८ वैशाख २०८१ शनिबार
समाज

‘ठूलाको प्रभावमा परेर हामीलाई प्रहरीले निर्मम कुटे’ (भिडियो)

प्रहरीले भेदभावपूर्ण कार्बाही गरेपछि बुधबार सदरमुकाम चरिकोट आइपुगेका जिल्लाको तामाकोशी गाउँपालिका १ माझीगाउँका माझी समुदायका महिला। तस्विर : नागरिक

दोलखा – तामाकोशी नदीको किनारमा उनीहरुको पुस्तौं देखिको जीवन हुर्कियो। च्छोरोल्पाबाट बगेर आउने नदीसंग पौठेजोरी खेल्दै सिङ्गै समुदायको जिन्दगी गुज्रदै आयो। 

दोलखाको तामाकोशी गाउँपालिका १ स्थित भीरकोटको तल्लो माझी गाउँ। प्राय सबै माझी समुदायका ३५ घर बसोबास गर्छन्। भूकम्प अघिसम्म त्यही तामाकोशी नदीमा माछा मारेर नजिकैको नयाँपुल बजारमा बेचेर उनीहरु परिवारमा गुजारा चलाउँथे। भुइँचालोले अन्यत्र जस्तै उनिहरुलाई पनि पिरल्यो। घर लड्यो। परिवारको बिचल्ली भयो। 

पुननिर्र्माणको काम सुरु भएपछि आखैं अगाडि त्यही नदीभित्र बालुवा उत्खनन गर्ने भनेर बग्रेल्ती मेसिनहरु छिरे। सैयौं ट्रिपर बालुवा बाहिरिए। झुले तर्फबाट बगेर आउने ढोली खोलाले समेत बालुवा बगाएर ल्याई थुपारेका कारण तामाकोशी दोभानमा एउटा क्रसर पनि स्थापना भयो। अरु थुप्रै व्यक्तीका मेसिन (डोजर) नदीमा छिरेर तामाकोशी नदीको सौन्दर्य मेटिने गरी अवैध रुपले बालुवा निकाल्न थालेपछि उनीहरुको मन कुडियो। दोहन रोक्न स्थानीय प्रशासनमा उजुर गरे। प्रशासनले सुने नसुनै झैं ग-यो। जिल्ला समन्वय समिति, गाउँपालिका, जिल्ला वन सबैतिर गुनासो पठाए। कसैले पनि सुनुवाई गरेनन्। एकपटक क्रसर व्यवसायी र बालुवा तस्करहरुले उजुर नगर्न भन्दै गाउँका केही युवालाई थर्काए। खोलामा मेसिन हाल्ने मध्ये एक जनाले सल्लाह दिए– ‘यो बालुवामा पुलिस, प्रशासन, स्थानीय तह सबैको ‘सेटिङ’ छ, सबैले हप्ता उठाउछन, भाग पु¥याउनुपर्छ, तिमीहरु बित्थामा किन निहुँ खोज्छौं, गाउँले मिलेर आफू पनि डोजर हाल न, लाखौको मालिक बन्छौं।’ 

पुनर्निर्माणका कारण निर्माण सामग्रीको अभावको फाइदा उठाउँदै नदी दोहन यति बढ्यो की खाल्डै खाल्डाले नदी कुरुप हुँदै गयो। आँखै अगाडि नदी दोहन झन बढ्दै गएपनि सुनुवाई गर्नेले चासो नदिएपछि अगुवाहरुले दुई महिना अघि गाउँ भेला बोलाए। ‘आखैं अगाडि यतिको हुँदा पनि उजुर गर्नेले सुन्दैन, हामी किन निहु खोज्नु, अब मिलेर निकालौं।’ 

३५ घरधुरी माझी समुदायले प्रति घर ५० हजार उठाए। नजिकै रहेको क्रसर मालिकसंग कुरा गरे। सुरुमा ईन्कार गरेका उनले पछि आफ्नो निजी जग्गाबाट निकाल्न असहयोग नगर्ने बचन गाउँलेहरुलाई दिलाए। 

स्थानीय सुकबहादुर, बम बहादुर, लालबहादुर, पदमबहादुर, र रामकृष्ण माझीको तामाकोशी नदी किनारमा रहेको खेत ७ बर्ष अगाडि आएको बाढीले बगर बनाईदिएको थियो।  त्यही खेतबाट बालुवा निकाल्ने निधो भयो। उठाएको १७ लाख ५० हजार रुपैंयाको एउटा कोष बनाए। दैनिक ५ हजार तिरेर डोजर भाडामा ल्याईयो। दैनिक कमाई राम्रै चल्दै थियो। यो बीचमा स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरीबाट केही घुमुवाहरु पुग्थे। बेला बेलामा दुःख दिन्थे। 

उनीहरुले बालुवा निकालेको एक किलोमिटर क्षेत्रसम्म दोहन बढिरहेको थियो। तामाकोशी बजार वरपरदेखि ढोली खोलाको पल्लो छेउसम्म दर्जनौं डोजरहरु नदीसम्मै पुगेर बालुवा निकाल्थे। यही क्रममा भीरकोटकै दुई अगुवा युवाले ६ दिनअघि आफ्नो डोजर गाउँलेहरुले बालुवा निकालिरहेको ठाउँसम्म लिएर आए। स्थानीयले हाम्रो खेत वरिपरी मेसिन धेरै अट्दैन हाम्रो मात्र हाल्छौं भन्दै रोक्न खोजे। विवाद चर्कदै गयो। मंगलबार बिहान निहुँ खोज्नेहरुलाई देखाईदिन्छौं हेर्दै जाउँ भन्दै ति युवाको टोलीले स्थानीयलाई धम्काउदै थियो। 

नभन्दै दिउँसो प्रहरी चौकी किरातीछापबाट एउटा टोली पुग्यो। टोलीले समुदायले चलाएको डोजर लैजान आएको बतायो। स्थानीयले आफ्नो मात्र नभई वरिपरी रहेका अरु अवैध डोजर पनि लैजान प्रहरी टोलीलाई आग्रह गरे। नदी क्षेत्रमा वरीपरी रहेका दर्जनौ डोजरहरु नउठाएर शक्तीको आडमा आफ्नो मात्र उठाउन आएको भन्दै स्थानीयले प्रतिवाद गरे। प्रहरी र स्थानियबीच विवाद बढ्दै गयो। झडप भयो। जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा दुई गाडी प्रहरी उतारिए। इन्सपेक्टर रमेश प्रधानले स्थानीयले चलाएको अवैध खानीको डोजर जसरी उठाउने अड्डी कसे। 

स्थानीय र प्रहरीबीच झडप शुरु भयो। दर्जनौं स्थानीय कुटिए। प्रहरीबाट जोगिन पुरुष भागे। प्रहरीले छानी छानी महिलाहरु माथी बुट बजा-यो। लक्ष्मी माझीलाई प्रहरी जवानले कुटेर घिसारे। लाताले हानेका कारण सुष्मिता माझी ढलेर बेहोस भइन्। सदरमुकामको अस्पतालमा भर्ना गरेर होस खुलेपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएर बुधबार दिउँसो छाडिदियो। बिद्यालयबाट फर्कदै गरेकी विपना माझीको कपाल भुत्ल्याईयो। ‘म स्कुलबाट आएको भन्दा पनि यो पनि जबर्जस्ती गर्नेको छोरी हो भन्दै कपाल भुत्ल्याएर लडाउँदै घिसारे’ बिहिबार चरिकोटमा भेटिएकी विपनाले रुदैं सुनाईन– ‘एक जना पहिले पनि गाउँमा देखिईराख्ने घुमुवा प्रहरीले त पेटमा लात्तीले हाने।’ 

प्रहरीले १२ जना स्थानीयलाई गिरफ्तार गरेर ल्यायो। सुस्मितासहित बिरामी परेका ३ जना बुधबार दिउँसो छुटे। वडाध्यक्ष महेश्वर काफ्लेका अनुसार छुटेकामध्ये ज्वरोले थलिएका एक युवा सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा अस्पतालमा भर्ना भएका छन्।  प्रहरीले पक्राउ परेका सबैलाई हुलदंगा गरेको अभियोग लगाएर सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ। 

तामाकोशी नदी भरी दर्जनौं स्थानमा दोहन भइरहँदा आफुहरुलाई शक्तीको आडमा कुटपिट गरी प्रहरीले फसाएको आरोप गाउँलेको छ। ‘खोलाभरी शक्तीको आडमा दर्ता विनै त्यत्रा मेसिन हालिएका छन’ स्थानिय मिठ्ठु माझीले भनिन – ‘अरुले हाल्दा हामीले पनि हाल्यौं, अनि हामी माथी मात्रै शक्तीको आडमा प्रहरीको बुट बजारीनुपर्ने ?, कस्तो न्याय हो यो?’ 

‘हाम्रो खोला बिग्रियो भनेर पहिला जानकारी गराउँदा कसैले सुनेनन्’ उनले भनिन – ‘कसैले नसुनेपछि अहिले आफ्नै जग्गाबाट गाउँले मिलेर बालुवा निकाल्दा हामी माथि किन यत्रो अन्याय ?’ गाउँका ९ जना युवा र पुरुषहरुलाई मुद्दा लागेपछि महिलाहरु बुधबार सदरमुकाम चरिकोट आइपुगेका छन्। उनिहरुले भेदभावपूर्ण कारबाही गरिएको भन्दै स्थानिय प्रशासनको विरोध गरेका छन्। 

नदीभरी बग्रेल्ती डोजर

नदी नै दोहन हुने गरी तामाकोशी आसपासमा अवैध बालुवा खानी दर्जनौं छन्। नदीसम्मै हालिएका खानीहरु कुनै पनि दर्ता छैनन्। 

जिल्ला समन्वय समितिले लामोसाँघु–जिरी सडक खण्डको तामाकोशी बजार आसपास देखि ढोली खोला क्षेत्र सम्म खोलाको दाँया बायाँ १५ मिटर छाडेर मात्रै बगरको एक मिटर सम्म बालुवा निकाल्न मिल्ने गरी टेण्डर लगाएको छ। 

नाम्दुका निर्माण व्यवसायी मानबहादुर लामाको कम्पनीले समन्वय समितिलाई बार्षिक ६० लाख बुझाउने गरी कर उठाउने टेण्डर लिएको छ। टेण्डर लिने ठेकेदारको खोला संग सम्बन्धै नहुने व्यवसायीहरु बताउछन्। ‘ठेकेदार कम्पनीलाई त जति बालुवा निकालेर बाहिर लगियो त्यती फाईदा हो’ ति व्यवसायीले भने – ‘त्यसैले खोलामा कति डोजर हालियो त्यता तिर ठेकेदारलाई मतलब नै हुन्न।’ 

तामाकोशी बजार क्षेत्र देखी ढोली खोला सम्म दुई दर्जन बढी अवैध खानीहरु सञ्चालन छन्। ति मध्ये केही जिल्ला तहमा प्रभाव राख्न सक्नेहरुका छन् भने केहीमा गुण्डागर्दी पृष्ठभुमीका युवाहरुको पनि लगानी छ। नदी किनारबाट गएको तामाकोशी – मन्थली खुर्कोट सडक आउजाउ गर्नेहरुले दोहनको फोटो खिचेर फेसबुकमा पोष्ट गरिरहन्छन्। 

अवैध खानी चलाउने केहीले भने सामुदायिक वन संग सम्झौता गरेर वन उपभोक्ता समितिका पदाधिकारीको समेत सेयर हालेर बार्षिक रकम दिने गरी कागज बनाएका छन्। यस्तै केही खानीहरुमा जनप्रतिनिधिका निकट प्रभावशाली व्यक्तीहरुको लगानी छ। 

जिल्ला समन्वय समितिका अनुसार त्यस क्षेत्रमा चलेका कुनै पनि बालुवा खानी आधिकारीक रुपमा दर्ता छैनन्। त्यहा रहेका तिन ओटा मध्ये दुई ओटा क्रसर उद्योग कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएपनि जिल्ला समन्वय समिति र स्थानिय तहलाई जानकारी छैन्। 

खानी सञ्चालकहरुले सिडिओ, डिएसपी, जिल्ला वन, समन्वय समितिदेखि सबै निकायमा सेटिङ मिलाउने गरेको एक सञ्चालकले बताए। ‘मान्छे खटाएर दुःख दिन्छन’, नाम नबताउने शर्तमा ति सञ्चालकले भने – ‘मिलाईदिनुप¥यो भनेर भेट्न जाँदा मेरो फलाना मान्छेलाई भेट्नुस भन्छन।’ 

केही दिनअघि एउटा खानीमा डोजर समाउन प्रहरी टोली पुगेपछि नदी जोडिने गाउँपालिकाका एक जना प्रमुख र सिडिओ थापाबीच पैसा पनि असुल्ने त्यही माथि निजी जग्गाबाट निकालिएको बालुवा खानीको डोजर पनि समाउने भन्दै टेलिफोनमा चर्का चर्की परेको थियो।  

‘दर्ता विनै चलेको उजुरीपछि पक्राउ गर्न गएका हौं’ 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले अवैध रुपमा चलाईएको खानीलाई नियन्त्रण गर्न प्रहरी टोलीलाई पठाईएको जानकारी दिए। ‘त्यो खानी अवैध रुपमा खटाईएको जानकारी पाएपछि टोली खटाएका हौं’ उनले भने – ‘डोजर नियन्त्रण गर्न खोज्दा प्रहरी माथी आक्रमण हुन थालेपछि पक्राउ गरेर ल्याएका हौं।’ 

प्रजिअ थापाले अन्य खानी भने प्रक्रिया अनुसार चलेको दाबी गरे। ‘जिल्ला समन्वय समितिमार्फत मैले पाएको जानकारी अनुसार अरु दर्ता अनुसार नै चलेका छन नी किन नहुनु’ उनले भने – ‘तपाईलाई त्यस्तो लाग्छ भने उजुर दिनुस कार्बाही गर्न तयार छु।’ 

‘दुई पक्ष झगडा गर्न थालेपछि पक्राउ गर्न गएका हौं’ 

जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले बालुवा खानीमा दुई पक्ष झगडा गर्न थालेपछि प्रहरी परिचालन भएको दाबी गरे। ‘कुनै बालुवाको बैधानिकता अनुगमन गर्न गएका हैनौं’, उनले भने– ‘दुई पक्षबीच झगडा भएपछि घटनास्थल पुग्दा प्रहरी टोली माथी उल्टो आक्रमण भएकाले बाध्य भएर ल्याएका हौं।’ 

प्रकाशित: ८ चैत्र २०७४ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App