६ वैशाख २०८१ बिहीबार
समाज

चालक र सहचालकलाई पोशाक अनिवार्य

काठमाडौं– रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले शुक्रबारदेखि पोशाक लगाउन थालेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन्। 

रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको पहिचान झल्कने बताउँछन्। ‘पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ’, उनको भनाइ छ– ‘चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रंगको ज्याकेटको व्यवस्था गरिएको छ।’ 

सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्छन, ‘नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोशाकले सहज हुन्छ।’ 

यी केबल प्रतिनिधि पात्र मात्र हुन्। रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको हो। ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निरत्न नेवा पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताउँछन्। ‘पोशाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ’,– उनी भन्छन्। 

हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै २०० माइक्रो बस आवतजावत गर्दै आएका छन्। यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्ने हुने अध्यक्ष नेवाको भनाइ छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा पोशाक लगाउने निर्णय शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको बताउँछन्। 

‘अब रत्नपार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ’,–उनी भन्छन््। शुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी साधनलाई पोशाकको व्यवस्था गरिने गरी महासंघले काम गरिरहेको छ। 

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट शुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताउँछन। ‘आज शुरुवात हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छँ,– उनको भनाइ छ। 

पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनाल उल्लेख गर्छन। आजदेखि शुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ। 

यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ। रासस

प्रकाशित: २ चैत्र २०७४ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App