जुम्ला– कर्णाली राजमार्गमा चल्ने सवारी साधनले मनपरी भाडा असुल्नाले यात्रु मर्कामा परेको भन्दै तत्काल गाडीभाडामा एकरुपता ल्याउन निर्देशन गरिएको छ। यातायात व्यवस्थापन समिति जुम्लाको सोमबार बसेको बैठकले पुरानै भाडादरमा सवारी सञ्चालन गर्न निर्देशन गरेको हो। जुम्ला, सुर्खेत, नेपालगंज र नेपालगंज सुर्खेत जुम्ला सम्मको भाडामा न्युनतम ५ सय रुपैया भन्दा बढी भाडा लिने गरेको भन्दै तत्काल भाडादर सन्तुलनमा ल्याउन निर्देशन गरिएको हो।
यातायात व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कर्णाली राजमार्गमा भईरहेको मनपरी रोक्न जस्तोसुकै बल प्रयोग गर्न सकिने बताए। उनले भने, ‘यातायातमा देखिएको विकृति रोक्नको लागि हँदै सम्मको कडाई गर्छौं। नियम विपरित सञ्चालन हुने जुनसुकै क्रियाकलापलाई निरुत्साहित गर्छौं।’ उनले यात्रु नठगियोस, व्यवसायीको व्यवसायमा धक्का नलागोस भन्ने मान्यता स्थापित गर्न सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिए।
बैठकमा रुट प्रमिट लिएर मात्रै कर्णाली राजमार्गमा सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो। रुट परमिट नलिइका सवारीलाई तत्काल रोक लगाईने निर्णय भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावतले जानकारी दिए। उनका अनुसार टिकट नकाटेर सवारी चलाउनेलाई ठाउँको ठाउँ कार्वाही गर्ने निर्णय भएको छ। साना ठुला सबै सवारीको बसपार्कमा काउण्टर राख्नु पर्ने निर्णय भएको बताए। रातो नम्बर प्लेटका सवारी साधनलाई सवारी ओसारपसारमा निस्तेज लगाउने र सबै सवारी साधन बसपार्कबाट छुटाइनु पर्ने निर्णय भएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ।
पछिल्लो समयमा कर्णालीका सडकमा मनपरि भाडा लिने गुनासो बढेपछि ट्राफिक चेकजाँचमा कडाई गर्न थालिएको हो। बैठकमा यातायात व्यवसायी र यातायात व्यवस्थापन समितिबीच पुरानै भाडामा सवारी सञ्चालन गर्न सहमति भएको छ।
प्रकाशित: ५ चैत्र २०७४ १४:४९ सोमबार