७ वैशाख २०८१ शुक्रबार
कला

रहिनन् घरबेटीसँग बास माग्ने गायिका

काठमाडौं – अभिनेत्री भुवन चन्द र गायिका कमला श्रेष्ठको चिनजान सानैदेखिको हो । राष्ट्रिय नाचघरमा कार्यक्रम सञ्चालन, नृत्य, गायन र अभिनयको गतिविधिमा दुवैको सक्रिय सहभागिता हुन्थ्यो। झण्डै ३५ वर्ष बढीको समय नाचघरमा कमलासँग सहकार्य गरेकी भुवन उनै कमलाको निधनको खबर सुन्दा भावुक बनिन्। 

‘उसको र मेरो सम्बन्ध एउटा परिवारको सदस्य झैं थियो। म र ऊ एकअर्काको घरमा सरोबर आउजाउ गरिरहन्थ्यौं,’भुवनले कमलालाई सम्झिइन्,‘उनी मेरै बहिनी जस्तै थिइन्। नाच्नमा भन्दा पनि गीत गाउन अब्बल थिइन्। लोक गीतमा उनको विशेष रुचि थियो।’

विगत ६ महिना यता कमलासँग भेट नभएको बताउने भुवनले मंगलबार कमलाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिइन्। ‘ऊ अगाडि रिटायर्ड भई  या म रिटायर्ड भएँ अहिले सम्झना छैन। मेरो विचारमा उसले सेवाअवधि पूरा नगरी काम छोडेर गएको हो कि जस्तो लाग्छ ’ भुवनले भनिन्। कमलाले नाचघरको ३८ वर्षे जागिरबाट २०६३ सालमा अवकाश लिएकी थिइन्।

लोकगीत गाउनेले आधुनिक गीत हतपत गाउन सक्दैनन् । तर कमलाको गला दुवैमा बेजोड चल्थ्यो । तारादेवी, अरुणा लामापछिको गायिकामा मलाई कमला अब्बल लाग्थ्यो ।

वनकी हितैषी कमलाको ६९ वर्षको उमेरमा उपचारको क्रममा सोमबार बाँसबारीस्थित सहीद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो। मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगबाट पीडित उनलाई गत आइतबार स्वास्थ्यमा समस्या भएपछि केन्द्रमा लगिएको थियो। उनी परिवारका साथ चाबहिलमा बस्दै आएकी थिइन्।

श्रेष्ठको चर्चित गीतमध्येको एक ‘घरबेटी नानी’का संगीतकार गणेश रसिकले श्रेष्ठले लेकाली समूहसँग आबद्ध भएर पनि थुप्रै कार्यक्रममा सहभागिता जनाएको बताए। ‘श्रेष्ठ लेकाली समूहकी पनि सक्रिय सदस्य थिइन्। सँगै हामीले देशसँगै दार्जिलिङ , कालिम्पोङ आदि ठाउँमा पनि  कार्यक्रम गरेका थियौं । एउटा मौलिक स्वरकी धनी छाडेर गएको महसुस भएको छ,’ रसिकले भने। 

रसिकले श्रेष्ठ राम्रो गायिकाको साथसाथ आफ्ना लागि असल साथी पनि भएको बताए। उनले श्रेष्ठको गला लोकगीत र आधुनिक दुवै शैलीका गीतमा उत्तिकै धारिलो रहेको बताए। 

‘लोकगीत गाउनेले आधुनिक गीत हतपत गाउन सक्दैनन्। तर कमलाको गला दुवैमा बेजोड चल्थ्यो। तारादेवी, अरुणा लामापछिको गायिकामा मलाई कमला अब्बल लाग्थ्यो,’रसिकले भने। रसिकले आफूसँग मात्र कमलाले ८ गीतमा सहकार्य गरेको र सय हाराहारीमा गीत रेकर्ड गराएको जानकारी गराए। रसिकसँग सहकार्य गरेमध्ये ‘मसँग एउटा तारा छ’ ‘घरबेटी नानी’, ‘सहिदिन्छु कुट बरु’ आदि गीत चर्चित भएका थिए। ‘मसँग एउटा तारा छ’ कमलाको स्वरमा रेकर्ड भएको पहिलो गीत थियो। 

 राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले कमलाको जेठो छोरा क्यानाडाबाट बिहीबार नेपाल आएपछि अन्तिम संस्कार गर्ने बताए। ‘अहिले हामी छोराको प्रतीक्षामा छौं। उनी नेपाल आएपछि परिवारले हाम्रो अनुरोधलाई मानेमा नाचघरमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्नेछौं,’थापाले भने,‘उहाँको ४५ औं पुण्यतिथीमा कार्यक्रम गरेर सदाबहार गीतमार्फत श्रद्धाञ्जली दिने योजना बनाएका छौं।’

थापाका अनुसार २०२४ सालमा नृत्य निर्देशक भैरबबहादुर थापामार्फत नृत्यकारका रुपमा कमला नाचघर आएकी थिइन्। सुरुमा करारबाट जागिर शुरु गरेकी उनी राम्रो गायिकासँगै नृत्यकार पनि रहेको थापाले बताए।

एकसमयमा ‘लोकगीतकी रानी’को उपमा पाएकी कमलाका ‘परदेशी बाबु आँगनमा दिनु हुन्न बास’, ‘सल्लाई हो जोवन कल्लाई हो’, ‘सहिदिन्छु कुट बरु’, ‘सरर मलेवा’, ‘शीरफूल लाएर’ आदि गीत सदाबहार छन्। उनले नारायण गोपालसँग ‘ईश्वर तैंले रचेर फेरि’ बोलको गीतसँगै शिवशंकर, नातिकाजी, गणेश रसिक, गोपाल योञ्जन, शम्भु राईलगायतका गायकहरूसँग नेपाली, नेवारी, भोजपुरी गीतहरू गाएकी थिइन्।  उनको परिवारमा ३ छोरा, २ बुहारी र ४ नातिनातिनी छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App