पूर्वाधारको कमी रहेको र बैंकले दिने रकमले त्यो निर्माणमा योगदान गर्ने बताए ।बैंकका कन्सल्टेन्ट टासी तेन्जिङले २०–२५ वर्षपछि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न स्थानीय तहमा बैंकले ठूलो रकम लगानी गर्न लागेको अन्तक्र्रिया कार्यक्रममा बताए ।

 

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App