७ वैशाख २०८१ शुक्रबार
समाज

‘सर्ट सर्किट’ले हुन्छ धेरै आगलागी

बुधबार राजधानीकाे शालिमार हाेटलमा लागेकाे अागलागी । तस्बिर : नागरिक

– गत फागुन १४ गते पुतलीसडकस्थित सेयर मार्केट भवनको माथिल्लो तलाको क्यान्टिनमा बिहानै आगलागी भयो । घर जोडिएको स्थानमा आगलागी भए पनि समयमै वारुणयन्त्र र सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगियो ।  

– बुधबार बेलुकीपख सुन्धारास्थित  गुलाब मिठाई पसल तथा सालिमार होटल रहेको भवनमा आगलागी भयो ।  विद्युत् ‘सर्ट सर्किट’ले भएको आगजनीमा परेर दुई घाइते भए । वारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले समयमै आगो नियन्त्रणमा लिएकाले आगलागीबाट ठूलो क्षति हुन पाएन ।

पुतलीसडक र सुन्धाराका घटना त काठमाडौंमा बढ्दो आगलागीका उदाहरण मात्र हुन् । विद्युत् ‘सर्ट सर्किट’ भएर उपत्यकामा सानातिना आगलागी दैनिकजसो हुन थालेका छन् । 

काठमाडौं महानगरपालिकाअन्तर्गत  जुद्ध वारुणयन्त्रका प्रमुख बद्री नगरकोटी उपत्यकामा बहुतले भवनमा विद्युत् ‘सर्ट सर्किट’, ग्यास सिलिन्डर ‘लिकेज’लगायत कारण आगलागी बढिरहेको बताउँछन् । ‘एकचोटि विद्युत् जडान गरेपछि मर्मतसम्भार गर्ने चलन नै छैन, जसका कारण उपत्यकामा विद्युत् सर्ट भएर आगलागी भइराखेका छन्,’ उनले भने, ‘उपत्यकामा दिनहुँजसो नै ठूला–साना आगलागीका घटना हुने गर्छन्, तर घरधनीले खासै सुरक्षा तयारी गरेको देखिँदैन ।’ 

उनका अनुसार काठमाडौं जिल्लामा मात्र एक वर्षमा साना–ठूला गरेर तीन सयभन्दा धेरै आगलागीका घटना हुने गर्छन् । पछिल्लो समय धेरै मान्छेको जमघट हुने सपिङ मल, होटललगायत स्थानमा आगलागीका घटना बढिरहेका छन् । 

घरधनीले आगजनीबाट जोगाउन विशेष तयारी नगरेको नगरकोटी बताउँछन् । उनी उपत्यकामा बिजुलीको पोलमा सवारीसाधन ठोक्किएर, तारमा अल्झिएर, टान्सफर्मर पड्किएर पनि आगलागी हुने गरेको बताउँछन् । ‘उपत्यकामा अधिकांश भवनले फायर इस्टिङ्ग्युसर राख्ने र सुरक्षा सावधानी अपनाउने गरेको देखिँदैन, त्यसले चाडपर्व र हिउँदमा धेरैजसो आगलागी हुने गरेको छ,’ उनले भने । अहिलेकै अवस्था रहे ठूला दुर्घटना निम्तिने अवस्था आएको उनले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ को फागुनसम्म बिजुली ‘सर्ट’ भएर काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन् भने ११ घाइते भएका छन् । त्यसबाट ९० करोड ९४ लाख चार हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

‘उपत्यकामा विद्युत् सर्ट भएर ज्यान गुमाउनेको संख्या बढिरहेको छ,’ उनले भने, ‘बिजुलीमा सावधानी नअपनाउँदा पनि आगलागीका ठूला जोखिम बढेका हुन् ।’ 

बिजुली ‘सर्ट’ भएर नै गत वर्ष ७० वटा गाईको ज्यान गएको थियो भने सात सय ५० कुखुरा मरे । 

प्रहरीका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काठमाडौं जिल्लामा विद्युत् ‘सर्ट’ भएर पाँचजनाको ज्यान गएको थियो । ०७३/७४ मा मृत्यु हुनेको संख्या बढेर सात पुग्यो । चालू आर्थिक वर्षको हालसम्म यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

०७२/७३ मा विद्युत् सर्ट भएर ललितपुरमा एकजनाको ज्यान गएको थियो भने दुई घाइते भएका थिए । ०७३/७४ मा भने दुईको मृृत्यु र सात घाइते भएका थिए । ०७४/७५ को हालसम्म विद्युत् ‘सर्ट’मा परेर कुनै मानवीय क्षति भएको छैन। 

भक्तपुरमा ०७२/७३ मा विद्युतीय ‘सर्ट’मा परेर चारजनाको ज्यान गयो । ०७३/७४ मा एकजनाको मृत्यु भएको थियो । बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभावी प्रयोग गरिँदा, नियमित मर्मतसम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत् सर्ट हुने गर्छ । 

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय काठमाडौंका निर्देशक दीघार्यु श्रेष्ठले विद्युत् ‘सर्ट’का कारण हुने दुर्घटना न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । ‘विद्युत् सर्ट भएर हुने दुर्घटना न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिरहेका छौँ,’ उनले भने, ‘घरधनीले नियमित रूपमा विद्युत्को मर्मतसम्भार तथा चेकिङ गर्नुपर्छ, जसले ‘सर्ट सर्किट’बाट हुने दुर्घटनाबाट जोगाउन सकिनेछ ।’

प्रकाशित: ९ चैत्र २०७४ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App