coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गर्मीमा आउटर ट्रेन्ड

हिउँदका बाक्ला ज्याकेट थन्किँदै गर्दा राजधानीका पसल पातला आउटर वेयरले भरिन थालेका छन् । बजारमा थरिथरि आउटर आउटफिटमा ठाँठिने पनि देखिन थालेका छन् । त्यस्तै आउटरको खोजीमा स्टोर चहार्ने पनि बढेको व्यवसायी बताउँछन्।

पछिल्ला वर्षहरूमा महिलाका लागि आउटर फेसन नै बनेको छ । मैतीदेवी बस्ने सुजना सुनुवारका लागि भने गर्मीमा आउटर फेसन मात्र होइन । उनी भन्छिन्, ‘फेसनेबल देखिन मात्र नभई छालाको सुरक्षाका लागि पनि आउटर लगाउँछु ।’ काठमाडौंको धुलोबाट छालालाई थोरै भए पनि बचाउन आउटर सहायक बनेको उनी सुनाउँछिन्।

धेरैले घामको किरणबाट छालालाई बचाउन आउटर प्रयोग गर्छन् । कतिले भने चैत वैशाखको हावाबाट बच्न आउटर लगाउने गरेको सुनाउँछन् । सर्ट, टिसर्ट, कुर्तालगायत पहिरनले नछोप्ने हात पाखुरा, गर्दनका छाला घाम र हावाका कारण फुस्रो हुन सक्छ । यस्तो समस्याबाट बच्न धेरैका लागि कवच बनेको छ, आउटर।

हलुका र पातलो हुने तथा शरीरको सुरक्षा गर्ने भएकाले सबै उमेर समूहका महिलाका लागि गर्मीमा आउटर अनिवार्यजस्तै भएको छ ।बजारमा विभिन्न साइज र डिजाइनका आउटर पाइन्छन् । लामा, छोटा, सादा, बुट्टेदार आउटर रोजीरोजी पाइन्छन्। 

पछिल्ला वर्षमा गर्मी मौसममा आउटर लगाउने ट्रेन्ड निकै बढेको व्यापारी बताउँछन् । आधुनिक तथा परम्परागत जुनसुकै परिहनसँग पनि आउटर लगाउन सकिन्छ । शरीरको सुरक्षा मात्र नभई ट्रेन्डी देखिन पनि आउटर लगाउने गरेको प्रयोगकर्ता बताउँछन् ।
प्रचलित केही आउटर
जिन्स ज्याकेट

जाडो वा गर्मी जुनसुकै मौसममा सहरी जनजीवनले नछोड्ने फेसन हो, जिन्स । यो कहिल्यै ‘आउट’ नहुने फेसन पनि हो । गर्मीमा महिलाहरू जिन्सका आकर्षक आउटर लगाउन मन पराउँछन् । स्मार्ट देखिन र लगाउन सजिलो हुने भएकाले जिन्स ज्याकेट आउटर आउटफिटका रूपमा प्रयोग गरिने प्रयोगकर्ता बताउँछन्।

जिन्स ज्याकेट गर्मीमा मात्र नभई जाडोमा समेत न्यानो लुगामाथि लगाइन्छ । त्यसैले यसलाई सदाबहार फेसनेबल वेयरका रूपमा लिन सकिन्छ । गर्मी मौसममा यसलाई कुर्तीमा लगाउने प्रचलन बढेको छ।
कुर्ती लगाउँदा सल प्रयोग गर्न झन्झट लाग्ने भएकाले जिन्स ज्याकेट लगाउने बताउँछिन्, नन्दनी थापा। गर्मी मौसममा खुला कुर्तीमा ग्रन्ज जिन्स ज्याकेट लगाउँदा ‘कुल’ अनुभव हुने उनी बताउँछिन्।  

जिन्सका ज्याकेट पनि विभिन्न थरिका पाइने पुनम रेडिमेड स्टोरका भोलाकुमार बताउँछन् । ‘ग्राहक प्रायः जिन्सको क्वालिटीभन्दा स्टाइलमा ध्याने दिन्छन्,’ उनी भन्छन्, ‘जाडो र गर्मी मौसमका लागि फरक–फरक खालका जिन्स पाइन्छन् । चिसोभन्दा गर्मी मौसममा जिन्स ज्याकेट खोज्न आउनेको संख्या बढी छ।’

क्रप जिन्स ज्याकेट, ग्रन्ज जिन्स ज्याकेट, हाफ स्लिभ जिन्स ज्याकेट, क्लासिक जिन्स ज्याकेट धेरैले लगाउने गरेको उनी बताउँछन्। क्रप जिन्स ज्याकेटमा टिनएजर्सको आकर्षण बढिरहेको व्यापारी भोलाको अनुभव छ । क्रप जिन्स ज्याकेट हरेक आउटफिटमा सुहाउने भएकाले यो धेरैको रोजाइ बनेको उनी बताउँछन् । उनका अनुसार लुक्सको युनिकनेसका लागि पनि क्रप जिन्स ज्याकेटमा धेरैको आँखा जाने गरेको छ।

वान पिस, लङ ड्रेसमा क्रप जिन्स लगाउँदा समर लुक्स देखिने स्टाइलिस्टहरू बताउँछन् । सामान्यतः क्रप जिन्सको मूल्य एक हजार पाँच सय रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन् ।
ग्रन्ज जिन्स ज्याकेट
गर्मी मौसममा ग्रन्ज जिन्स ज्याकेटको माग बढ्दो रहेको व्यापारी भोला बताउँछन् । जिन्स प्यान्ट्स, सर्ट वानपिस, सोर्टस्, जम्पसुटलगायत ड्रेसमा सुहाउने ग्रन्ज ज्याकेट युवाको लोकप्रिय आउटफिट भएको उनी बताउँछन् । समर लुक्समा ‘कुल’ अनि युनिक देखिन चाहनेका लागि ग्रन्ज जिन्स ज्याकेट राम्रो विकल्प हुन सक्छ । सामान्यतः बजारमा ग्रन्ज जिन्स ज्याकेटको मूल्य चार हजार रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन् ।
हाफ स्लिभ जिन्स ज्याकेट
गर्मी मौसममा हाफ लगाउन मन पराउनको राम्रो रोजाइ हुन सक्छ, हाफ स्लिभ जिन्स ज्याकेट । यो ज्याकेटमा प्रिन्टेड, क्रप, ग्रन्ज जस्ता धेरै स्टाइल बजारमा पाइन्छन् । हाफ स्लिभ जिन्स ज्याकका पारखीका लागि समर आउनु भनेको आफ्नो फेसन देखाउन पाउनु जस्तै हो । हाफ स्लिभ जिन्स ज्याकेटको मूल्य डिजाइन अनुसार फरक भए पनि सामान्यतः एक हजार रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन् ।
क्लासिक जिन्स ज्याकेट
समर आउटफिट क्लासिक र यादगार देखिन चाहनेका रोजाइ बन्ने गरेको छ, क्लासिक जिन्स ज्याकेट ।
क्लासिक जिन्स ज्याकेटप्रति युवतीहरू आकर्षित हुने गरेको व्यापारी बताउँछन् । बजारमा सामान्यतः क्लासिक ज्याकेटको मूल्य तीन हजारबाट सुरु हुने व्यापारी बताउँछन्।
विन्ड प्रुफ ज्याकेट
गर्मी मौसममा सबैभन्दा धेरै प्रयोग हुन्छ, विन्ड प्रुफ ज्याकेट । महिला र पुरुष दुवैका लागि उपयोगी हुने भएकाले यो धेरैले प्रयोग गर्ने गरेको न्युरोडस्थित आयुष्मा स्टोरकी सञ्चालक आयुष्मा खड्का बताउँछिन् । उनी भन्छिन्, ‘विन्ड प्रुफ ज्याकेट लगाउनेको संख्या निकै धेरै छ । हलुका र लगाउन सहज भएको यसको राम्रो माग छ।’

क्वालिटी अनुसार विन्ड ज्याकेटको मूल्य पर्ने उनले बताइन् । बजारमा विन्ड ज्याकेटको मूल्य १२ सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन् ।गौरी नेपाली गैरसरकारी संस्थामा काम गर्छिन् । गर्मी मौसममा उनी विन्ड प्रुफ ज्याकेट लगाउन मन पराउँछिन् । ‘म स्कुटरमा हिँड्छु, हावाभन्दा पनि काठ्माडांैको धुलोबाट बच्न विन्ड प्रुफ ज्याकेट लगाउँछु,’ उनी भन्छिन्, ‘आउटरको रूपमा विन्ड प्रुफ ज्याकेट लगाएन भने त अरु ड्रेसको हरिबिजोक नै हुन्छ ।’
ब्लेजर
अफिसियल ड्रेसमा टिपटप हुनेका लागि लोकप्रिय आउटर  आउटफिट हो, ब्लेजर । गर्मी मौसमका लागि उपयुक्त हुने खालका विभिन्न खालका समर ब्लेजर बजारमा पाइन्छन् । ब्लेजरले शरीरको बनोटलाई सुन्दर र आकर्षक देखाउन मद्दत गर्छ । प्रायः प्राइभेट कम्पनीमा काम गर्ने कर्मचारीको रोजाइ ब्लेजर हुने गरेको व्यापारी बताउँछन्।

ब्लेजरका विभिन्न डिजाइन बजारमा पाइने कुमारीपाटीस्थित सिन्सियर सपका व्यापारी पुष्परत्न शाक्य बताउँछन् । ‘महिला पुरुष दुवैले ब्लेजर लगाउन रुचाउँछन्,’  उनी भन्छन्, ‘ब्लेजर लगाउँदा स्मार्ट र राम्रो व्यक्तित्व झल्किने भएकाले युवाहरूको रोजाइमा परेको छ ।’ब्लेजर दैनिक जीवनमा स्मार्ट देखिन चाहनेको राम्रो रोजाइ हुन सक्छ ।  सामान्यतः ब्लेजरको मूल्य एक हजार पाँच सय रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन्।
श्रग आउटर
बजारमा पाइने सबै प्रकारका आउटर श्रगमा पर्ने व्यापारी बताउँछन् । लामो आउटर लगाउन मन पराउनेका लागि लङ आउटर, छोटो लगाउन रुचाउनेका लागि सर्ट आउटर, मिडिल आउटर लगाउन रुचाउनेका लागि मिडिलमा उपलब्ध रहेको व्यापारी भोलाकुमार बताउँछन् । सिल्क, कटन, ऊनलगायत विभिन्न कपडामा आउटर पाइने उनी बताउँछन् । उनी भन्छन्, ‘श्रग आउटर गर्मी मौसममा धेरै बिक्री हुन्छ । आउटर किन्न हरेक उमेर समूहका महिला आउँछन् ।’ सामान्यतः श्रगका आउटरको मूल्य पाँच सय रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन्।

सुनीता घिमिरे गर्मी मौसममा सिल्कको आउटर लगाउन मन पराउँछिन् । घाम र हावाबाट बच्न आउटर लगाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘आउटर लगाउँदा घामबाट शरीरलाई बचाउने भएकाले लगाउँछु ।’ हरेक लुगामा आउटर सुहाउने भएकाले यसको प्रयोग गर्ने उनको भनाइ छ । यो आउटर पातलो कपडामा विभिन्न फेसन र डिजाइनमा पाइन्छ । आउटर सादा र फुलबुट्टे प्रिन्टमा पनि पाइने गरेको व्यापारी बताउँछन् ।

प्रकाशित: १२ चैत्र २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App