४ वैशाख २०८१ मंगलबार
विचार

सेयरको अर्थ सरोकार


सेयर बजार सूचकांक उकालो लाग्नु र ओरालो लाग्नुका पछाडि खासै ठूला कारण हुँदैनन् । बजारका उडन्ते खबरले पनि यसमा धक्का लाग्छ । कहिले सामान्य कारणले अचानक सकारात्मक प्रभाव पनि देखिन्छ । निर्वाचन, सरकार परिवर्तन, कम्पनीहरूको वार्षिकोत्सव र लाभांश घोषणा गर्ने समय आदिले सूचकांक उकालो लाग्छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत साता कार्यभार समालेयता सर्वसाधारणको उत्साहको प्रतिबिम्ब  सेयर बजारमा देखिएको छैन । सप्ताहन्त बिदापछि आइतबार सेयर बजारमा नकारात्मक प्रवृत्ति देखिएको छ । आइतबार मात्रै यो ४१.५६ विन्दुले घट्दा लगानीकर्ताले करिब ४८ अर्ब रुपियाँ गुमाउनुपरेको छ । दोस्रो बजार सोमबार पनि करिब १७ अंकले घटेको छ।

अर्थमन्त्री खतिवडाले घरजग्गा, अटोमोबाइल र सेयर आदिमा हुने लगानीलाई अनुत्पादक मान्ने गरेका छन् । खतिवडा गभर्नर हुँदा पनि घरजग्गामा अत्यधिक कर्जा प्रवाह हुँदा अनुत्पादक क्षेत्र ठानेर नियन्त्रण गरेका थिए । त्यसले बैंकहरूलाई डुब्नबाट जोगाएको थियो । सेयर बजारमा पनि त्यतिबेला अत्यधिक कर्जा बंैकबाट लगानी भएको थियो । त्यसलाई पनि उनले रोकेका थिए । अर्थतन्त्रको दीर्घकालीन हितमा उनले अघि सारेका उपाय कसैका लागि अप्रिय भए पनि मुलुकका लागि अनिवार्य छन्।

अर्थमन्त्री खतिवडाले अनुत्पादक क्षेत्रमा लगानी गर्नुहुँदैन भनी राखेका मान्यता अर्थतन्त्रको दीर्घकालीन हितका निम्ति हुन् । घरजग्गा, सेयर, गाडी, घोडाजस्ता क्षेत्रको लगानीले उत्पादकत्व बढ्दैन । यसै पनि व्यापार घाटाको खाडल निकै फराकिलो छ । एक रुपैयाँ बराबरका सामान निर्यात गर्दा हामी १४–१५ रुपैयाँका सामान आयात गरिरहेका छौं । यसको अन्त्यका लागि पनि आयात प्रतिस्थापन उद्योगतर्फ ध्यान दिनुपर्ने अवस्था छ । लाखौं पर्यटक ल्याउने र सेवा क्षेत्रको विस्तारबाट पुँजी आर्जन गर्न सकिन्छ।

अहिलेको लगानीयोग्य पुँजी अभावलाई जसरी पनि अन्त्य गर्ने अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले मात्र सेयर बजारमा पहिरो गएको नहुन सक्छ । सेयर यसै पनि एक वर्षदेखि घटिरहेको छ । यस वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाले दिने लाभांशको घोषणा गरिसकेका छन् । धेरै लगानीकर्ता कम्पनीले दिने लाभांश पाएपछि अर्को वर्षसम्मको लाभांश पर्खेर बस्दैनन् । लाभांश लिने अनि सेयर बेच्ने प्रवृत्ति धेरैको हुन्छ।

यस्ता प्रवृत्तिका लगानीकर्ताका लागि अहिले सेयर बच्ने समय हो । अर्कोतिर सेयर मूल्य घट्नुको कारण ब्याजदर बढ्नु पनि हो । बैंक ऋणको ब्याजदर घट्दा सेयर खरिद गर्ने बढ्छन् भने ब्याज बढ्दा सेयर बेच्ने पनि बढ्छन् । बैंकलाई ब्याज तिर्ने रकम सेयरको लगानीबाट नआउने देखेपछि सेयर बेच्नेको लर्को लाग्छ । अहिले एक किसिमले यही भएको हो । पहिले ७–८ प्रतिशतमा कर्जा पाइने गरेकामा अहिले १४–१५ प्रतिशत पुगेको छ । तरलता अभावले यसै पनि सेयरमा लगानी घटिरहेको छ।

एक वर्षअघि २०७३ साउनमा सबैभन्दा कीर्तिमान कायम गरेर सेयर बजार १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । अहिले आएर १३ सय विन्दुभन्दा तल ओर्लिएको छ । पहिला बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ‘जुवाघर’ को संज्ञाले सेयर ह्वात्तै घटेको थियो । अहिले पनि त्यही ‘ट्रेन्ड’ देखिएको छ । सेयर बजारको गहिरो विश्लेषण गर्ने प्रचलन छैन । सेयरका ठूला खेलाडीले साना लगानीकर्तालाई यस्तै हल्ला फिँजाएर र एकदुई दिन बजारको कारोबार नै प्रभावित पारेर पनि नाफा लिने गरेका धेरै उदाहरण छन् । राजनीतिमा अर्थमन्त्री को हुन्छ ? सरकार कसको बन्छ भन्ने चर्चाले पनि प्रभाव पार्छ।

अहिलेको प्रवृत्तिप्रति डा. खतिवडाको आलोचनात्मक दृष्टिकोण रहेका कारण बजारले उनलाई विरोधी खेमाका रूपमा लिन्छ । उनी अर्थमन्त्री भएको एमालेभित्रकै एउटा पक्षलाई मन पनि परेको छैन । त्यसको विरोधमा उनीहरू होहल्ला मच्चाउन सक्रिय भइरहेको देखिन्छ । सेयरमा एमालेभित्रैका पनि ठूलो संख्यामा लगानीकर्ता छन् । साथै सेयर बजार ओरालो लागेको मौका पारेर फेरि त्यसलाई किन्न चाहने पक्ष पनि उत्तिकै सक्रिय भएको हुन सक्छ । हाम्रो अर्थतन्त्रमा भाडा लगाएर खाने, उद्यमशीलताभन्दा ब्याजमा पैसा लगाउने ‘रेन्ट सिकर’ मानसिकता छ । यो प्रवृत्ति रहेसम्म उत्पादक क्षेत्रभन्दा छिट्टै आम्दानी हुने नाफामूलक क्षेत्रमा लगानीकर्ताको ध्यान जान्छ।

मुलुकको व्यापार असन्तुलन घटाउन कृषि, पर्यटन, जलस्रोतजस्ता आयात प्रतिस्थापन गर्ने उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्नुपर्छ । अहिलेसम्म मुलुक रेमिटेन्सबाट चलेको भन्ने छ । तर, रेमिटेन्स पनि आयातित कृषिजन्य उपभोग्य सामग्रीमा समेत खर्च हुने गरेको छ । रेमिटेन्सको झन्डै ९२ प्रतिशत उपभोगमा जान्छ । उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके रेमिटेन्स स्वदेशमै बस्ने थियो । अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्रको दिगोपनका लागि व्यक्त गरेका धारणाकै भरमा सेयर बजार ओरालो लाग्नुको कुनै अर्थ छैन।

अमेरिकाजस्तो मुलुकले त आफ्ना उत्पादनमा जोड दिने र विदेशी आयातमा बढी कर लगाउने सोच्छ भने हामीले अर्थतन्त्रलाई बलियो बनाउन अप्रिय भए पनि निर्णय गर्न तयार हुनुपर्छ । यस्तो अवस्थामा अर्थमन्त्रीलाई सरकार, सत्तारुढ दल र तिनका नेताको समेत प्रोत्साहन आवश्यक छ ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App