८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

सत्यराज आचार्य, गायक
तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई विकसित र ज्यादै सुन्दर लागेको सहर हो, हङकङ । हङकङमा समुद्रबाहेक अरु सबै ठाउँ हराभरा छ । सहरवासी पनि अनुशासित छन् । कुनै काम गर्दा एकले अर्कोलाई अवरोध गर्दैनन्, बरु सहयोग गर्छन् । खुला ठाउँ पनि प्रशस्त छन् । नेपालको जस्तै हावापानी र भौगोलिक बनावट छ । मैले सानैदेखि संगत गर्दै आएका साथीभाइ पनि हङकङमै छन् । त्यहाँ आफ्नोपन पाइन्छ।

नेपालभित्र मनपर्ने सहर कुन हो ?
पोखरा मनपर्छ । पोखरामा प्राकृतिक सौन्दर्यको खानी छ । त्यहाँ फोहोर र धुलो देखिँदैन । मौसम सफा भएका बेला फेवातालमा माछापुच्छ«ेको छाया देखिन्छ । मिलेको सहर छ । फेवाताल, प्याराग्लाइडिङ, ढुंगा, गुफा र विन्दवासिनी मन्दिर लगायत यहाँको आकर्षण हो।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मेरो जन्म र कर्म थलो हो । काठमाडौंमै मैले आफूलाई चिनाउन पाएँ । म काठमाडौंबाहिर जन्मेको हुन्थेँ भने आफूलाई यो ठाउँसम्म पु¥याउन सक्दिनथेँ होला । मलाई काठमाडौंले शिक्षा दियो, सांगीतिक क्षेत्रमा लाग्ने माहोल दियो । राजधानी भएकाले पनि काठमाडौंमा जनसंख्याको चाप बढेको हो । यहाँ हजारौँले अवसर पाएका छन् । तर, सहर विकास गर्ने निकाय र सरकारले यसलाई चिन्न सकेनन्।

यहाँको अस्तव्यस्त र भद्रगोल देखी दिक्क लाग्दैन ?
विदेशका सहरमा ट्राफिक नै देखिँदैनन्, तर सडकमा कतै जाम हुँदैन । हाम्रोमा बाटोभरि ट्राफिक हुन्छन्, तर जामैजाम हुन्छ । जाम, भीडभाड, धुवाँधुलो देखेर दिक्क लाग्छ।

काठमाडौं कसरी व्यवस्थित बन्ला ?
अस्तव्यस्त सडकले पनि सहर बिगारेको छ । विकसित देशमा सडक हेरेरै त्यो देशको सदन कस्तो छ भन्ने थाहा हुन्छ । हाम्रो सडक पनि बेहाल छ, सदन पनि । यहाँका सेवा–सुविधा समयमै अन्त विकेन्द्रीकरण गरेको भए आज यति अस्तव्यस्त हुने थिएन । सहरवासीले यति धेरै दुःख पाउने थिएनन् । मुख्य कुरा त हाम्रोमा सरोकारवाला निकायको दूरदर्शिता भएन । नेताकै कारण सहर यति धेरै ग्रसित भयो भन्दा फरक पर्दैन ।

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो ?
अहिलेको काठमाडौं र ऊबेलाको काठमाडौंमा आकाश–पाताल फरक छ । म सानो छँदा काठमाडौंमा भर्खर रिङरोड बनेको थियो । रिङरोड एक चक्कर लगाउँदा एक किसिमको आनन्द मिल्थ्यो । रिङरोडभित्र सुनसान थियो । सबैतिर हरिया चौर थिए । बिहान र बेलुकी स्याल कराउने बस्ती थिए । यदाकदा चर्दै गरेका गाई देखिन्थे । ऊबेलाको त्यस्तो सुनसान काठमाडौं अहिले अस्तव्यस्त भयो । आफ्नै गल्लीमा हिँड्दा पनि हराइएला भन्ने डर हुन थाल्यो । काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो । शैक्षिक संस्था, ठुल्ठूला अस्पताल, होटल, सरकारी कार्यालय सबै यहीँ भएपछि सबैतिरका मानिस काठमाडौंमै आए ।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर सबै कुरामा व्यवस्थित हुनुपर्छ । सुविधायुक्त र सफा हुनुपर्छ । सहरमा सबैले एकैखाले अधिकार पाउनुपर्छ ।

काठमाडौंबाहेक देशका कुन–कुन सहर मनपर्छ ?
पोखरा, विराटनगर, नेपालगन्ज, धनगढी र धरान पनि राम्रो लाग्छ । हरेक सहरमा नेपालको मौलिकपन र वास्तविकता झल्किएको पाइन्छ । तर सरकारका तर्फबाट सहरी विकासमा हुनुपर्ने जति काम भएका छैनन्।

उपत्यकाको मनपर्ने पक्ष ?
मलाई यहाँको मौसम मनपर्छ । संसारलाई नै नदिएको वरदान ईश्वरले हामीलाई दिएका छन् । संसारमा यस्तो किसिमको हावापानी पाइने ठाउँ अन्त छैन । उपत्यका ऐतिहासिक मठ–मन्दिर र जात्रा–पर्वको खानी हो । यहाँ ऐतिहासिक सम्पदा छन् ।

मननपर्ने पक्ष ?
भनिसाध्य छैन । अहिले त गाउँका मानिसले भन्दा बढी झन्झट सहरवासीले झेल्नुपरेको छ । धुवाँधुलो, ट्राफिक जाम, भीडभाड लगायत पक्ष मनपर्दैन ।

यी समस्या समाधानका लागि के गर्नुपर्ला ?
सरकारी निकायबीच आपसी समन्वय हुनुपर्‍यो । सबै निकायले पारदर्शी ढंगले काम गर्नुपर्‍यो । उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायतलाई केन्द्रमा राखेर काम गर्ने हो भने समस्या समाधान हुन सक्छ ।

तपाईंको सपनाको सहर कस्तो होला ?
म बसेको सहर सफा र हरियाली होस् । सहरका हरेक निकाय व्यवस्थित होऊन् । सेवा–सुविधा लिन झन्झट खेप्नुनपरोस् । सहरको कानुन कडा होस्, जसले गर्दा सहरमा नकारात्मक क्रियाकलाप हुन नपाऊन् ।

कुन–कुन देश पुग्नुभएको छ ?
झन्डै ३० भन्दा बढी देश घुमेको छु । बाहिरी मुलुकका देश आधुनिक अवधारणाअनुसार विकास भइरहेका छन् ।

विश्वका कुन–कुन सहर घुम्नुभयो ?
अस्ट्रेलिया, जापान, सिंगापुर, अमेरिका, बेलायतलगायत देशका सहर राम्ररी घुमेको छु । बोस्टन सिटी, मेलबर्न, लन्डन, कोलोम्बो, टोकियो, सिकागो, पेरिसलगायत सहर  पुगेको छु ।  विदेशका सहर हामीले कल्पनै गर्न नसक्ने किसिमबाट विकास भइरहेका छन् ।

विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
नेपाललाई कुनै पनि देशसँग दाँज्न मिल्दैन । यहाँको हावापानी र भौगोलिक बनावट नै फरक छ । यहाँ पाइने धेरै कुरा विदेशी मुलुकमा पाइँदैन । हाम्रा सहरको मौलिकता, ऐतिहासिक सम्पदा अन्य देशको भन्दा भिन्न छ ।  विदेशका सहर आधुनिक छन् । हरेक सहर नियममा बाँधिएका छन् ।

पछिल्लो समय घुमेको सहर कुन हो ?
पछिल्लो समय अस्टेलियाको सिड्नी पुगेको थिएँ । यो सहर बिल्कुल नयाँ लाग्छ ।

मन भएर पनि पुग्न नपाएको सहर ?
सबैले स्वर्ग भन्ने गरेको स्विट्जरल्यान्ड जाने मन छ ।

उपत्यकानजिकै घुम्न जानुपर्‍यो भने कुन–कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यकानजिकै राम्रा ठाउँ भनेको नगरकोट र धुलिखेल हुन् । फुर्सदका बेला यिनै ठाउँमा गइन्छ ।

काठमाडौं उपत्यकाको मनपर्ने खानेकुरा ?
मलाई काठमाडौंको मःमः ज्यादै मिठो लाग्छ । मःमः भनेपछि म सानैदेखि हुरुक्क हुने मान्छे हुँ ।
प्रस्तुति :शिवहरि घिमिरे

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App