७ वैशाख २०८१ शुक्रबार
समाज

४० वर्षपछि गुरु–चेला भेट

आफ्ना गुरु जोर्ज जोनसँगको भेटमा प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवर । तस्बिर/नागरिक

पोखरा– प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे । 

आफैले पढाएको विद्यार्थी क्षेत्रको प्रमुख भएर आएकोमा साह्रै खुसी लागेको बताउँदै जोर्ज जोनले सधैँ राम्रो गर्न आशीर्वाद समेत दिए ।

प्रमुख कुँवर आफ्नो घरमा आउने खबर पाएपछि गेटमै प्रतिक्षा गरेर बसेका जोर्ज जोन र उनकी धर्मपत्नी एलियामा जोनलाई भेट्ने बित्तिकै प्रदेश प्रमुख कुँवरले पाउ लागेर दर्शन गरेका थिए । लगत्तै बैठक कोठामा बसेपछि गुरु–चेलाको संवाद सुरु भयो । चार दशकअघिको सम्झना गर्दै प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले भने, ‘गुरु हजुर त जस्ताको तस्तै । मैले त लठ्ठी ठेकेर हिँड्नुहुन्छ होला भनेर कल्पना गरेको थिएँ ? निकै पाको भइसक्नुभयो होला भनेको अहिले पनि उस्तै ? मलाई बहुत खुसी लाग्यो । यति स्वस्थ रहनुको राज के हो ?’

‘म लगभग भेजिटेरियन जस्तै हुँ । कहिलेकाहीँ मात्रै माछामासु चल्छ । बिहान साढे चार बजेतिरै उठेर सक्रिय हुन्छु । अरु त त्यस्तो खास केही छैन’ साह्रै मसिनो स्वरमा बोल्ने ८६ वर्र्ष पुगेका जोर्ज जोनले आफ्नो चेलाको जिज्ञासा पढाउने शैलीमै बुझाए, ‘यो सबै ईश्वरको कृपा र तपाईंहरूजस्तै विद्यार्थीको मायाले हो । अहिलेसम्म स्वस्थ छु ।’

त्यसपछि जोर्ज जोनले प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरलाई घरपरिवारको बारेमा सोधपुछ गरे । बालबच्चा, उनीहरूको पढाइलेखाइबारे जानकारी लिए । आफैले पढाएको विद्यार्थी यो क्षेत्रको प्रमुख भएर आएकोमा साह्रै खुसी लागेको बताउँदै जोर्ज जोनले सधैँ राम्रो गर्न आशीर्वाद समेत दिए । ‘हजारौं विद्यार्थी पढाएँ । धेरैको माया पाएको छु । धेरै विद्यार्थीले आफ्नो ग्राउन्ड रियालिटी बिर्सन्छन् । तर आज एक विद्यार्थी यति ठूलो पदमा पुगेर पनि घरमै भेट्न आएकोमा यो हाम्रो सौभाग्य हो’ आफूलाई भेट्न घरमै पुगेकोमा हर्षित देखिएका जोर्ज जोनले भने, ‘हुन त मैले के दिएको छु र ? मैले त आफूले जानेको कुरा सिकाएको हुँ ।’

जोर्ज जोनले आफू ३८ वर्षको हुँदा आमाले घर फर्किन गरेको अनुरोधदेखि विद्यार्थीकै सहयोगले पोखरा बसेको स्मरण गरे । ‘पोखरामा कति कमाउँछस् हामी यहीँ दिन्छौं तँ फर्केर आइजभन्दा पनि म पोखराको मायाले जान सकिनँ,’ जोर्ज जोनले पूराना दिन सम्झिए, ‘विद्यार्थी गणेशबहादुर गुरुङले प्रदर्शनी केन्द्रनजिकै १२ रोपनी जग्गा किनिदिएछन् । पछि त्यो अधिग्रहण भयो । हामी यता आयौं । यो सबै विद्यार्थीको मायाले हो ।’ उनले विद्यार्थीहरूबाट पनि आफूले पनि थुप्रै व्यावहारिक गुणहरू सिकेको सुनाए । 

प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवर र जोर्ज जोन भेटघाट सकेर फर्कनै लाग्दा सञ्चारकर्मी पुगेपछि उनीहरूलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख कुँवरले गुरुकै निवास पुगेर उहाँलाई भेट्दा साक्षात ईश्वर भेटेकोझैं महसुस गरेको बताए । ‘म गुरु, आमाबुवा र पाहुनाको बहुत  सम्मान गर्ने व्यक्ति हुँ’ उनले भने, ‘आज ४० वर्षपछि गुरुलाई भेट्न पाउँदा म असाध्यै खुसी छु । यही खुसी पाउन म गुरुको दर्शन गर्न आएको हुँ ।’

जोर्ज जोनले आफूले पढाएको विद्यार्थीले प्रगति गरेर निवासमै आएर भेट्दा त्योभन्दा अर्को ठूलो खुसी केही नभएको सुनाए । ‘मान्छे ठूलो पदमा पुगेपछि उसले तल हेर्दैन । तर आज एउटा विद्यार्थी यसरी आउनुभयो । यो मेरो सौभाग्य हो’ सञ्चारकर्मीले मागेको प्रतिक्रिया दिँदै जोर्ज जोनले हाँस्दै भने, ‘मलाई आफ्नै छोरो फर्केर आएको जस्तो लाग्यो ।’
जोर्ज जोन ५९ वर्षदेखि पोखरामा बसिरहेका छन् । उनले पृथ्वीनारायण क्याम्पस पढाउँदा प्रदेश प्रमुख कुँवरले बिएलको पहिलो व्याचका रूपमा यही क्याम्पसमा अध्ययन गरेका थिए । पृथ्वीनारायण क्याम्पस स्थापना गर्नमा जोर्ज जोनको अग्रणी भूमिका छ । उनकै पहलमा यो क्याम्पस खुलेको हो । जोर्ज जोनका एक छोरा र छोरी छन् । छोरो अणु जोन सिंगापुरमा टेनिस प्रशिक्षकको रूपमा कार्यरत छन् भने बुहारी रञ्जना आचार्य डाक्टर हुन् । उनी पनि हाल सिंगापुरमै छिन् । 

प्रकाशित: २५ फाल्गुन २०७४ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App