८ वैशाख २०८१ शनिबार
खेल

सन्दिप लामिछानेलाई आइपीएल जर्सी

काठमाडौं– अन्तर्राष्ट्रिय होस या घरेलु प्रतियोगिता। युवा लेग स्पिनर सन्दीप लामिछानेले लगाउने जर्सी नम्बर हो २५। कसैले उसलाई २५ नम्बरको जर्सी लगाउ भनेर सन्दीपले लगाएका होइनन्। सन्दीप आफैको रोजाईको हो, २५। 

सन्दीपले आफ्नो भाग्यशाली नम्बर भएर २५ रोजेका होइनन्। २५ नम्बरसँग उनको सुखद भन्दा पनि दुखान्त कथा जोडिएको छ। जनवरी २५ सन्दीपको भान्जीको जन्मदिन हो। तर, भान्जी अहिले हामी माँझ छैनन्। सानै उमेरमा उनी यस संसारबाट विदा भइसकेकी छिन्। उनै प्यारी भान्जीको सम्झनामा सन्दीपले २५ नम्बर जर्सी लगाउने निधो गरे। 
तर, चैत २४ गतेबाट हुने इन्डियन प्रिमियर लिग(आइपिएल)मा देल्ली डेयरडेभिल्सबाट खेल्दा सन्दीपले २५ नम्बर लगाउँदैनन्। कारण टोलीका सिनियर खेलाडीले यो जर्सी लगाइसकेका छन्। त्यसैले सन्दीपले रोजे नम्बर १। भान्जीको जन्मदिन २५ को जर्सी नपाए सन्दीपले रोजे जन्म महिना। 

‘मेरो भान्जीको जन्म दिन २५ गते हो। तर उनी अहिले हामीमाँझ छैनन्। उनलाई समर्पण गर्दै मैले २५ नम्बरको जर्सी रोजेको हो। तर, दिल्ली डेयर डेभिल्समा यो नम्बर सिनियरले लगाउनुहुन्छ,’ जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा भर चर्चामा रहेका सन्दीपले थपे, ‘जन्मदिन नपाएपछि मैले जन्म महिना रोजेको हो।’

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपको टोली दिल्लीले प्रतियोगितामा पहिलो खेल किंग्स ११ पंजाबविरुद्ध मोहाली खेल्नेछ। सन्दीप दिल्लीको ११ जनाभित्र पर्छन की पदैनन भन्ने चासो व्यापक छ। बिहीबार सन्दीपले दिल्लीबाट लगाउने जर्सीको अनावरण कार्यक्रममा ११ जनाभित्र पर्ने सम्भावनाबारे सन्दीपले भने, ‘प्रतियोगितामा राम्रो गर्ने मरो प्रयास हुनेछ। तर, मैले खेल्न पाउने नपाउने भन्दा पनि टोलीले जित्नु महत्वपूर्ण कुरा हो। टिम संयोजन गर्दा मरो आवश्यकता प-यो भने म योगदान गर्न तयार छु।’

सन्दीपले दिल्ली डेयरडेभिल्सले लगाउने १ नम्बरको जर्सी बिहीबार काठमाडौं राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार विष्टले अनावरण गरेका थिए। अनावरणपछि सदस्यसचिव विष्टले सन्दीपजस्तै थुप्रै खेलाडी जन्माउनु पर्नेमा जोड थिए। विष्टले सन्दीप नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय हिरो भएको बताए। उनले थपे, ‘नेपालका क्रिकेटर पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने क्षमता राख्छन् भनेर प्रमाणित भएको छ। जुन खुशीको कुरा हो। सन्दीप जस्तै अन्य थुप्रै खेलाडी जन्माउन सकियो भने नेपालको राष्ट्रिय टोलीले पनि अन्तर्राष्ट्रिय प्रतियोेगितामा राम्रो नतिजा निकाल्न सक्छ।’

दिल्ली डेयरडेभिल्सका कार्यकारी अधिकृत हेमन्त दुवाले सन्दीपको गतिविधीलाई विगत २ वर्षदेखी नियालीरहेको भन्दै उनलाई अनुवन्धित गर्न पाउनु आफुहरुको भाग्य भएको बताए। उनले थपे, ‘यो हाम्रो ठुलो क्षण हो। सन्दीपजस्तो युवा र उत्साही खेलाडीलाई टालीमा अनुबन्धन गर्न पाउने हाम्रो भाग्य हो। जर्सीको नम्बर १ जस्तै सन्दीप भविष्यमा विश्वकै नम्बर एक लेग स्पिनर बन्न सफल होउन शुभकामना।’

सन्दीपको दिल्लीको ११ सदस्यभित्र पर्ने सम्भावनाबारे कार्यकारी अधिकृत दवाले थपे, ‘यो टोलीको कप्तान र प्रशिक्षकले गर्ने निर्णय हो। यही चैत २७ गतेबाट हाम्रो टे्निङ शुरु हुन्छ। प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भिरलगायत सिनियर तथा अनुभवी खेलाडीबाट उनले धेरै सिक्न पाउनेछन्। जुन ठुलो कुरा हो। टोलीको जित नै सबैको जित हो।’

प्रकाशित: ८ चैत्र २०७४ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App