coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घन्टौं लाममा

कामका लागि कोरिया जान दरखास्त फारम बुझाउन लाम बसेका युवा । तस्बिर : नागरिक

काठमाडौं- निरन्तर १० घन्टा लाइन बसेर लाजिम्पाटस्थित ग्लोबल आइएमई बैंकको शाखामा दुई हजार पाँच सय रुपैयाँ जम्मा गर्न सक्दा शुक्रबार रामेछाप, मन्थलीका शैलेन्द्र श्रेष्ठ निकै खुसी देखिए।

रोजगारीका लागि दक्षिण कोरिया जान खोजेका २५ वर्षीय श्रेष्ठ अघिल्लो दिन (बिहीबार) ६  घण्टा लाइनमा बस्दा पनि पालो नआएपछि रकम जम्मा गर्न असफल भएका थिए । ‘अघिल्लो दिन लाइनमा बस्दा पनि रकम बुझाउने पालो नआएपछि शुक्रबार बिहान ४ बजे लाइनमा बसिसकेको थिएँ,’ रकम जम्मा गर्दाको पीडा सुनाउँदै उनले भने, ‘म पुग्दा त चारपाँच सय युवाको लाइन पहिलेदेखि नै रहेछ ।’ उनले दिउँसो २ बजेमात्रै बैंकमा रकम जम्मा गर्न सकेको बताए।

उता सर्लाही, मलंगवाका राजकिशोर यादव भने रकम बुझाउने पालो नआउँदा निराश थिए । शुक्रबार १० बजे रकम बुझाउन लाइनमा बसेका उनी ४ बजेसम्म लाइनमै थिए ।सन् २०१९ का लागि कोरियाले नेपालबाट कामदार लैजाने प्रक्रियाअन्तर्गत भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन संकलन गर्न थालेपछि पहिलो चरणमै युवाले सास्ती खेप्नुपरेको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले  अनलाइनमार्फत दरखास्त फारम भर्न सकिने व्यवस्था गरेको जनाए पनि युवालाई बैंकमै रकम जम्मा गर्नुपर्ने व्यवस्थाले अप्ठेरो पारेको छ । शाखाले दरखास्त फारम बुझाउँदा बैंकमा रकम जम्मा गरेको नगदी रसिद र त्यसको नम्बर पेस गर्न अनिवार्य व्यवस्था गरेका कारण बैंकमा नगद जम्मा गर्नेको भीड बढेको हो । शाखाले नगद जम्मा गर्न ग्लोबल आइएमई बैंकलाई मात्र तोकेको छ ।
ग्लोबल आइएमई बैंकमात्र किन ?
दरखास्त फारम भर्नकै लागि चर्को सास्ती खेप्नुपरेपछि शाखाले किन ग्लोबल आइएमई बैंकलाई मात्र छनोट गर्‍यो भनेर चौतर्फी विरोध भइरहेको छ।

देश संघीयतामा गइसकेपछि गाउँगाउँमा बैंक पुगेको र २६ वटा वाणिज्य बैंक सञ्चालन भइरहेको बेला एउटामात्र बैंक छनोट गर्नु जायज नभएको पीडितको गुनासो छ । ग्लोबल आइएमई बैंकमा रकम जम्मा गर्नेको भीड देखेपछि पूर्वसांसद रामहरि खतिवडाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर समस्याको निकास खोज्ने प्रयास गरेका थिए।

‘वैदेशिक रोजगारीमा जान पनि चर्को सास्ती खेपिरहेको देखेपछि सरोकार राख्ने मन्त्रीलाई भेटेको हुँ,’ उनले नागरिकसँग भने, ‘देशमा दुईदर्जनभन्दा बढी बैंक हुँदाहुँदै र तिनका शाखा गाउँमा विस्तार भइसकेका बेला एउटै बैंकलाई मात्र किन रकम जम्मा गर्ने अनुमति दिइयो भनेर कुरा राखें । त्यसपछि मन्त्रीले तुरुन्तै इपिएस शाखाका प्रमुखलाई सहज रूपमा रकम बुझाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।’ खतिवडाले गतिलो  व्यवस्थापन नहुँदा बैंकमा रकम जम्मा गर्न हजारौं रकम खर्चेर काठमाडौं धाउनुपर्ने बाध्यता रहेको बताए।

सन् २०१९ का लागि कोरियाले नेपालबाट कामदार लैजाने प्रक्रियाअन्तर्गत भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन संकलन गर्न थालेपछि पहिलो चरणमै युवाले सास्ती खेप्नुपरेको छ ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने  गलत बुझाइका कारण ग्लोबल आइएमईका राजधानी केन्द्रित शाखामा मात्र ठूलो संख्यामा युवा जम्मा भएको बताए । ‘हामीले ग्लोबल आइएमईका देशभरि रहेका एक सय १८ वटामध्ये जुनसुकै शाखामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘तर सबैजना काठमाडौंमै दर्ता गर्न खोज्छन् ।’ भण्डारीले बैंकका तर्फबाट भीडले गर्दा रकम बुझ्न नसकेको गुनासो प्राप्त नभएको दाबी गरे । भाषा परीक्षामा सहभागी हुन चाहनेका लागि चैत १७ गतेसम्म मिति राखिएको उनले बताए । बिहीबार र शुक्रबार गरी ४७ हजारले कोरियन भाषा परीक्षामा सहभागी हुन आवेदन बुझाएका छन्।

आवेदनमै बाहिरिन्छ करोडौं रकम
रोजगारीका लागि कोरिया जान खोज्ने युवाबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ । भाषा परीक्षामा सहभागी हुने युवासँग कोरियाको मानव संसाधन विभागले २४ अमेरिकी डलर (करिब २५ सय रुपैयाँ) दरखास्तसँगै लिने गर्छ।

गत वर्ष ६८ हजार ३ सय ८३ ले भाषा परीक्षामा प्रतिस्पर्धा गर्दा १७ करोड रुपैयाँभन्दा बढी रकम कोरिया गएको थियो । बर्सेनि ठूलो संख्याका युवा भाषा परीक्षामा सहभागी हुने र रकम बाहिरिने क्रम जारी छ । सन् २००८ देखि कोरियाले रोजगार अनुमति प्रणालीअनुसार नेपालबाट कामदार लैजान थालेको हो ।
हालसम्म ४ लाख ७ सय ८५ युवाले कोरियन भाषा परीक्षामा प्रतिस्पर्धा गरेका छन् भने ५० हजार ४ सय २४ जना कोरिया उडेको इपिएस शाखाले जनाएको छ । हालसम्म भाषा परीक्षा भने ६२ हजार चार सय ७३ जनाले उत्तीर्ण गरेका छन्।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा करिब ७० हजार आवेदन पर्ने अनुमान गरिएको  छ । २०१९ मा कोरियाले सात हजार एक सय नेपाली युवा लैजाने कोटा तोकेको छ । भाषा परीक्षामा उत्तीर्ण भएर तोकिएको कोटामा परेका मात्र कोरिया जान पाउनेछन् ।
यस्तो छ छनोट प्रक्रिया
कोरिया जान छनोटको पहिला आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछन्, तिनको रोस्टर सूची बनाएपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी भने हुँदैन ।भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए युवा कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवा कोरिया जान अयोग्य हुन्छन् र उनीहरुको नाम रोस्टर सूचीबाट हट्छ।

यसपटक दरखास्त संकलनपछि जेठ २७ र २८ गते भाषा परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको  छ । सन् २०१८ मा १० हजार एक सय कोटा तोकेको कोरियाले सन् २०१७ का लागि तीन हजार एक सय कोटा निर्धारण गरेको थियो । सन् २०१८ को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो ।आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनुपर्ने शाखाले जनाएको छ।

यसपटक कोरियाको मानव संसाधन विभागले त्यहाँ ५ वर्षभन्दा बढी बसेकाले यसपटक भाषा परीक्षामा सामेल हुन नपाउने नियम लगाएको  छ । भण्डारीले यस्तो व्यवस्था पहिलो पटक गरिएको बताए । ‘कोरियाले जस्तो कामदार चाहन्छ, हामीले त्यस्तै व्यवस्था गर्ने हो,’ उनले भने, ‘पाँच वर्षभन्दा बढी कोरिया बसेकाले दरखास्त किन दिन नपाउने भन्नेबारे केही खुलाइएको छैन ।’

प्रकाशित: १० चैत्र २०७४ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App