coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अपराध नियन्त्रणको उल्टो शैली

मनोज पुन ‘इन्काउन्टर’ राज्यको गुण्डा तह लगाउने कठोर नीतिको निरन्तरता हो । यसअघि विभिन्न समयमा कहलिएका गुण्डानाइकेहरू प्रहरीको भनाइमा ‘दोहोरो मुठभेड’मा मारिएका थिए । चरी भनिने दिनेश अधिकारी, कुमार घैँटे भनिने कुमार श्रेष्ठ, प्रवीण केसीलगायतआपराधिक क्रियाकलापमा संलग्नहरू गएको चार वर्षबीचमा ‘प्रहरी इन्काउन्टर’मा मारिए । चरी र घैँटेको इन्काउन्टरको विरोधमा केही आवाज उठेका थिए तर ती मत्थर भइहाले । मनोज पुन इन्काउन्टरको विरोधमा खासै आवाज उठेन । झट्ट बुझ्दा हत्या र त्रास फैलाउने गतिविधि गरेर समाजलाई आक्रान्त पारेको समूहको नाइकेको अन्तले समाजले राहतको श्वास फेरेको जस्तो देखिँदैछ । राज्यले चेतावनीयुक्त सन्देश दिएको छ— गुण्डागर्दी गर्नेको हाल यस्तै हुन्छ ! तर, राज्यले अपनाएको अपराध नियन्त्रणको शैली कति उपयोगी र सार्थक हो ?खुंखार अपराधी जन्मनुको कारण के हो ?वैज्ञानिक अध्ययन र बहस आवश्यक छ । किनभने राज्यले चाल्ने कदम समाजको दीगो हितमा छ÷छैन जाँच हुनुपर्छ। 

गुण्डा समूहको विकास
काठमाडौँ उपत्यकामा मात्र साना र ठूला गरी तीन सयभन्दा बढी गुण्डागर्दीमा सक्रिय समूह छन् । तीमध्ये बीसभन्दा बढी खतरनाक समूहका रूपमा चिनिन्छन् । सहरीकरण र आर्थिक बेथितिहरूको जग टेकेर कतिपय समूह खडा भएका छन् । सतहमा हेर्दा धेरैजसो गुण्डा समूहको उद्देश्य आर्थिक लाभ लिनु देखिन्छ । उनीहरूले ठेक्कापट्टा, हप्ताअसुली, चन्दा आतंक मच्चाएर मजबुत हुने गरेको पाइएको छ । तर, त्यस्ता समूह बन्नुमा सामाजिक अवस्था, अपराध नियन्त्रणको राज्यको गलत नीति, अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले भूमिका खेलेको छ। 

अधिकांश गुण्डा समूहको सदस्यहरूबारे अध्ययन गर्दा सीमान्तीकृत समुदाय र वर्गका बढी छन् । काठमाडौँ उपत्यकाका रैथानेभन्दा बाहिरी जिल्लाहरूबाट आएका गुण्डानाइकेहरूको संख्या बढी छ । कतिपय गुण्डानाइके काठमाडौँ नजिकै जोडिएका वा छेउछाउका जिल्लाका स्थायी बासिन्दा छन् । महत्वाकांक्षी सपना देखेर सहर पसेकाहरूले सपना साकार पार्न गलत बाटो अपनाउन सक्छन् । रबर्ट आग्निउको सिद्धान्तलाई आधार मान्ने हो भने व्यक्तिले महत्वाकांक्षा सामान्य ढङ्गले पूरा नभए अपराधको बाटो अपनाएर पूरा गर्न सक्छ । अति महत्वाकांक्षी युवाहरू जसरी भएपनि महत्वाकांक्षा पूरा गर्न अपराध अँगाल्न पुग्छन् । आपराधिक समूह बन्नुमा अवसरले पनि भूमिका खेल्न सक्छ । सहरले त्यो अवसर दिन सक्छ । भिन्न स्थानबाट आएका समान सामाजिक अवस्थाका युवाहरू मिलेर काम गर्ने वातावरण तयार हुन्छ । पंक्तिकारले गुण्डा समूहबारे अध्ययन गर्दा समान जात, समुदाय र वर्गका युवाहरूको समूह बनेको पाइयो । काठमाडौँ उपत्यकामा पनि कतिपय समूहमा समान सामाजिक अवस्थाका युवाहरू रहेका छन् । उनीहरूले आफू सक्रिय क्षेत्रका स्थानीय युवाहरूलाई समेत समेटेर शक्ति हासिल गरेका छन्। 

राज्यको भूमिका
राज्यले अपराध हुन नदिने नीतिलाई व्यवहारमा उतारेको छैन । अपराध भएपछि मात्र उपचार वा अपरेसनमा जाने नीतिले प्रधानता पाएको छ । अपराध नियन्त्रणका लागि कठोर नीति समेत लिने गरेको घटनाहरूको फेहरिस्त छन् । जसमध्ये राज्यबाट हुने गैरन्यायिक हत्या एउटा उदाहरण हो । गैरन्यायिक हत्याले आपराधिक समूह केही समय सुस्ताएपनि झन् प्रभावशाली हुने गरेका घटना संसारभर पाइन्छन् । कोलम्बियाको ड्रग कार्टलमाथिको कारबाहीका क्रममा धेरै गैरन्यायिक हत्या भएका थिए । तर, त्यहाँ लागूऔषधको कारोबार घटेन । भारतको मुम्बई, पटनालगायतका सहरहरूमा समेत गैरन्यायिक हत्यालाई अपराध नियन्त्रणको औजार बनाइएको छ । पछिल्लो समय योगी आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशमा समेत इन्काउन्टरका घटनाको संख्या बढेको छ । योगीको कार्यकाल एक वर्ष नपुग्दै २९ इन्काउन्टरमा ३० जना प्रहरीको मस्ट वान्टेड सूचीमा रहेकाहरू मारिएको तथ्यांक सार्वजनिक भयो । योगीले अपराध नियन्त्रणमा कठोर कदम चाल्ने कार्यकालको आरम्भमै भनेका थिए । ‘अपराधको स्वर्ग’ भनी परिचित उत्तर प्रदेशको परिचय बदल्न त्यहाँको राज्यको कदम कति सार्थक बन्यो बनेन भविष्यमा अध्ययनको विषय बन्ला । नेपालको सन्दर्भमा अपराध नियन्त्रणका लागि चालिएका कतिपय कठोर नीति प्रत्युत्पादक बनेका घटना छन् । चरी, घैँटे, मनोज पुनलगायतको इन्काउन्टर चलिरहेपनि संगठित अपराधीहरूको प्रभाव बढेको बढ्यै छ ।कुनैबेला स्थानीय व्यापारी र ठेकेदारलाई त्रस्त बनाएर हप्ता असुल्ने गुण्डा समूहहरू अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग समन्वय गरी अपराध विस्तार गरिरहेका छन् । उनीहरू देशबाहिर बसेर हत्या, अपहरण र चन्दा असुली सञ्चालन गरिरहेका छन् । कुनैबेला ब्ल्याक स्पाइडर ग्रुपले काठमाडौँमा त्रास मच्चायो । पछिल्लो समय मनोज पुन समूहले मच्चायो । एकपछि अर्को गरी जन्मने खतरनाक समूहहरूको उपचारको विधि के हो ? यस्ता समूहहरू जन्मनै नदिन के गर्नुपर्छ? जन्मिहाले निरुत्साहित गरिहाल्ने तरिका के हो? यसबारे मन्थन गर्न जरुरी छ। 

युवाहरूलाई आपराधिक समूहमा जोडिनबाट रोक्न या आपराधिक समूह निर्माण रोक्न सजिलो छैन । पुँजीवादको आक्रामक प्रभावले युवाहरूलाई भोगी बन्न उक्साइरहेको छ । तर, तिनै युवाहरू राज्यबाट पाउनुपर्ने अवसरहरूबाट वञ्चित छन् । त्यस्ता युवाहरूमा समाज र राज्यप्रति वितृष्णा पैदा हुन गई समूह बनाई शक्तिशाली बन्ने महत्वाकांक्षा जाग्न सक्छ । राज्य वा समाजप्रति विद्रोही भावना भएकाहरू एकजुट हुन सक्छन् । समूहको लाभका लागि आपराधिक गतिविधि समेत अपनाउन सक्छन् । 

राजनीतिक संरक्षण
देशमा नाम चलेका गुण्डानाइकेहरूले राजनीतिक संरक्षण पाएका छन् । पछिल्लो समयमा गुण्डानाइकेले दल विशेषको सहयोगमा चुनाव जितेको र टिकट पाएको घटना ताजै छ । कतिपय गुण्डानाइकेहरूको प्रत्यक्ष सम्बन्ध राजनीतिक दलका नेताहरूसँग छ । घैँटे इन्काउन्टर होस् या चरी इन्काउन्टर नै किन नहोस् ‘गैर न्यायिक हत्या’ भन्दै केही नेताहरूले आवाज उठाएका थिए । तर, गोहीको आँसुसिवाय केही रहेन । मनोज पुन पनि कुनै राजनीतिक दलको भ्रातृ संगठनमा आबद्ध थिए । उनी युवा संघमा रहेर लामो समय काम गरेको तथ्य केलाउने हो भने उनको आपराधिक गतिविधिलाई मलजल दिनेमा सोही संघ जिम्मेवार हो । राजनीतिक संघ–संगठनले गुण्डालाई प्रयोग गरी शक्ति विस्तार गर्ने प्रवृत्ति अपनाउनाले राजनीतिको अपराधीकरण अपराधको राजनीतिकरण देखिँदै आएको छ । यो देशको राजनीतिका लागि मात्र नभई शान्तिसुरक्षााका लागि समेत खतरा हो। 

सडकमा मान्छे उतार्नुपर्र्दा, रकम जोहो गर्नुपर्दा, विपक्षीलाई तह लगाउनुपर्दा र चुनावमा शक्ति प्रदर्शन गर्दा गुण्डाको प्रयोग गर्ने प्रवृत्तिले गुण्डा समूहलाई उक्साउनमा राजनीति गर्नेहरूको सहयोगी भूमिका प्रस्ट छ । गुण्डानाइके उत्पादक वा संरक्षकले गुण्डा नियन्त्रणको जस्तोसुकै शैली अपनाएपनि त्यसमा इमानदारीको प्रश्न रहन्छ । एउटा गुण्डाको साटो अर्को गुण्डा तयार गर्ने प्रवृत्तिको निरन्तरता चलिरहन्छ । कतिपय अवस्थामा राजनीति नै गुण्डाहरूको ठूलो नाइकेको हातमा पर्न सक्छ । अपराधको राज चलेका कतिपय देशमा यस्ता घटना छन् । अपराधको बादशाहको हातमा देशको मुख्य पदमा कसलाई पु¥याउने भन्ने निर्णयको साँचो पर्न सक्छ । कुनै समय इटालीमा माफियाले देशको मुख्य पदमा पुग्नेको टुंगो लगाउँथ्यो । कोलम्बियामा ड्रग कार्टलका बादशाहहरूले राज्यको साँचो हात पारेका थिए । अफ्रिकाका कतिपय द्वन्द्वग्रस्त देशमा आपराधिक समूह राज्य सञ्चालनमा हाबी छन्। 

गुण्डा निरुत्साहित समाज
अपराधविनाको समाज असम्भव छ । अपराधको व्यवस्थापन जरुरी छ । गुण्डागर्दी सहरी समाजमा स्वाभाविक हो । तर, भरसक गुण्डा समूह बन्न नदिने उपाय अवलम्बन गर्नुपर्छ । त्यसका लागि बाल्यावस्थादेखि उचित रहनसहन जरुरी हुन्छ । घरदेखि विद्यालय÷कलेज हुँदै समाजको विभिन्न एकाइमा युवाहरूलाई उचित अवसर र सम्मान हुनुपर्छ । सही समयमा सही रोजगारीको अवसरको सुनिश्चितता आवश्यक छ । समाजमा हुने भेदभाव, छुवाछूत, शोषण र दुव्र्यवहारले समेत व्यक्तिलाई आपराधिक क्रियाकलापमा लाग्न प्रेरित गर्छ । त्यस्ता व्यक्तिहरूले समूह बनाएमा झन् खतरनाक अवस्था निर्माण गर्न सक्छन् । त्यसैले अपराधी बन्नबाट रोक्न भेदभाव, शोषण र दुव्र्यवहार अन्त हुन जरुरी छ । 
राज्यले कठोर नीति अपनाउँदैमा गुण्डागर्दी नियन्त्रणमा आउँदैन । यस्ता नीतिले केही समय सन्नाटा छाएपनि आँधी रोकिँदैन । नेपालमा गुण्डा नियन्त्रणका लागि चालिएका ‘इन्काउन्टर’ दीगो समाधान होइन भन्ने घटनाक्रमले प्रमाणित गरिसकेको छ । राजनीतिक दलले क्षणिक फाइदाका लागि गुण्डागर्दीलाई ऊर्जा दिने र संरक्षण दिने प्रवृत्ति नछाडेसम्म न त राजनीतिक स्वच्छता आउँछ न त गुण्डागर्दी नियन्त्रणमा आउँछ । प्रहरीमा अपराध नियन्त्रणका लागि इमानदारीको खाँचो छ । भ्रष्ट प्रहरी नै गुण्डाभन्दा खतरनाक बनेका घटनासमेत छन् । कतिपय अवस्थामा गुण्डाको काम भ्रष्ट प्रहरीले गरिरहेका हुन्छन् । न्यायालयको भ्रष्टाचारले गुण्डाहरू थप आपराधिक क्रियाकलाप गर्न तत्पर भएका हुन्छन् । कतिपय अवस्थामा पैसाको बलमा मुद्दा जित्न गुण्डानाइकेहरूले अर्को खतरनाक अपराध गरेका छन् । न्यायिक निकायहरूमा इमानदारी भएमा गुण्डागर्दी नियन्त्रण कठिन छैन । जिम्मेवार समाजमा अपराधीले राजनीतिक संरक्षण नपाउने, न्यायिक निकायहरूले इमानदारीपूर्वक कर्तव्य पालना गर्ने हो भने गुण्डागर्दीलगायतका अपराधीबाट समाजले दुःख पाउँदैन । 
(अध्यापक, अपराधशास्त्र) 

प्रकाशित: २९ फाल्गुन २०७४ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App