८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

'बेडरुम र पेटीकोट सिन्ड्रोम' नसुध्रिएसम्म प्रशासन सुध्रदैनः पूर्वसचिव खतिवडा

काठमाडौं– पूर्व सचिव धरणीधर खतिवडाले मन्त्रीहरु एवं उच्च प्रशासकहरुमा ‘बेडरुम’ र ‘पेटीकोट’ सिन्ड्रोम हावी हुन्जेल प्रशासनमा सुधार हुननसक्ने बताएका छन् । 

‘पढ्ने वानी कम छ, खतिवडाले भने, ‘मन्त्री, सहसचिव र सचिवकै कुरा गर्नुभयो भने बौद्धिक प्रखरता छैन । चाकडी, चाप्लुसी र ‘बेडरुम एवं पेटीकोट सिन्ड्रोम’ को छायाँमा प्रशासनयन्त्र चलेको छ ।’

सोमवार विहान रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा बोल्दै पूर्व सचिव खतिवडाले ‘बेडरुम सिन्ड्रोम’को व्याख्या गर्दै भनेः “कसलाई पुरस्कृत र दण्डित गर्ने भने बेलुका बेडरुममा मन्त्री र मन्त्राणीको सल्लाह हुन्छ । यसमा कुनै फ्याक्चुअल स्टेटमेन्ट (तथ्यगत भनाई) हुँदैन । हाम्रो जस्तो सफ्ट स्टेट (कसै कसैले बनाना स्टेट पनि भन्छन्) नियम कानुन एकातिर छ, तर हामी काम अर्कोतिर गर्छौ । विषयगत विज्ञता नभएको मान्छेलाई मन्त्रालयको जिम्मेवारी दिन्छौ । जसलाई पुरस्कृत गर्नुपर्ने हो त्यसलाई दण्डित गर्छौ । किनभने त्यो बेडरुममा भएको सल्लाहले गुटको सबलीकरणका लागि दलीय स्वार्थको पृष्ठपोषणका लागि बेडरुममा हुने सल्लाहलाई नीति निर्माताले भोली आफ्नो कार्यालयमा लागु गर्छ।”

‘श्रीमती नहुने मन्त्रीको हकमा बेडरुमसम्म पहुँच हुनेहरुको दवदवा रहन्छ । जहाँ षडयन्त्र हुन्छ, पारदर्शिता हुँदैन ।’ खतिवडाले अगाडि भने, “पेटीकोट सिन्ड्रोम भनेको बेडरुमको विस्तारित स्वरुप हो । यसमा परिवारका सदस्य एवं नातेदारहरुसम्म साली, भतिजी, सासूलाई पुरस्कृत गरिन्छ ।”  

३५ वर्ष २ महिना १८ दिन सेवा गरेपछि निवृत्त खतिवडा १६ वर्ष सहसचिवमा रहेपछि मात्र सचिव बनेका थिए । प्रशासन सुधारको कुरा गर्दा उनी निकै आक्रामक भए । ‘स्वेच्छिक अवकाश ल्याउँदा मुख्य सचिवले किन अडान लिन सकेनन्? खतिवडाले प्रश्न गरे, ‘मुलुकको आर्थिक सूचकांक बारे मुख्यसचिव सूचित छैनन् कि राष्ट्र बैंकका गभर्नरहरुले पढ्न पर्दैन?’व्यवसायिक सक्षमतालाई आदर गर्ने र प्रयोग गर्ने परिपाटी नभएसम्म प्रशासनमा सुधार हुननसक्ने उनले बताए । 

 

प्रकाशित: ५ चैत्र २०७४ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App