८ वैशाख २०८१ शनिबार
समाज

ककपिट र एटीसीको वार्ता चुहावट भएकोमा छानविन हुन्छः महानिर्देशक गौतम

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौं– दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजका चालक र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भएका छन् । 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले मंगलबार गरेको पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको सम्वाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानविन गर्न लागिएको जानकारी दिए । गौतमले भने, ‘ककपिट र एटीसीबीचको संवाद कसले उपलब्ध गरायो र कसले किन सार्वजनिक गरे, सबै कुरा छानविन हुन्छ ।’ यसैबीच नागरिक उड्डयन कार्यालयले सोमवार यूएस बाङ्ला एअरवेज विमान दुर्घटना हुँदा ट्रफिक कन्ट्रोल कक्षमा रहेका ६ जना कर्मचारीलाई ‘ड्यूटी अफ’ गरेको छ । 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटना पछि आपतकालिन सेवा ३ मिनेट भित्रै पुग्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेपनि त्यसभन्दा चाँडै २ मिनेट भित्रै उद्दार टोली पुगेको अधिकारीहरुले दावी गरे । ‘विमानमा लागेको आगोले विमानस्थलको घाँसे क्षेत्रमा डढेलो लागेकाले आगो नियन्त्रण गर्न अलि कठिनाई भएको हो । दमकल लगायत उद्दार टोली समयमै पुगेको हो ।’ महानिर्देशक गौतमले भने ।

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरवेजको विमान दुर्घटनामा चालक दलका चारै जना सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये थोरैको मात्र अवस्था गंभिर छ । उनीहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव आफन्तलाई बुझाउन केही समय लाग्ने अधिकारीहरुले बताएका छन् । शवको पहिचान हुन समय लाग्ने र डिएनए परीक्षणपछि मृतकको शव आफन्तलाई बुझाइनेछ ।

बंगलादेशी मन्त्री काठमाडौमा
बंगलादेशको जहाज काठमाडौमा दुर्घटना भएपछि त्यसको अनुसन्धान एवं निरीक्षणका लागि बंगलादेशको उच्चस्तरीय टोली काठमाडौ आएको छ ।

बंगलादेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र राज्यमन्त्री, त्यहाँको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र दुर्घटना अनुसन्धान ब्यूरोका प्रमुख काठमाडौ आइपुगेका छन् । नेपालको उड्डयन प्राधिकरणका अधिकारी र बंगाली अधिकारीबीच मंगलवार साँझ छलफल हुँदैछ । 

प्रकाशित: २९ फाल्गुन २०७४ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App